खाँडादेवीका विद्यालयहरुमा डेबोडर्सको व्यवस्था

 बुधबार, माघ १०, २०८० | onlinenews

रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले पालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा डेबोडर्सको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा डेबोडर्सको व्यवस्था गरेको हो ।

डेबोडर्स कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बिहानको खाना र दिउँसोको खाजा विद्यालयमै व्यवस्था गरिएको छ । विद्यालयमै खाना खाजासहितको व्यवस्था गरी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गरिदै आएको छ । खाँडादेवी गाउँपालिकामा रहेका ४७ वटा विद्यालयहरु मध्ये कक्षा ८ सम्म पढाइ हुने २० वटा र माध्यमिक तहका १२ वटा विद्यालय रहेका छन् ।

कक्षा ५ सम्मका लागि दिवा खाजाको व्यवस्था सरकारले पहिलेदेखि नै गर्दै आएको थियो । अहिले गाउँपालिका अन्तर्गतका सतप्रतिशत विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई विद्यालयमै खाना र खाजाको व्यवस्था गरिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।


गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पढाइ हुने गरेको छ । कक्षा ३ सम्मका बालकालिकालाई बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म र अन्य सबै कक्षाका विद्यार्थीका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गरिदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

१० बजेदेखि ४ बजेसम्म पढाई सञ्चालन गर्दा बालबालिकाको पढाई गुणस्तरीय नभएको उनको भनाइ छ । शिक्षकको कमजोरीभन्दा पनि बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण नभएकाले डेबोडर्सको कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठकाअनुसार बालबालिकालाई खाना, खाजाको व्यवस्था साथै आवश्यक विषयगत शिक्षकको समेत व्यवस्था गरिएको छ ।
कक्षा १ देखि ३ सम्मलाई एक समूह तथा कक्षा ४ र ५ लाई छुट्टै समूह र कक्षा १ मुनिका बालबालिकालाई एउटा समूहमा राखेर जर्मन सरकार र गाउँपालिकाको ५० प्रतिशत आर्थिक साँझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए ।

गाउँपालिकाले दिवा खाजाको लागि स्रोत व्यवस्थापन गरेको बताउँदै आवसीय विद्यालय व्यवस्थापनको लागि सङ्घीय सरकारबाट ८० लाख र बागमती प्रदेश सरकारबाट ९९ लाख रुपैयाँ बजेट प्राप्त भएको पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस बाहेक गाउँपालिकाले चालु आर्थिक वर्षका लागि डेढ करोडभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको बताए ।

गाउँपालिकाले पालिका अन्तर्गका विद्यालयमा पालिका र वडाबाट गरी करिब ३ करोड रुपैयाँ प्रत्येक्ष लगानी गरेको उनको भनाइ छ । पालिकाको प्रत्येक विद्यालयमा ५ देखि ६ लाख रुपैयाँ बजेट दिइएको छ, उनले भने । खाँडादेवी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि यो वर्ष समग्रमा करिब ५ करोड रुपैयाँ बजेट लगानी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया

Add