रामेछाप अस्पतालमा आधूनिक उपकरण सहितको सेवा विस्तार

 आइतवार, माघ १४, २०८० | onlinenews
Share this

 

रामेछाप– जिल्ला अस्पताल रामेछापमा आइसियू सहितको विशेषज्ञ सेवा विस्तार गरिएको छ । जिल्ला अस्पताल रामेछापले मुख्यमन्त्री जनता कार्यक्रम, सामाजिक सुरक्षा इकाइ लगायतका कार्यक्रममार्फत प्रसूति तथा प्रसूतिजन्य शल्यक्रिया नवजात शिशु उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी हरेक महिनाको अन्तिम बुधवारका दिन विशेषज्ञहरु मार्फत मानसिक रोग, नाक, कान र घाँटी सम्बन्धी जाँच तथा उपचार गरिदै आएको पनि डाक्टर श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री जनता कार्यक्रम अन्तर्गत बागमती प्रदेशका ३० वर्षभन्दा माथि उमेरका नागरिकलाई निःशुल्क होलबडी जाँचको समेत सुविधा रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना, खाजा तथा बेडसमेत निःशुल्क रहेको डा. श्रेष्ठले बताए । भेन्टिलेटरबाहेक आइसियू बेड चार्ज ५ सय रुपैयाँ रहेको र भेन्टिलेटरसहित २ हजार ५ सय रुपैयाँ चार्ज लिएर सेवा प्रदान गरिने डा. श्रेष्ठको भनाइ छ । अस्पतालमा आधुनिक ल्याब मेसिनसहितको सेवा रहेको जानकारी दिँदै थाइराइड, भिटामिन, कल्चरलगायतका विषेश जाँचहरु पनि जिल्ला अस्पताल रामेछापमै रहेको उनले बताए ।

मुख तथा दाँत, आँखा उपचार, एक्स रे, भिडियो एक्स रे, इसिजीलगायतका सेवा पनि जिल्ला अस्पताल रामेछापमा रहेको छ । त्यसैगरी सुरक्षित गर्भपतन, क्षय तथा कुष्ठ रोगको उपचार तथा मेडिको लिगल सेवा पनि जिल्ला अस्पताल रामेछापमा रहेको छ । शववाहन तथा एम्बुलेन्स सेवा पनि रहेको छ ।

सामाजिक सुरक्षा स्वास्थ्य बिमा कार्यक्रम, ब्लड बैंक, हेमोडायलाइसिस् सेवा पनि जिल्ला अस्पताल रामेछापले प्रदान गर्दै आएको छ । त्यसैगरी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दाँत फेर्नेसम्मको निःशुल्क सेवा रहेको छ भने विपन्न नागरिक उपचार कोषद्वारा निःशुल्क हेमोडायलासिस् सेवा प्रदान गरिदै आएको डा.श्रेष्ठले जानकारी दिए । डाक्टर श्रेष्ठका अनुसार सामाजिक सुरक्षा सेवा इकाई मार्फत गरिब तथा विपन्न नागरिकलाई औषधी उपचारमा ५ हजारसम्म र बेड भर्ना भएको अवस्थामा १० हजार रुपैयाँ बराबरको सेवा निःशुल्क प्रदान गरिदै आएको छ ।
जिल्ला अस्पताल रामेछापमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीको स सङ्ख्या समेत बढेको छ । आर्थिक वर्षक २०७९/८० मा २० हजार ४ सय १४ जनाले उपचार सेवा लिएको जिल्ला अस्पताल रामेछापमा चालु आर्थिक वर्षको मङ्सिर सम्ममा १० हजार ६ सय ३५ सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

जिल्ला अस्पतालसम्म जानको लागि यातायातको सहज पहुँच नहुँदा अस्पताल आउने बिरामीको सङ्ख्या कम भएको जिल्ला अस्पताल रामेछाप व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताए । रामेछाप र मन्थली नगरपालिका मिलेर मन्थली–रामेछाप नगर बस सञ्चालन गर्न सकेमा जिल्ला अस्पताल रामेछापबाट अझै धेरै नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अध्यक्ष पाख्रिनको भनाइ छ ।

Share this

प्रतिकृया

Add