बनको पैसा हिनामिना भएको भन्दै अख्तियारमा उजुरी

 सोमवार, माघ ८, २०८० | onlinenews

 

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ को रानी भलायोखाँद सामुदायिक बन उपभोक्ता समूहरुको ५ लाख रुपैयाँ रकम हिनामिना भएको भनि अख्तियार दुरुपयोग अनुसान्धन आयोगमा उजुरी परेको छ । सो सामुदायिक बन उपभोक्ता समूहको रकम हिनामिना गरेको भनि उपभोक्ता समूहको निवर्तमान सचिव टुलराम श्रेष्ठको विरुद्धमा हालका समितिले अख्तियारमा उजुरी दिएको हो ।
उपभोक्ता समूहका निवर्तमान सचिव टुलरामले ५ लाख रुपैयाँ हिनामिना गरेको वर्तमान उपभोक्ता समूहका सचिव केडी श्रेष्ठले बताए । निवर्तमान सचिव टुलरामले चरीचरण तथा बोटविरुवा बिक्री वितरणबाट आएको रकमबाट ५ लाख रुपैयाँ हिनामिना गरेको सचिव श्रेष्ठको भनाइ छ ।

मिति २०७० साल असोज ६ गते संस्थाको नाममा रहेको बैँकको चेक नम्बर ६१९१२ बाट ७१ हजार, २०७२ साल वैशाख १८ गते चेक नम्बर ६१९१४ बाट ३ लाख रुपैयाँ, २०७२ असार २२ गते चेक नम्बर ६१९१३ बाट १५ हजार रुपैयाँ, २०७३ जेठ २० गते चेक नम्बर ६१९१५ बाट ६० हजार रुपैयाँ रकम टुलरामको नाममा निकालिएको र २०७३ साल साउन २ गते चेक नम्बर ६१९१६ बाट राजकुमार तामाङको नाममा रकम निकाली टुलरामले हिनामिना गरेको उपभोक्ता समूहका वर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए ।

पटक पटक गरी बैँकबाट निकालिएको रकम के प्रयोजनको लागि खर्च भएको भन्ने कुनै प्रमाण नभएको र तत्कालीन लेखा परीक्षण प्रतिवेदन तथा खर्च वितरण समेत उपभोक्ता समूहबाट स्वीकृत नगरिएको सचिव केडी श्रेष्ठले जानकारी दिए । सामुदायिक बनको रकम हिनामिना भएको भन्दै हालका उपभोक्ता समूहले हिनामिना भएको रकम असुल उपर गरिदिन र रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै अख्यितारमा उजुरी दर्ता गराएका छन् । २०८० सला साउन ३२ गते दर्ता भएको उक्त उजुरीको दर्ता नम्बर ४८२ बिडी–२०८१–७३०३ रहेको छ । उजुरी अख्यिार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडामा दर्ता गरिएको भएपनि रामेछाप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले हेर्ने भएकाले निवेदन हटौँडा मार्फत बर्दिवास पठाइएको थियो ।

बनको रकम हिनामिना गरेको भनिएका समूहका निवर्तमान सचिव टुलराम श्रेष्ठले भने आपूmले कुनै पनि रकम हिनामिना नगरेको दाबी गरेका छन् । राजकुमार तामाङको नाममा निकालिएको ९० हजार रुपैयाँ कहाँ खर्च भएको भन्ने आफूलाई थाहा भएको भन्दै उक्त रकम समूहका अध्यक्ष श्रीकृष्ण श्रेष्ठमार्फत निकालिएको बताए । सामुदायिक बनमा अहिले पनि विपद् विपन्न कार्यक्रम सञ्चालन भइरहेको भन्दै १५ हजार रुपैयाँ विपन्न कार्यक्रम अन्तर्गत खाजामा खर्च भएको टुलरामले बताए । आफ्नो नामबाट निकासा भएका अन्य रकमको पनि खर्च विवरण आफूसँग सुरक्षित रहेको भन्दै आफूले कुनै पनि रकम हिनामिना नगरेको उनले दाबी गरे ।

प्रतिकृया

Add