२४ वर्षीय विकासले घरमै पाए नागरिकता

 शुक्रबार, फाल्गुन ४, २०८० | onlinenews

 निरजकुमार श्रेष्ठ


रामेछाप- रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका अपाङ्गता भएका २४ वर्षीय विकास श्रेष्ठले घरमै नेपाली नागरिकताको प्रमाण पत्र पाएका छन् । शुक्रवार मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित जिल्ला प्रशासन कार्यालय रामेछापको टोली विकासको घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीको सुविधाको लागि वडा अध्यक्षको सहजीकरणमा आवश्यक कागजात पूरा गरिसकेपछि घरमै पुगेर नागरिकता दिने अभियानअन्तर्गत विकासलाई पनि घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाले बताइन् । आफू रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आएपछि सुरुदेखि नै यो अभियान सञ्चालन गरेको र आफ्नो कार्यकालमा घरमै नागरिकता पाउने विकास श्रेष्ठ तेस्रो व्यक्ति भएको बताइन् ।

जिल्लाको ८ वटै पालिकाहरुमा पुगेर नागरिकता लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवा सुविधाको बारेमा रहेको असुविधालाई सहजता बनाउने र अस्पष्टतालाई स्पष्ट बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको पनि प्रजिअ निरौलाले जानकारी दिइन् ।
रामेछाप जिल्लाका सम्पूर्ण पालिकाहरु तथा ६४ वटै वडाहरुमा अशक्त अपाङ्गता भएका व्यक्तिहरु रहेको जानकारी भएमा घरमै गएर नागरिकता प्रदान गरिने जानकारी दिंदै त्यस्ता व्यक्तिहरु भए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि प्रजिअ निरौलाले आग्रह गरिन् ।
मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले अपाङ्गता भएका आफ्नो वडाका नागरिकलाई घरमै आएर नागरिकता दिएकोमा प्रमुख जिल्ला अधिकारी अनिता निरौला तथा जिल्ला प्रशासन कार्यालयको टोलीलाई धन्यवाद ज्ञापन गरे ।

तस्विर: निरजकुमार श्रेष्ठ

वडाध्यक्ष श्रेष्ठले भने– ‘हामीले जतिसुकै नागरिकमैत्री सुशासनको कुरा गरेपनि व्यवहारमा लागू गरेका थिएनौँ, आज चिसापानीमा यो कार्यान्वयन भयो, त्यसकारण म प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिन चाहन्छु ।’
पूर्ण अपाङ्गता भएका विकासले ‘क’ वर्षको अपाङ्गता परिचयपत्र पाएपनि उनको नागरिकता भने बनाइएको थिएन । यसअघि नागरिकता बनाउन आवश्यक नठानिएको र अहिले आएर नागरिकता बनाउनु पर्छ भन्ने बोध भएपछि नागरिकता बनाइएको विकासका बुबा तिर्थकुमार श्रेष्ठले बताए ।

प्रतिकृया

Add