मोवाइललाई काममा लगाएर पैसा कमाउँदै सबिता

 शनिबार, पुस ७, २०८० | onlinenews
Share this

 

रुपन्देही- दश बर्ष युएईमा काम गरेर फ्रान्स छिरेकी सविताको श्रीमानलाई जन्मभूमि नै नौलो लाग्न थालेको छ । नलागोस् पनि कसरी ? ३४ बर्षे जवानीमा नै खाडी गएका उनी अहिले ४४ बर्षको भइसकेका छन् । छोराछोरीको भविष्य सुन्दर बनाउने र श्रीमतीलाई सुखैले पाल्ने सपना बोकेर खाडीमा १० बर्ष बिताएपनि उनको सपना अझै पूरा भएका छैनन् । त्यही अधुरा सपना पूरा गर्ने आशामा फ्रान्स गएको केही महिना मात्र बितेको छ ।

रुपन्देहि जिल्ला तिलोत्तमा नगरपालिका–७ मायादेवीको टोलमा बस्ने सबिता अर्याल पङ्गेनी भर्खर ३७ की भइन् । घरमा १ छोरा १ छोरीसहित ४ जनाको सुखी परिवार भएपनि पैसाको अभामा सँधै दुःखी भएर बस्नु पर्दा श्रीमान कामका लागि युएई जाने निर्णयमा पुगेका हुन् । २७ बर्षको उमेरदेखि नै श्रीमानको साथ नपाएकी भएकी उनलाई कहिलेकही बिहे नै भएको छैन जस्तो लाग्छ ।
एस.एल.सी पास भएर बिहेगरेपछि उनलाई परिवारको बन्धनले बाँध्यो । कलिलै उमेरमा घर व्यवहार चलाउनु पर्ने जिम्मेवारीको भारीले थिच्यो सबितालाई । बिहेवारी पछि छोराछोरी जन्मिए, छोराछोरी जन्माउन भन्दा असल आमा बन्न गाह्रो भएको अनुभव छ, उनीसँग । तर पनि उनले असल आमा बन्नका लागि सङ्घर्ष गरिरहिन् ।

उता श्रीमान विदेश बसेर खुरुखुरु पैसा पठाएपनि घर चल्नु भन्दा बाहेक पैसा जम्मा गर्ने अवस्था बन्न सकेन । घरखर्च, खेतीपाती, चाडपर्व, छोराछोरीको स्कुलको शुल्क अनि औषधोपचारमा नै पठाएको सबै पैसा सिद्धिन्थ्यो । परेका बेला साथमा पैसा नहुँदा उनको मन भारी हुन्थ्यो । उस्तै पर्दा सर–सापटी लिएरै भएपनि खाँचो टार्नुपर्ने बाध्यता थियो सबितालाई ।

मानिस पढेर होइन, परेर पास हुन्छ । पढेर जानेका कुरालाई व्यवहारमा ल्याउन सकेन भने घर बिग्रन्छ । यसका लागि बाटो देखाइदिने र नजानेको कुरा सिकाइदिने कोहि न कोहि हुनुपर्छ भन्ने लाग्छ उनलाई ।
गृहिणी भएर घरधन्दामा दिन बिताउने सबिता आजभोली साहुनी भएकी छन् । साहुनी बन्नको लागि तिलोत्तमा नगरपालिकाले चलाएको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले सहयोग गरेको अनुभव छ सबितासँग । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा उनकै गाउँमा सहनशील वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा गठन भयो । कक्षामा गाउँका दिदिबहिनी जान थालेपछि उनलाई जाउँजाउँ लाग्यो । कक्षामा गएपछि त आफूले पैसामाथि गरेको व्यवहार न्यायपूर्ण लागेन उनले भनिन् ।


कक्षामा छलफल भएका बिषयहरुले उनको मन भत्कियो । किनकी उनले गरेको वित्तीय व्यवहारहरु सम्पन्न बनाउने खालका थिएनन् । यहि तरिकाबाट खर्च गर्दै जाने हो भने उनको परिवार खुसी र सुखी बन्न नसक्ने निष्कर्शमा पुगिन् । अनि कक्षामा छलफल भएझै कमाउने जुक्ति निकालिन् उनले ।

