शिक्षकको लागि समेत सहयोगी बन्दै स्मार्ट बोर्ड

 बिहिबार, माघ ११, २०८० | onlinenews

 

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुमा स्मार्ट बोर्डको व्यवस्था गरेको छ । कालोपाटी वा सेतोपाटीको सट्टामा प्रयोग गरिएको स्मार्ट बोर्डमा इन्टरनेट समेत जडान गरिएकाले स्मार्ड बोर्ड बहुउपयोगी भएको विद्यालयहरुको भनाइ छ । स्मार्ट बोर्ड स्किनटच भएकाले सेतोपाटीमा चकले लेखेजस्तै स्क्रिनटच पेन्सीलले लेख्न सकिने साथै इन्टरनेटको समेत व्यवस्था भएकाले शिक्षण सिकाइको लागि आवश्यक सामग्रीहरु गुगल र युट्युबबाट समेत खोज्न सकिने खाँडादेवी–७ को सेतीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज तामाङले बताए । स्मार्ट बोर्डमा भिडियो पनि हेर्न मिल्ने भएकाले स्मार्ट बोर्डको प्रयोगसँगै विद्यार्थीहरु पनि बढेको उनको भनाइ छ ।

शिक्षक सामग्रीहरु स्मार्ट बोर्डबाटै खोज्न सकिने भएकाले शिक्षकहरुको लागि आवश्यक शिक्षण सामग्रीहरु समेत स्मार्ट बोर्डबाट सहज उपलब्ध भएको भन्दै स्मोर्ट बोर्ड विद्यार्थीहरुको लागि मात्र नभएर शिक्षकहरुको लागि समेत सहयोगी बनेको प्रधानाध्यापक तामाङको भनाइ छ । स्मार्ट बोर्डको सहायताले भिडियोमा पढाउँदा विद्यार्थीहरुको शिक्षण सिकाइ स्तरमा समेत वृद्धि भएको उनको भनाइ छ । स्मार्ट बोर्डको साथै डेबोडर्सको व्यवस्था भएपछि विद्यार्थी सबेरै विद्यायल आउने र बेलुका पनि अबेलासम्म विद्यालयमा बस्न चाहने भएको प्रधानाध्यापक तामाङले बताए ।

उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ हुँदै आएको छ । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म स्कुलमा पढाइने भए पनि विद्यार्थीहरु विहान ६ बजे नै विद्यालय आइपुग्ने गरेको प्रधानाध्यापक तामाङले बताए । उनले भने स्मार्ट बोर्ड र डेबोडर्स कार्यक्रम लागू हुनु पहिले अभिभावकहरुलाई छोरोछोरी स्कुल पठाइदिनुस् भन्नलाई घरघरमै जानुपर्ने अवस्था थियो तर यो कार्यक्रम लागू भएपछि विद्यार्थीहरु बिहान हामीभन्दा पहिला नै स्कुल आइपुग्छन् ।

खाँडादेवी गाउँपालिका–७ भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालयमा भने स्मार्ट बोर्ड हालैमात्र जडान गरिएको छ । स्मार्ट बोर्डको प्रयोगले पठानपानमा सहज हुने अपेक्षा गरिएको सो विद्यालयका प्रधानाध्यापक सुशीला श्रेष्ठले बताइन् । गाउँपालिकाको डेबोडर्स कार्यक्रमले बालबालिकाहरुलाई स्कुल आउन आकर्षित गरेको पनि उनले बताइन् ।

त्यसैगरी डेबोडर्स कार्यक्रमले शैक्षिक गुणस्तरमा क्रमिक सुधार आउँदै गएको श्री कृष्ण माध्यमिक विद्यालय टिमुका प्रधानाध्यापक कुलबहादुर कार्कीले बताए । श्री कृष्ण माध्यमिक विद्यालयमा कक्षा ५ देखि १० सम्म डेबोडर्स कार्यक्रम सञ्चालन भएको र कक्षा ८ र १० लाई विद्यालयमै राति बासको समेत व्यवस्था रहेको प्रधानाध्यापक कार्कीले जानकारी दिए ।

डेबाडर्स कार्यक्रम लागू भएपछि विद्यार्थीहरु नियमित विद्यालय आउनुका साथै सिकाई उपलब्धीमा पनि वृद्धि भएको कार्कीले बताए । चालु शैक्षिक सत्रको तेस्रो त्रैमासिक परीक्षासम्म आउँदा विद्यार्थीको रिजल्टमा गुणात्मक सुधार हुँदै आएको प्रधानाध्यापक कार्कीको भनाइ छ । चालु आर्थिक वर्षलाई “शैक्षिक वर्ष” घोषणा गरेको खाँडादेवी गाउँपालिकाले पालिका अन्तर्गतका शैक्षिक संस्थाहरुको नियमित अनुगमन समेत गर्दै आएको छ ।

प्रतिकृया

Add