निषेधज्ञा हटाउन नेविसङ्घको माग

 सोमवार, माघ १५, २०८० | onlinenews

 

रामेछाप- जिल्ला प्रशासन कार्यालय रामेछापले आइतवारबाट लागू हुने गरी जारी गरेको २ महिने निषेधज्ञा हटाउन माग गर्दैै नेपाल विद्यार्थी सङ्घ रामेछापले ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला सुरक्षा समिति रामेछापको आइतवार बसेको बैठकले सदरमुकाम मन्थली बजारको राष्ट्रिय बाणिज्य बैँकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैंक जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा अनसन, धर्ना र ५ जनाभन्दा बढी व्यक्तिहरू भेला भई घेराउ, विरोध प्रदर्शन जस्ता आन्दोलन वा विरोधका कार्यक्रमहरू गर्न निषेधको आदेश जारी गरेको थियो । उक्त निषेधज्ञा २४ घण्टाभित्र फिर्ता लिन माग गर्दै नेविसङ्घले सोमवार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाई ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको निषेधज्ञाको आदेश प्रति नेपाल विद्यार्थी सङ्घको गम्भिर ध्यानाकर्षण भएको नेविसङ्घद्धारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ । शान्तिपूर्ण अवस्थामा निर्वाध ढङ्गले रामेछाप जिल्ला चलिरहेको अवस्थामा जिल्ला प्रशासनले आफ्नो अधिकारको अनावश्यक प्रयोग गरी आफू निम्छरो प्रशासन भएको पुष्टि गरेको नेविसङ्घको भनाइ छ । यस निर्णयले सिङ्गो प्रशासनको हुर्मत लिने काम गरेकोले नेपाल विद्यार्थी सङ्घ रामेछाप घोर भत्र्सना गर्दछ, ज्ञापन पत्रमा भनिएको छ ।

शान्ति, सुशासन, अमन चयन कायम राख्नका लागि आवश्यक सबै पहलकदमी नेविसङ्घले लिन्छ, प्रशासनको अनावश्यक चलखेल हस्तक्षेप पनि सहन्न, नागरिकको स्वतन्त्रता र निर्वाध रुपमा हिड्न डुल्न भेला हुन र कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि कुण्ठित गर्नु भनेको लोकतन्त्रको उपहास हो, ज्ञापन पत्रमा भनिएको छ ।

रामेछाप जिल्लामा त्यस्तो कुनै हुल हुज्जात र अशान्ति फैलने कार्य नभएको र भइहाले पनि नियन्त्रण गर्न नसकिने अवस्था सिर्जना भएमा मात्र निषेधज्ञा जारी गर्नु पर्ने अधिकारको दुरुपयोग गरी निषेधज्ञा जारी गरेकोले उक्त निषेधज्ञा २४ घण्टाभित्र फिर्ता लिन माग गर्दछौँ, ज्ञापन पत्रमा भनिएको छ । निषेधज्ञा फिर्ता नलिए नेपाल विद्यार्थी सङ्घले निषेधज्ञा तोड्दै थप आन्दोलनको कार्यक्रम गर्ने पनि नेपाल विद्यार्थी सङ्घ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले बताए ।

प्रतिकृया

Add