पर्यावरण संरक्षणका लागि कलम चलाउनु आवश्यक छ : श्रेष्ठ

 मङ्लबार, माघ २३, २०८० | onlinenews

रामेछाप- बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले पर्यावरण संरक्षणका लागि कलम चलाउनु आवश्यक रहेको बताए । विकासको नाममा जथाभावी खनिने सडक, बनजङ्गल विनास र नदी दोहनजस्ता कार्यले पर्यावरण सङ्कटमा पर्दै गएको भन्दै सांसद श्रेष्ठले त्यसका लागि कलम चाउनु आवश्यक रहेको बताए ।
तामाकोसी नदी सुकेर नहर भइसक्यो, बनजङ्गल मासिने क्रम बढ्दो छ, हामीले क्षणिक पाइदाका लागि मात्र नभई हाम्रा भाविष्यका सन्ततीहरूलाई समेत ध्यानमा राखेर पर्यावरण संरक्षणमा अहिलेदेखि नै लाग्नु आवश्यक छ, सांसद श्रेष्ठले भने । सरकारी निकायले उन्नत जातको बिउको नामा एक सिजनका लागि मात्र उत्पादन दिने बिउ वितरण गर्दा रैथाने जातका बालीहरू लोप हुँदै गएको सांसद श्रेष्ठले बताए । मलमा पनि रसायनिक मललाई प्राथमिकता दिँदा माटो बिग्रिदै गएको उनको भनाइ छ ।
सांसद श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन र गणतन्त्रलाई संस्थागत गर्न वाम पक्षधर पत्रकारहरूको एकता र सहकार्य अपरिहार्य रहेको भन्दै वाम पक्षधर पत्रकारहरूलाई एक ठाउँमा उभिन पनि सांसद श्रेष्ठले सुझाव दिए ।
पत्रकारिता क्षेत्रलाई अलग राख्दा समाज परिवर्तनका लागि भएका आन्दोलन नै अधुरो रहने उनको भनाइ छ । सामाजिक संस्थालाई दलीयकरण गरिँदा विकृति आएको भन्दै श्रेष्ठले भने, सामाजिक सङ्घसंस्थारुलाई राजनीतीकरण गरिनु पर्छ तर दलीयकरण गर्नु हुँदैन । अहिलेको मुख्य चुनौती भनेकै सामाजिक सङ्घसंस्थाहरूलाई दलीयकरण गरिनु हो ।
पत्रकारिता क्षेत्रलाई दलीयकरण गरिँदा सत्य र तथ्यको आधारमा सूचना प्रकाशन, प्रसारण गर्ने भन्दा पनि राजनीतिक पक्षधरका आधारमा विपक्षको ससाना कमजोरीहरूलाई खोजेर मिथक बनाउने काम भइरहेको सांसद श्रेष्ठको भनाइ छ । एउटा पक्षले दलीयकरणलाई अङ्गालिरहने तर अर्को पक्षले छोड्दा एकाङ्की हुने भन्दै अन्य दलहरू सङ्घसंस्थालाई दलीयकरण गर्ने कार्यभन्दा माथि उठेमा नेकपा एमाले दलीयकरण भन्दा माथि उठ्न तयार रहेको पनि सांसद् श्रेष्ठले बताए ।

प्रतिकृया

Add