सबिताले कक्षामा थाहा पाएका कुरा व्यवहारमा उतार्दै गइन् । व्यवहारमा उतार्नैका लागि मनैदेखि लागिपरिन् । तत्काल कमाउने बाटो समाउन पनि लगानीको आवश्यकता थियो । कुनै पेसा गर्न आफूसँग पैसा भएन । थोरै पैसा लगानी गरेर आयआर्जन गर्ने धेरै योजनाहरु मध्ये अनलाइन व्यापार उनको रोजाइमा पर्यो । “आजभोली मानिसहरुको मोबाइलभित्रै दुनिँया अटाएको छ, अनलाइन बसेर बिदेशका मान्छेसँग दिल खोलेर गफ गर्न पाइन्छ, घरमै बसी बसी खानेकुरा मगाउन पाइन्छ, यूट्यूव र टिकटक जस्ता सञ्जालको प्रयोग गरेर आम्दानी लिन सकिन्छ, भन्ने लागेर मैले पनि यहि पेसा रोजेकी हुँ ।” उनले भनिन् । कक्षामा यसका राम्रा र सावधानी अपनाउनु पर्ने बिषयहरुको बारेमा राम्रोसँग बुझेपछि आफूपनि सजग बनेकी छु भिन्न उनी ।

वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा सहभागी भएर उनले धेरै कुराको बारेमा जानकारी राखेकी छन् । कक्षामा बसेर बिदेशको दुःख बुझ्न सक्ने भँए, ठुला सपना पूरा गर्न जाँदा भएकै परिवार अन्धकार भएको थाहा पाएँ । घरमा बस्नेले परदेशीलाई साथ दिनुपर्ने कुरा थाहा पाएँ उनी भन्छिन् । उनलाई आजभोली बिदेश जाँदा पूरा गर्नुपर्ने बैधानिक प्रकृयाको बारेमा राम्रो जानकारी छ । उनले थाहा पाएका कुरा अरुलाई समेत बताउँछिन् । उनलाई आजकल बैदेशिक रोजगारीको प्रकृयामा रहेकोे मान्छे र पुष÷माघमा कोशीमा पाइने असला माछा उस्तै लाग्छ । पानीमा बिछ्याएको लहरेपासो छलेर कुन दिन जीवन बल्छिमा अड्किन्छ थाहै नहुने ! उनी रोक्किइन् ।

यसरी धेरैठाउँबाट जोगिएर बिदेश पुग्नु र काम गर्नु आफैमा गाह्रो रहेछ । भविष्य नसोची बिदेशबाट आएको पैसामा मात्र भर पर्न नहुने थाहा पाएपछि व्यवसाय गर्ने सोचमा पुगेकी हुँ । उनले थपिन् ।
आजभोली उनले मोवाइललाई काममा लगाएकी छन् । त्यो पनि कमाउनका लागि । मोवाइलबाट अनलाइन बसेर उनी कपडाको व्यापार गर्छिन् । उनी बजारमा आएका नयाँ खाले र ग्राहकले धेरै रुची देखाएका लुगा अनलाइनमा बिक्रीका लागि राख्छिन् । यसो गर्दा घरभाडा पनि तिर्नुनपर्ने र थोरै नाफा लिएर पनि बस्तुको बिक्री गर्न सकिने र एकैपटक धेरै पैसा लगानी गरेर धेरै कपडा समेत किन्नु नपरेको उनको अनुभव छ । यसरी अनलाइन व्यापारबाट सविताले मासिक २० देखि ३० हजारसम्म नाफा कमाउँदै आएकी छन् ।

तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सहनशील वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा हामी २८ जना सहभागी थियौँ । कक्षामा २१ हप्ता सहभागी भइसकेपछि नगरपालिकाले अचार बनाउने तालिम दियो । तलिममा २१ जना सहभागी भयौँ उनले भनिन् । अचार बनाउने सीप पाएपछि उनी अचार बनाउन सिपालु भइन् । अहिले आफैले फुर्सदमा बनाएको अचारको बिक्रीले कमाउन सघाएको उनी बताउँछिन् ।

कक्षामा गएर उनले अरुका अघि बोल्न हिम्मत समेत जुटेको छ । सुरुमा कक्षामा जाँदा आफ्नो परिचय दिँदा समेत शरीर काँप्ने उनी अहिले माइक समातेर बोल्न सक्ने भएकी छन् । उनी बोल्न सक्ने भएकोमा सन्तुष्ट छन् नै, त्यो भन्दा बढि व्यापार गरेर आफैले पैसा कमाउन पाएकोमा झन् दङ्ग छिन् । यसरी एक्लै घरमा बसेर दिनभरी सामाजिक सञ्जाल प्रयोग गर्ने दिदिबहिनीहरुका लागि उनी उदाहरण बनेकी छन् । आफ्नै हातमा आफैले बोकेको मोवाइललाई पनि काममा लगाउन सके त्यसैले आफ्नो परिवार पाल्छ उनी भन्छिन् । यसरी आफूले गरेको कामबाट सन्तुष्टि मिलेको बताउने सविता श्रीमानलाई समेत फ्रान्सबाट घरमा बोलाउने सोचमा छिन् ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर बिक्रम बस्नेत ।

Share this

प्रतिकृया

Add