रामेछाप नगरस्तरीय रनिङ सिल्ड सुरु

 बिहिबार, पुस १२, २०८० | onlinenews

रामेछाप- रामेछाप नगरपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८०’ सुरु भएको छ । प्रतियोगिता रामेछाप टुँडिखेलमा बिहिवारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले खेलकुदको विकासबिना राष्ट्रको विकास सम्भव नहुने बताए । सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने पनि उनले बताए । खेलकुद विकासको गतिसँङ शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्व दिनुपर्ने सांसद श्रेष्ठको भनाइ छ ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका अर्का सांसद आनन्दकुमार श्रेष्ठले खेल मानव जीवनको महत्वपूर्ण अङ्ग भएकोले खेल क्षेत्रको थप विकासमा लाग्नु पर्ने बताए । सबै स्थानीय सरकारको लगानी र इच्छा शक्तिले मात्र खेलकुदको विकासमा आशातित सुधार हुन नसक्ने खेलाडी र सरोकारवाला सबै लाग्नु पर्ने बताए ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बजेटमा भएको पाबन्दीका कारण नगरपालिकाले चाहँदाचाहँदै पनि खेलकुद र नगरको सर्वाङ्गीण विकासमा सोचे जति काम गर्न नसकेको बताए । उनले भने खेल क्षेत्रको विकासको लागि प्रदेश सरकारका माननीयहरूमार्फत थप सहयोगका लागि आग्रह गर्दछु ।

आफ्नो कार्यकालमा सके जति राम्रो काम गर्ने पनि नगरप्रमुख न्यौपानेले बताए । कार्यक्रमा रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरे र नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले खेल क्षेत्रको विकासका लागि खेलकुद गतिविधिलाई वडा स्तससम्म पु¥याउनु पर्ने बताए ।

कार्यक्रमको सुरुमा मार्चपासमा सहभागी भएका ११ विद्यालयमध्ये गौरीशङ्कर माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । शारदा संस्कृत माध्यमिक विद्यालय बाबियाखर्कका विद्यार्थीहरुले कार्यक्रमको सुरुमा स्वस्ति बाचन गरेका थिए । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत विभिन्न ७ विधामा खेल खेलाइने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add