व्यक्तिगत लगानीमा गणेश पाञ्चायन मन्दिर निर्माण

 आइतवार, फाल्गुन ६, २०८० | onlinenews

 

रामेछाप- मन्थली नगरपालिका–१ का जगन्नाथ श्रेष्ठको अगुवाइमा व्यक्तिगत लगानीमा सिद्धिगणेश पाञ्चायन मन्दिर निर्माण गरिएको छ । स्थानीय जगन्नाथ श्रेष्ठले व्यक्तिगत ४ लाख ५० हजार रुपैयाँ लगानीमा गणेश, सूर्य, देवी, शिव र विष्णुसहितको मूर्ति स्थापना गरी पाञ्चायन मन्दिर निर्माण गरेका हुन् ।

पछिल्लो समय समाज विकृतितर्फ गएकाले वैदिक धर्मलाई फलोअप गर्नका लागि आफूले व्यक्तिगत लगानीमै पाञ्चायन मन्दिर निर्माण गरेको श्रेष्ठले बताए । पाञ्चायन भनेको एउटा तिर्थस्थल भएको भन्दै उक्त मन्दिरमा विवाह, व्रतबन्ध, नेवार जातिको गुफालगायतका कार्य गर्न समेत सहज होस भन्ने उद्देश्यले रहेको उनको भनाइ छ । नेवार जातिको गुफा निकाल्न र सूर्य दर्शन गर्न गणेश भगवान नभइ नहुने भएकाले उक्त मन्दिरलाई आगामी दिनमा होमादी गर्ने स्थलदेखि भिमसेन वाटिकाको रुपमा विकास गर्ने लक्ष्य रहेको पनि श्रेष्ठले बताए ।

उनले भने– मैले गणेश भगवानको व्रत लिएको २४ वर्ष भयो । प्रत्येक मङ्गलवार गणेश भगवानको पूजा गर्ने र व्रत बस्ने गर्दै आएको छु । त्यही व्रतको परिपूर्णताको लागि पनि मैले मन्दिर बनाएको हुँ । उक्त मन्दिर पितृको समर्पणमा निर्माण गरिएको बताउँदै उनले भने मेरो आमा औसी पछिको चतुर्थी तिथि र बुबा शुक्लपक्षको चतुर्थी तिथिमा वित्नु भएको थियो । परलोक हुनुभएका बुबा आमा दुवै सपनामा आएर हामी जिवित छौँ छोरा, तिमीहरूले म¥यो भन्ठानेका हौला तर हामी जिवितै छौँ भन्नुभयो । त्यसपछि मैले पिठाधीस, मठाधीस, सन्त, महन्तहरूलाई सल्लाह गर्दा गणेश पाञ्चायन मन्दिर निर्माण गर्नुहोस्, त्यहाँ सबै समाजले पूजा गरुन् जसबाट पितृ र तपाईँको पनि भलाइ हुन्छ भन्ने सुझाव पाएपछि मैले व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेको हुँ । यस मन्दिर निर्माणमा मेरो माइला दाइ रत्नदाश श्रेष्ठले पनि केही लगानी गर्नुभएको छ, हामी दुई भाइ मिलेर यो मन्दिर निर्माण गरेका हौँ, उनले भने ।


जगन्नाथ श्रेष्ठको स्वर्गीय बुबा बद्रिदाश श्रेष्ठ, स्वर्गीय आमा शुभलक्ष्मी श्रेष्ठ, स्वर्गीय दाजु नारायणदाश श्रेष्ठ र स्वर्गीय भाउजु तुलमाया श्रेष्ठको स्मृतिमा निर्माण गरिएको पाञ्चायन मन्दिरको भित्तामा राखिएको ताम्रपत्रमा मन्दिर बनाउन सहयोग गर्नेहरूको रुपमा नाति तथा नातिनी बुहारीहरू समेतको नाम लेखिएको छ । मन्दिर निर्माणको लागि मन्थली नगर विकास समितिले १ रोपनी जग्गा उपलब्ध गराएको छ । नगर विकास समितिले जग्गा उपलब्ध गराए पनि मन्दिर भने व्यक्तिगत लगानीमा निर्माण गरिएको हो ।

व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरिएको भए पनि मन्दिर सार्वजनिक सम्पत्ती भएकाले सँधैभरि खुल्ला रहने भन्दै समाजकै भलाइको लागि निर्माण गरिएको उनले बताए । मन्थलीस्थित रामेछाप विमानस्थल भएर सोलुको लुक्ला जाने विदेशी पर्यटकहरूलाई समेत उक्त मन्दिरसम्म ल्याउने वातावरण बनाइने श्रेष्ठको भनाइ छ । त्यसका लागि छुट्टै समिति गठन गरिएको जानकारी दिँदै उनले भने, उडान रोकिएर पर्यटकहरू मन्थलीमै वस्नु परेको अवस्थामा तीर्थस्थल भ्रमण, पूजाआजा र रमाइलो गर्ने स्थलको रुपमा समेत यस मन्दिरलाई विकास गर्ने योजना रहेको छ ।

रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहेको उनका नाति कुमार श्रेष्ठले हजुरबुबाले गणेश पाञ्चायन मन्दिर निर्माण गरेर समाजको भलाइको लागि महत्वपूर्ण योगदान पु¥याएको बताए । हजुरबुबाले थालनी गरेको कामलाई थप व्यवस्थित र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आपूmहरू लागिपर्ने पनि उनले बताए ।

त्यस्तै स्थानीय शिवराज श्रेष्ठले बुबाहरूले गरेको कामप्रति आफू खुसी रहेको बताउँदै मन्दिरलाई थप व्यवस्थित गर्न आफूले पनि लागिपरेको बताए । आफ्नो आगुवाइमा मन्थली नगरपालिकाबाट २ लाख रुपैयाँ बजेट पारेर मन्दिरसम्म जाने सिँढी र मन्दिरको वरिपरि रेलिङ निर्माण गरिएको बताए । सिँढी तथा रेलिङ निर्माण गर्न ३ लाख रुपैयाँ भन्दा बढी खर्च भएको भन्दै अपुग बजेट आपूmहरूबाटै जुटाएर पनि काम फत्ते गर्ने र आगामी दिनमा मन्दिर क्षेत्रलाई वाटिकाको रुपमा विकास गर्न लागिपर्ने उनको भनाइ छ ।

प्रतिकृया

Add