१० विद्यालयमा स्वास्थ्य शिविर

 मङ्लबार, पुस १७, २०८० | onlinenews

रामेछाप-  रामेछापको सुनापति गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको ५ वटा वडाहरुका १० वटा माध्यमिक विद्यालयहरुमा आँखा, दाँत तथा जनरल सेवा सम्बन्धी ६ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचार तथा परामर्श सहित विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।


सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तीकरण : स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली, रामेछापको आयोजनामा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । कार्कीका अनुसार सुनापति गाउँपालिकाका वडा नं. १ गुन्सीमा १ वटा, वडा नं. २ दिमीपोखरीमा ३ वटा, वडा नं. ३ हिलेदेवीमा १ वटा, वडा नं. ४ बेथानमा ३ वटा, वडा नं. वडा नं. ५ खनियापानीमा ३ वटा गरी १० माध्यमिक विद्यालयहरुमा शिविर सञ्चालन गरिएको हो ।


शिविरमा दन्त विशेषज्ञ, बाल रोग विशेषज्ञ तथा जनरल फिजिसियन तथा आँखाका चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराइ उपचार तथा परामर्श गर्नुका साथै शिविरमा उपचार हुन नसकेका विरामीहरुलाई रेफर समेत गरिएको कार्कीले बताए । शिविरबाट ६ सय ८९ छात्रा र ७ सय ९ छात्र गरी १ हजार ३ सय ९८ जनाले सेवा लिएका थिए । शिविरमा डा. रोजी शाह (मेडिकल अधिकृत तथा जनरल फिजिसियन), डा. आस्था राजभण्डारी (डेण्टल सर्जन), डा. इशु घिमिरे (डेण्टल सर्जन), निश्चल डोटेल (आँखा चिकित्सक), रेखा आले मगर (सिएमए) र विमला माल्बुके (अनमी) सहभागी थिए ।

प्रतिकृया

Add