चुनावको प्रभावले गढीमा तराईका आगन्तुक घटे

 आइतवार, बैशाख ३, २०७४ | onlinenews

रामेछाप– स्थानीय तहको निर्वाचन नजिकिरहेको बेला नयाँ वर्षमा सिन्धुली गढी घुम्न आउनेको संख्या पनि आधा नै घटेको सिन्धुली गढी संरक्षण समितिले जनाएको छ ।
अघिल्लो वर्ष २६ ग्रुप पिक्निक सहित आएका मध्य १४ ग्रुप तराइको रहेकामा यस वर्ष जम्मा १३ ग्रुपमात्र रहेको समितिले बताएको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष पहाडी क्षेत्रबाट उत्तिकै संख्यामा आए पनि तराइबाट आउँनेको संख्या भने ह्वात्तै घटेको हो ।
मधेसी आगन्तुकका अनुसार तराइमा निर्वाचन विरोधी गतिविधि भइरहेकाले तराइबाट आउँनेको संख्या घटेको हो । तर, व्यक्तिगत घुम्न आउनेको संख्या भने पोहोरको तुलनामा यस वर्ष बढेको छ । समितिको अनुसार अंगे्रजी नयाँ वर्ष जनवरी फस्टमा २२ ग्रुप आएकामा १८ गु्रप तराई क्षेत्रबाट मात्र आएका थिए ।
तत्कालिन राजा पृश्वी नारायण शाहाको पालामा अंग्रेजहरुसँग लडाई हुँदा गोर्खालीले विजय प्राप्त गरेको यस ऐतिहासिक गढी अवलोकनको लागि सधैजसो दैनिक दुई तीन ग्रुप आइरहने समितिको भनाई छ ।
गढीडाँडा अवलोकनको लागि समय लिएर घुम्न आउँने बाहेक दैनिक ६० वटासम्म गाडी आउँने गरेको समितिका संरक्षक पेशराज आचार्यले बताए ।
ठूला गढी किल्ला, आड भञ्ज्याङ किल्ला, साना गढी किल्ला, सैनिक मञ्च, गढी दरबार, शिद्धदेवी मन्दिर लगायत आगन्तुकले अवलोकन गर्ने स्थलहरु हुन् ।
आगन्तुकको सुविधाको लागि गढी संरक्षण समितिले कार्यालय नै स्थापना गरी १ जना कर्मचारी समेत राखेको छ । पैदल यात्रीको लागि खुट्किला निर्माण गरिसकेको छ भने बजारदेखि गढी डाँडासम्म पक्की सडक निर्माणको प्रारम्भीक काम सुरु भएको छ ।
समितिले ३ ठाउँमा पिक्निक स्पोर्ट, ३ वटै ट्वाइलेट निर्माण गरेको छ भने खानेपानी समेत व्यवस्थापन गरेको जनाएको छ । तर, घुम्न आउने आगन्तुकहरुले भने खानेपानी प्रयाप्त नभएको, फोहोरमैला व्यवस्थित नभएको, ट्वाइलेटको समस्या र गढीको बारेमा जानकारिमूलक सूचना नभएको गुनासो गर्ने गरेका छन् ।

प्रतिकृया

Add