रामेछापमा भत्ता खानेको सङ्ख्या घट्यो

 बुधबार, कार्तिक २२, २०८० | onlinenews

रामेछाप- रामेछाप नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाँदै आएका अपाङ्गताको सङ्ख्या घटेको छ । गत वर्ष सामाजिक सुरक्षा भत्ता खाने अपाङ्गताको सङ्ख्या ३ सय ७२ जना रहेकामा यस वर्ष सो सङ्ख्या घटेर १ सय ८६ जनामा झरेको छ ।
सपाङ्ग व्यक्तिलाई पनि परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता खुवाएको भनी स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि रामेछाप नगरपालिकाले अपाङ्गता भएकाहरुको तथ्याङ्क पुनः अद्यावधिक गरेको हो ।

चिकित्सक सहितको टोलीले अद्यावधिक गर्दा ३ सय ७२ जनाबाट घटेर १ सय ८६ जनाले मात्र सामाजिक सुरक्षा भत्ता खाने परिचयपत्र पाएको रामेछाप नगरपालिकाले जनाएको छ ।
भत्ता पाउने १ सय ८६ मध्ये ६० जनाले ‘क’ वर्गको रातो परिचयपत्र पाएका छन् भने १ सय २६ जनाले ‘ख’ वर्गको निलो परिचयपत्र पाएका छन् । त्यसबाहेक ५५ जनाले ‘ग’ वर्गको पहेलो परिचयपत्र र ३० जनाले ‘घ’ वर्गको सेतो परिचयपत्र पाएका छन् । सामाजिक सुरक्षा भत्ता भने ‘क’ र ‘ख’ वर्गका अपाङ्गता परियचपत्र प्राप्त गर्नेले मात्र पाउने छन् ।

रामेछाप नगरपालिकाको अघिल्लो कार्यकालमा कार्यपालिकाको बैठकबाट कार्यविधि पारित गरी ‘ख’ र ‘ग’ वर्गमा परेका अपाङ्गताहरुको समेत ‘क’ वर्गको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा विभेद गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएपछि नगरले चिकित्सक सहितको टोली गठन गरी पुनः तथ्याङ्क अद्यावधिक गरेको हो ।

नगर कार्यपालिकाको बैठकले अघिल्लो कार्यकालमा थप गरेको कार्यविधि खारेज गरी गत साउन महिनादेखि नै लागू हुनेगरी अपाङ्ग भत्ता वितरणको काम स्थगित गरेर दसैँ लगत्तै शिविर सञ्चालन मार्फत तथ्याङ्क अद्यावधिक गरिएको अपाङ्ग समन्वय समिति संयोजक तथा रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्कीले जानकारी दिइन् ।
रामेछाप नगरपालिकामा गत आर्थिक वर्षमा २ सय ४० जना ‘क’ वर्ग, १ सय ३२ जना ‘ख’ वर्ग, ३१ जना ‘ग’ वर्ग र २० जना ‘घ’ वर्गको अपाङ्गता तथ्याङ्कमा समेटिएका थिए ।

प्रतिकृया

Add