गायत्री प्रादुर्भाव दिवस : विश्वामित्र गुफामा सामूहिक हवन

 शनिबार, मंसिर ९, २०८० | onlinenews

 

रामेछाप– गायत्री मन्त्र उत्पत्ति भएको स्थल रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुमको फेदीमा रहेको ऐतिहासिक गुफा विश्वामित्र गुफामा सामूहिक हवन गरिएको छ । गायत्री प्रादुर्भाव दिवसको अवसर पारेर पतञ्जली योग समिति नेपाल रामेछापको आयोजना तथा खाँडादेवी गाउँपालिकाको सहयोगमा विश्वामित्र ऋषीले तपस्या गरेको तपोभूमि गायत्री मन्त्र उत्पति स्थल विश्वामित्र गुफामा सामूहिक हवन गरिएको हो । तपस्वी गुरुहरुका अनुसार सत्य युगमा विश्वामित्र ऋिषीले १० हजार वर्ष तपस्या गरी गायत्री भगवतीको उत्पति गराएका थिए । ब्राह्मण मन्त्रमा सबैभन्दा शक्तिशाली मानिने गायत्री मन्त्र उत्पति भएको पवित्र भूमि विश्वामित्र गुफामा पतञ्जली योग समिति नेपाल रामेछापको अगुवाइमा गायत्री प्रादुर्भाव दिवसको अवसरमा पहिलो पटक सामूहिक हवन तथा आराधना गरिएको हो ।

सतीदेवीको देब्रे कुहिनो पतन भएर विश्वामित्रेश्वर महादेव पनि सोही स्थानमा उत्पत्ति भएको स्वस्थानीमा उल्लेख रहेको तपस्वी विष्णुप्रसाद नरालले बताए । विश्वामित्र ऋषीले तपस्या गरेर गायत्री उत्पति भएको र स्वयम् विश्वामित्र नै यहीँ भएकोले यहाँजति पवित्र तिर्थस्थल सांसारमै कहीँ नभएको पण्डित कृष्ण खनालले बताए । गायत्री सबैले जपेपनि गायत्री मन्त्रय यो ठाउँमा उत्पति भएको कुरा धेरैलाई थापा नभएको पण्डित खनालको भनाइ छ । शास्त्रमा उल्लेख भएको र शास्त्रका तीन आधार र अध्ययनले गायत्री मन्त्र यही स्थानमा उत्पत्ति भएको कुरा ठोकुवा गर्न सकिने उनले बताए । विश्वामित्र गुफामा गरिएको संयुक्त हवनपछि सञ्चालन गरिएको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित खनालले यस्तो ठोकुवा गरेका हुन् । शास्त्रको आधार स्थानीय बुढापाकाहरुले बताउँदै आएको आधार र यहाँको भौतिक संरचनाका आधारमा गायत्री मन्त्र यही उत्पति भएको कुरालाई आपूmहरुले एकिन गरेको उनको भनाइ छ । प्रचार प्रसारको अभावमा पवित्र तिर्थस्थल ओझेमा परेको भन्दै विश्वामित्र गुफाको सन्देश संसारभर पुर्याउन आवश्यक रहेको बताए ।


पतञ्जली सेवा आश्रमकी प्रमुख सादवी देव कृपाले सङ्कोचित भावना भएका र प्रकाण्ड विद्धानहरुले गायत्री मन्त्रलाई फैलाउन नदिएकाले गायत्री मन्त्र उत्पति भएको तिर्थस्थल ओझेलमा परेको बताइन् । यस पवित्र भूमिलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न सबै लाग्नुपर्ने बताइन् ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले ऐतिहासिक विश्वामित्र गुफा विकासका लागि गाउँपालिकाले अगुवाइ गर्ने बताए । गायत्री मन्त्र उत्पति यहाँ भएको भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको भन्दै आगामी दिनमा विश्वामित्र गुफा क्षेत्रलाई ध्यान गर्ने भूमि तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न गाउँपालिका लागि पर्ने उनले बताए । गुफा क्षेत्रमा आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा ध्यान गर्ने स्थल निर्माण गर्न गाउँपालिकाले बजेटको व्यवस्था गर्ने पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । गायत्री प्रादुर्भाव दिवसलाई आगामी निरन्तरता दिने पनि अध्यक्ष श्रेष्ठले बताए ।

तीर्थको लागि भारत लगायतका विभिन्न देशहरुमा जाने प्रचलन बढिरहेको बेला गायत्री मन्त्र उत्पत्ति भएको भूमि रामेछाप जिल्लामै रहेको थापा पाएपछि त्यसबारे गाउँपालिकालाई पनि ध्यानाकर्षण गराउन र प्रचारप्रसार गर्ने उद्देश्यले संयुक्त हवन कार्यक्रम आयोजना गरिएको पतञ्जली योग समिति नेपाल रामेछापका अध्यक्ष जेएन दाहालले बताए । यस स्थललाई आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य रहेको अध्यक्ष दाहालको भनाइ छ ।


खाँडादेवी गाउँपालिका–१ का अध्यक्ष रामकुमार श्रेष्ठले विश्वामित्र गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वडा लागिपरेको बताए । अहिलेसम्म गुफा वरिपरि जेजती संरचनाहरु निर्माण भएका छन् यी सबै वडा कार्यालयको अगुवाइ र पहलमा भएको हो वडाध्यक्ष श्रेष्ठले भने । आजको कार्यक्रम गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहितको सहभागितामा सम्पन्न हुँदा मलाई खसी लागेको छ । गायत्री मन्त्र उत्पन्न भएको पवित्र भूमि विश्वामित्र गुफालाई आगामी दिनमा धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैको सहयोग मिल्ने पनि मैले आशा गरेको छु, वडाध्यक्ष श्रेष्ठले भने ।

विश्वामित्र ऋषीले यही स्थानमा पाँच मुखे गायत्री उत्पति गराएकाले यो ठाउँको महत्व अन्य कुनै ठाउँसँग पनि तुलना हुन नसक्ने विश्वामित्र गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नकाजी श्रेष्ठले बताए । जति नेपालीहरुले गायत्री मन्त्र जप्नु हुन्छ उहाँहरुलाई म आग्रह गर्न चाहन्छु गायत्री मन्त्र उत्पति भएको यो पवित्र तपोभूमिमा एकपटक अवश्य आउनु होला । प्रचारप्रसारको अभावमा विश्वामित्र गुफा गायत्री मन्त्र उत्पति स्थल ओझेलमा परेको भन्दै आगामी दिनमा धार्मिक पर्यटनको रुपमा विकास गर्ने लक्ष्य रहेको पनि उनले बताए । मङ्सिर ८ गते शुक्रवारका दिन पर्न गएको गायत्री प्रादर्भाव दिवसको अवसरमा औपचारिक कार्यक्रम अघि सामूहिक हवन गर्नुका साथै १ सय ८ पटक गायत्री मन्त्रोचारण गरिएको थियो ।

प्रतिकृया

Add