लिँडे गोरू टाइपको शिक्षकलाई अब छोड्नु हुँदैन : प्रधान

 सोमवार, माघ १५, २०८० | onlinenews

 

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–२ का वडाध्यक्ष केशवकुमार प्रधानले विद्यालयमा नपढाउने लिँडे गोरू टाइपको शिक्षकलाई अब छोड्न नहुने बताए । उनले शिक्षकहरूलाई राजनीतिक पार्टीहरूको झोला बोकाइएको कारण “शिक्षकहरूको मैले स्कुलमा पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ” भन्ने मानसिकलाई परिवर्तन गर्न कठिनाइ भइरहेको बताए ।
वडाध्यक्ष प्रधानले भने “विद्यार्थीलाई किताब पढपढ भनेको भरमा मात्र शिक्षामा सुधार आउनेवाला छैन, कि राम्रोसँग पढाउनुस्, पढाउन सक्नुहुन्न भने तुरुन्त राजीनामा दिनुस् ।” विभिन्न सङ्घ सङ्गठनको शिक्षक भनेर लाग्नुभयो भने तपाईँहरूले दुःख पाउने बाहेक केही पनि हुँदैन, उनले भने ।

‘उज्ज्वल भविष्य बोकेका कलिला बालकालिकाहरू अभिभावकले तपाईँहरूलाई सुम्पिएका छन्, त्यसकारण तपाईँहरूले आफ्नो दायित्व पूरा गर्नु भएने भने अब खाँडादेवी गाउँपालिका हेरेर बस्न सक्दैन । नपढाउने शिक्षकमाथि कारबाही हुन्छ, प्रधानको भनाइ थियो । प्रजातान्त्रिक व्यवस्थाले शिक्षा नीतिलाई व्यवस्थित गर्न सकेन, शिक्षकहरूलाई राजनीतिक दलको झोला बोकाइयो र नेता मानियो, शिक्षकलाई पनि म पो त नेता भन्ने भान भयो, अब त्यसरी चल्दैन, उनले भने ।

खाँडादेवी गाउँपालिकाले सबैभन्दा बढी खर्च शिक्षा क्षेत्रमा गरेको भन्दै खाँडादेवी गाउँपालिकाले शिक्षामा विनियोजन गरेको बजेट विद्यार्थीलाई बाँड्ने हो भने पनि प्रत्येक विद्यार्थीको भागमा ५ हजार ५ सय रुपैयाँ पर्ने वडाध्यक्ष प्रधानको भनाइ छ । उनले भने “५ हजार ५ सय रुपैयाँ भयो भने काठमाडौँको बुढानिलकण्ठमा बोडर्स गर्न सकिन्छ, प्रत्येक नागरिकले शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले शिक्षामा पालिकाले यति धेरै लगानी गरेको छ । तपाईँ शिक्षकहरूले यो कुरा बुझ्नु पर्छ ।”

उनले भने, ‘शिक्षा सुधारको लागि कार्यपालिकामा विशेष छलफल भइरहेको छ, शिक्षकहरूले साथ दिनुभएन भने पालिकाले जति पैसा खन्याए पनि बालुवामा पानी हालेको जस्तो हुन्छ । त्यसकारण म शिक्षकहरूलाई अनुरोध गर्न चाहन्छु, यो पैसाको सदुपयोग होस् ।’
उनले थपे, ‘सिमान्तकृत थामी समुदायका बालकालिकाहरूको लागि खाना, खाजा र डेबोडर्सको लागि पठाएको पैसा दुरुपयोग नहोस् । शिक्षक तपाईँहरू सक्षम हुनुहोस् र सरकारले पठाएको पैसा शैक्षिक गुणस्तमा सदुपयोग गर्नुहोस् ।’

शिक्षकले नै समयमा काम नगर्ने र इमान्दार नबन्ने हो भने अरुले के गर्छन् । तपाईँहरूको १०–४ को समय राज्यले किनेको छ । त्यसकारण तपाईँले आफ्नो दायित्व पूरा गर्नुभएन भने कारबाही हुन्छ । अब खाँडादेवी गाउँपालिकाले कारबाही गर्छ, उनले भने । खाँडादेवी गाउँपालिकाले थामी समुदायको बालबालिकाको लागि मात्र करिब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
वडाध्यक्ष प्रधानले भने– शिक्षकले पैसा हिनामना गरेमा महापाप लाग्छ । एउटा उपभोक्ता समितिले ५ लाख लिएर ३ लाखको काम गरेर दुई लाख खाएजस्तो होइन यो, तपाईँहरूले पढाउनु भएन भने भ्रष्टाचार गरेको भन्दा महापाप लाग्छ, प्रधानले भने । हामी निर्वाचित जनप्रतिनिधि हौँ, जनताको मन जित्ने गरी काम गरेर शैक्षिक गुणस्तरमा सुधार गर्नु छ, तपाईँ शिक्षकहरू रिसाए पनि केही फरक पर्दैन, उनले भने ।

प्रतिकृया

Add