आगलागी पीडितलाई तत्काल प्रतिपरिवार ४५ हजार प्रदान गरिने

 शनिबार, चैत्र ३, २०८० | onlinenews

 

रामेछाप । शनिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी पीडितहरूलाई तत्काल ४५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले रामेछापको रामेछाप नगरपालिका–९ डाँडागाउँका आगलागी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । आगलागी प्रभावित तथा विस्थापित घरपरिवारलाई तत्काल अस्थायी आवास एवम् व्यवस्थापनको लागि एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने पनि निर्णय गरेको छ ।

बैठकले सङ्घीय सरकार, बागमती प्रदेश सरकार र रामेछाप नगरपालिकाबाट प्रचलित कानुन, कार्यविधि, मापदण्ड बमोजिम उपलब्ध गराउने राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । सङ्घीय सरकारबाट २० हजार, बागमती प्रदेश सरकारबाट १० हजार र रामेछाप नगरपालिकाबाट १५ हजार रुपैयाँ गरी आगलागी पीडितलाई तत्काल प्रतिपरिवार ४५ हजार रुपैयाँ नगद रकम प्रदान गर्ने बैठकको निर्णय छ । आगलागीबाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान सम्बन्धी कार्यविधि २०७८, बमोजिम अर्को बस्ने घर नभएका र आगलागीबाट घर पूर्णक्षति भएका परिवारको आवास पुनर्निर्माणका लागि रामेछाप नगरपालिकाले यथाशीघ्र प्रक्रिया सुरु गर्ने पनि बैठकले निर्णय गरेको छ ।

विपद्जन्य घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्दै विपद्का घटनाको पूर्व तयारी, उद्दार एवम् राहत र पुनर्लाभ कार्यको लागि सबै निकायबाट आवश्यक तयारी लगायत आ–आफ्नो क्षेत्रबाट क्रियाशील भई समन्वयात्मक रूपमा प्रभावकारी कार्य गर्ने निर्णय गरेको छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय भई सरोकारवाला निकायहरूको सहभागितामा डिभिजन वन कार्यालय, रामेछाप मार्फत तयार बन डढेलो रोकथाम र नियन्त्रण कार्य योजना, २०८०÷०८१ कार्य योजना कार्यान्वयन गर्ने र सामुदायिक वनहरूमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गर्ने व्यक्ति, समूहको पहिचान भएमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।

आगलागीका घटनाहरू दिनानुदिन बढ्न सक्ने हुँदा सम्पूर्ण सुरक्षा निकायलाई एक आपसमा समन्वय गरी तयारी अवस्थामा रहने र आवश्यकता अनुसार पहिचान गर्ने, भविष्यमा हुनसक्ने आगोलागिका घटनाप्रति सचेत हुँदै सुरक्षित रहन र जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी स्थानीय सञ्चार माध्यमहरूबाट सूचनाहरू प्रचारप्रसार गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा मन्थली नगरपालिकाको तर्फबाट आगलागी पीडित परिवारलाई तत्काल प्रतिपरिवार दुई÷दुई बन्डल जस्ता सहयोग गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । रामेछाप नगरपालिकाले पीडित घर परिवारलाई तत्काल प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापाले आगलागीबाट पीडित घर परिवारलाई १ वटाका दरले ५ सय लिटरको हिलटेक सहयोग गर्ने बताएका छन् ।

प्रतिकृया

Add