अनुदानको नीति गलत भयो : मुख्य मन्त्री जम्कट्टेल

 बिहिबार, पुस २६, २०८० | onlinenews

 

रामेछाप– बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले व्यक्ति केन्द्रित व्यवसायलाई अनुदान दिने नीति गलत भएको बताएका छन् ।
‘हिजो हामीले एउटा व्यक्तिले गरेको सानो तिनो व्यवसाय देखाउँदैमा अनुदान दियौँ’, जम्कट्टेलले भने – अनुदान पाएका उद्योग व्यवसायले उत्पादन गरे गरेनन् ? अहिले कुन अवस्थामा छन् ? भन्ने कुरा महत्व राखेनौँ । जसका कारण विगतमा अनुदान पाएका धेरै उद्योग व्यवसायहरु अनुदान पाएपछि व्यवसाय छोडेर हिडेको पाइएको उनले बताए ।

वृहत् रामेछाप महोत्सवको बिहिबार मन्थलीमा उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले विगतको जस्तो अनुदान दिने परम्पराको अन्त्य गरेर बागमती प्रदेश सरकारले पकेट क्षेत्रको कार्यक्रम अघि सारेको बताए । उनले प्रदेशका ८५ वटा पालिकालाई पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी काम अघि बढेको बताए । प्रदेश सरकारले उद्योग ग्राम बनाउन भनेर नीति बनाएको र धेरै अघिदेखि बजेट विनियोजन गरे पनि सफल नभएको अवस्था रहेको भन्दै जम्कट्टेलले अब उद्योग ग्रामको विकासका लागि काम गर्ने दाबी गरे ।

‘अहिले उद्योग व्यवसाय धरायसी वनेका छन्’, जम्कट्टेलले भने – भारतीय खुला सीमाका कारण अवैध सामान आउँछन्, त्यसले नेपालका किसानलाई आफ्नो उत्पादन बजारमा बिकाउन गाह्रो परिरहेको छ । उनले साना किसानले उत्पादन गरेका थोरै वस्तुलाई पनि उद्यमीको रुपमा मानेर उद्योग वाणिज्य सङ्घले बजारीकरणमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रामेछापमा अलपत्र रहेको चिस्यान केन्द्रलाई बाँकी काम पूरा गरेर सञ्चालनमा ल्याउन निर्देशन समेत उनले दिए । रामेछाप सुख्खा क्षेत्र भएकाले सुख्खामा हुने कृषि बालीको पहिचान गरी प्रवर्धन गर्न जम्कट्टेलले सुझाए ।
‘नागरिकलाई जताततैबाट निराशा दिने हैन, उत्साहित र भरोसा दिनुपर्छ’, जम्कट्टेलले भने – तर धेरैले जताततै निराशा दिने काम गरेका छन् । नागरिकको अधिकार माग्ने हक भएकोले अन्यथा लिनु नहुने उनले बताए ।

महोत्सवको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशभित्रका सम्भाव्य उद्योगहरु सञ्चालनका लागि सरकारले कार्ययोजना अघि सारेको बताए । उद्यमीलाई सरकारले दिने अनुदानलगायतका सेवा सुविधामा कमी हुन नदिने र व्यवसायीले उत्पादन गरेका वस्तुलाई बजारीकरणका लागि सरकारको ध्यान केन्द्रित हुने बताए ।
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले व्यवसाय क्षेत्र सङ्कटमा परेकाले यही अवस्थामा मुलुक र उद्योग व्यवसायी क्षेत्रको विकास सम्भव नभएको बताइन् । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा जिल्लामा उत्पादन भएका घरेलु हस्तकला, होजियारी, कृषि उपजहरु, फलपूmलहरु लगायतका स्टलहरु राखिएका छन् । महोत्सवका क्रममा विभिन्न जात जातिको संस्कृति झल्कने झाँकीसहित बजार परिक्रमा गरिएको थियो ।

प्रतिकृया

Add