वनले अनुमति नदिँदा किसानले रुख बेच्न पाएनन्

 बिहिबार, कार्तिक २३, २०८० | onlinenews

रामेछाप- डिभिजन वन कार्यालय रामेछापले रुख कटानका लागि अनुमति नदिँदा रामेछापका किसाले रुख काट्न पाएका छैनन् । रुख काटान अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गरेर कागजात पेस गर्दा पनि डिभीजन बन कार्यालय रामेछापले अनुमति नदिँदा किसानहरु आफ्नै बारीको रुख काट्न तथा काठ बिक्री गर्नबाट बञ्चित भएका छन् ।

जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७, ८, ९, खाँडादेवी गाउँपालिका नम्बर १, ४ र मन्थली नगरपालिकाको वडा नम्बर १ सानीमदौका किसानहरुले आनन्द कत्था उद्योग प्रा.लि.सँग आफ्नो पाखा, बारीमा रहेका खयर जातका रुखहरु बिक्री गर्ने सम्झौता गरेका थिए ।

वन नियमानुसार खयर जातको रुख तथा काठ बिक्री गर्न स्थानीय तहको सिफारिसमा वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । किसानहरुले रुख कटान गरिने क्षेत्रको जग्गाधनी पूर्जा, सम्बन्धित जग्गाको कर तिरेको रसिद र स्थानीय तहको सिफारिस पत्रसहितको आवश्यक कागजात रुख कटान अनुमतिका लागि डिभिजन वन कार्यालयमा पेस गरेका छन् । नीतिगत प्रक्रिया सबै पूरा गरेपनि वन कार्यालयले रुख कटानको अनुमति नदिँदा आफ्नै स्वामित्वमा रहेको जग्गाको खयरका रुख तथा काठ बिक्री गर्न नपाएपछि किसानहरु चिन्तित बनेका छन् ।

रामेछाप नगरपालिका–९ ल्याङ्ल्याङ्का सम्मरबहादुर माझीले आफ्नो पूर्जामा भएको खयर जातको रुख कटानको लागि सबै प्रक्रिया पूरा गरेर पटक–पटक वन डिभिजन कार्यालयमा पुग्दा पनि ‘डिएफओ’ले अनुमति नदिएको बताए । “हामी कृषकहरुले आफ्नो पूर्जामा भएको नम्बरी जग्गाको खयर बेच्छु भनि कानूनी प्रक्रिया सबै पूरा गर्दापनि वन डिभिजन कार्यालय रामेछापका ‘डिएफओ’ साहेबले हामीले बुझाएको फाइलमा तोक लगाउन मान्नु भएन, झुलाको झुलाई गर्नुभयो” उनले भने ।

रुख कटान अनुमतिको लागि वडा कार्यालयको सिफारिस र अन्य आवश्यक सबै कागजातसहितको फाइल चार पटक पेस गर्दा पनि डिभिजन वन अधिकारीले रुख काट्न अनुमति नदिँदा आफूहरुले रुख बिक्री गर्न नपाएको माझीले गुनासो गरे । केही आम्दानी हुन्छ कि भनेर आफ्नै जग्गामा आफैँले हुर्काएका रुखहरु बिक्री गर्न खोज्दा पनि वन कार्यालयले अनुमति नदिँदा समस्या भएको खाँडादेवी गाउँपालिका–१ राकाथुमका दिलबहादुर श्रेष्ठले बताए ।

“आफ्नो जग्गामा आफैँले स्याहारसुसार गरेर हुर्काएको रुख, हाम्रो जग्गामा भएको चिज हामीले बेचबिखन गर्न पाउँ भनेर आवश्यक कागजातसहित पठाएको कहाँ गएर रोकियो” उनले भने ।
यस्तै आनन्द कत्था उद्योग प्रा.लि.सुनसरीका प्रतिनिधि रामचन्द्र पोख्रेलले वन कार्यालयले अनुमति दिएमा कृषकहरुको करिब २ करोड बराबरको खयर जातको काठ बिक्री हुने बताए । पोख्रेलका अनुसार अहिले कृषकहरुले रुख कटान तथा बिक्रीका लागि पेस गरेको फाइल स्वीकृत भए करिब २ करोड आम्दानी गर्ने छन् भने सरकारलाई करिब ४० लाख रुपैयाँ राजश्व प्राप्त हुनेछ ।

“हामीले बुझाएको सबै फाइल स्वीकृत भएर काम भएमा जिल्लाका किसानहरुले २ करोड रुपैयाँ आम्दानी गर्छन्, राज्यलाई पनि ४० लाख रुपैयाँ राजश्व प्राप्त हुन्छ” पोखरेलले भने । सिन्धुली, ओखलढुङ्गा लगायतका जिल्लामा अहिले आफूले काम गरिरहेको बताउँदै रामेछापमा चाहिँ ‘डिएफओ’ले अनुमति दिन आलटाल गर्दा समस्या भएको उनको भनाइ छ । “सबै प्रक्रिया पूरा गरेर पटक–पटक फाइल लिएर गयौँ तर ‘डिएफओ’ले अनुमति दिएनन्, आलटाल गरेर झुलाउने काम मात्रै गरियो” पोख्रेलले भने ।

यता डिभिजन वन कार्यालय रामेछापका कार्यालय प्रमुख ओमसागर भण्डारीले भने सबै प्रक्रिया पूरा गरेर कटान अनुमतिको लागि फाइल आएको भएपनि आफूहरुले अनुमति दिन नसकेको बताए । अहिले कार्यालयमा करिब एक सयको सङ्ख्यामा फाइलहरु आएका छन् तर स्वीकृत गर्न सकिएको छैन उनले भने । रुख कटान अनुमतिका लागि आएका फाइलहरु प्रक्रिया पूरा गरेर आएको पनि उनले स्वीकार गरेका छन् । तर किसानलाई रुख कटानको अनुमति दिदा, पछि विभिन्न आरोप लाग्ने, झुठा मुद्दा झेल्नुपर्ने भएपछि आफूले स्वीकृत गर्न नसकेको वन अधिकृत भण्डारीको भनाइ छ ।
“प्रक्रियागत रुपमै सय भन्दा बढी फाइल आएका छन्, स्वीकृत गर्न सक्ने अवस्था छैन, स्वीकृत गरिहाल्यो भनेपनि बेनामी झुठा मुद्दा हाल्छन्, दुःख दिन्छन्, अख्तियार धाउनु पर्ने स्थिति बन्छ, त्यसकारण रुख कटानको लागि अनुमति दिन नसकेको हो” कार्यालय प्रमुख भण्डारीले भने ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले ऐन, नियम र प्रक्रियासम्मत आएका फाइललाई उजुरी पर्छ कि भनेर वन कार्यालयले रोक्न नमिल्ने बताइन् । “ऐन, कानुनले प्रोभिजन गरेको छ, कानुले तोकेका प्रक्रिया पूरा गरेको छ भने, पछि उजुरी पर्छ कि भनेर कुनै कुरा रोक्न पाइँदैन” प्रजिअ निरौलाले भनिन् ।

प्रतिकृया

Add