रामेछाप महोत्सवको तयारी ४० प्रतिशत पूरा

 बिहिबार, पुस १२, २०८० | onlinenews

 

रामेछाप- यही पौष २६ गतेदेखि सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव २०८०’ को तयारी ४० प्रतिशत पूरा भएको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
पौष २६ गतेदेखि माघ ७ गतेसम्म ११ दिन सदरमुकाम मन्थलीमा सञ्चालन हुने ‘वृहत् रामेछाप महोत्सव’ले जिल्लामा उत्पादन हुने स्थानीय कृषि उत्पादनहरूको प्रवर्धन गर्नुका साथै सुस्ताउँदै गएको बजारलाई चलायमान गराउने आयोजकको भनाइ छ ।

महोत्सवको आयोजक संस्था रामेछाप उद्योग वाणिज्य सङ्घले बिहिवार पत्रकार सम्मेलन गरी महोत्सव तयारीको अवस्था बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले ‘वृहत् रामेछाप महोत्सव’को तयारी तीब्र रुपमा भइरहेको बताए । ‘‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत र पर्यटन तथा पूर्वाधार हाम्रो रामेछाप, राम्रो रामेछाप” महोत्सवको नारा तय गरिएको छ ।

महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरी काम भइरहेको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । सो महोत्सवले रामेछापको स्थानीय कृषि उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने सागथै सुस्ताउँदै गएको बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापा मगरले बताए ।

महोत्सवमा जिल्लाका सबै पालिकाहरुको वडा तहमा उत्पादित कृषि उत्पादनहरू, हस्तकलाका सामग्रीहरु सहितका १ सय ५० वटा स्टलहरू रहने अध्यक्ष थापामगरले जानकारी दिए ।
६८ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएकोे महोत्सवमा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको पनि उनले बताए । रामेछापका सबै पालिकाहरुको समेत जिम्मेवारी बहन हुने गरी स्थानीय उत्पादनहरू, हस्तकला, भेसभुसा, कृषि सामाग्रीहरूलाई महोत्सवमा विशेष महत्व दिइने महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एवम् रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले बताए ।

महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण, जगेर्ना र प्रचार प्रसारमा टेवा पु¥याउनका लागि रामेछापमा रहेका विभिन्न जातजातिको भेसभुसा र संस्कृति झल्कने झाँकी प्रदर्शनी हुने उनले बताए । महोत्सवले जिल्लाभर रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको पनि प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको घिमिरेको भनाइ छ ।

 

प्रतिकृया

Add