आगलागी पीडितलाई दक्षिण कोरियाबाट सहयोग

 शनिबार, चैत्र ३, २०८० | onlinenews

 

 रामेछाप– दक्षिण कोरियामा रहेका रामेछाप नगरपालिकाका सुगम तामाङले रामेछाप नगरपालिका–९ डाँडागाउँका आगलागी पीडितहरूका लागि ५२ हजार रुपैयाँ आर्थिक सहयोग पठाएका छन् । यही चैत्र १ गते भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भई घरवारविहीन भएका पीडितहरूका लागि दक्षिण कोरियामा रहेका तामाङले आफ्नो परिवार मार्फत आर्थिक सहयोग पठाएका हुन् । तामाङले दक्षिण कोरियाबाट पठाएको रकम उनका बुबा प्रेमबहदुर तामाङले १३ परिवार आगलागी पीडितहरूलाई दामासायी ४ हजारका दरले वितरण गरेका छन् । प्रेमबहादुर तामाङ घटनास्थलमै पुगेर छोराले दक्षिण कोरियाबाट पठाएको रकम वितरण गरेका हुन् । छोरा भिमबहादुर तामाङ र बुहारीसहित घटना स्थलमा पुगेका प्रेमबहादुरले पीडितहरूलाई राहत स्वरुप नगद वितरण गरेका थिए ।
त्यसैगरी जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेडले पनि पीडितहरूलाई लत्ताकपडा उपलब्ध गराएको छ । सोही वडाको भिमसेनथानमा कार्यालय रहेको उक्त संस्थाले १३ घर अग्नि पीडितहरूलाई ओढ्ने, ओछ्याउने लत्ताकपडा प्रदान गरेको हो ।

संस्थाको कार्य क्षेत्र समेत रहेको ठाउँमा आगलागीले ठुलो क्षति गरेकाले थोरै भएपनि पीडितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराएको संस्थाका प्रबन्धक जीवन राइले बताए । उनका अनुसार पीडितहरूलाई सिरक, डस्ना, तन्ना र सिरानी वितरण गरिएको छ ।
संस्थामा सदस्य समेत रहेका ३ जना अग्नि पीडितलाई नगद एक/एक हजार सहित खाना पकाउने प्रेसर कुकरलगायतका सामग्री वितरण गरिएको छ । यसैबिच रामेछाप नगरपालिका–८ मा रहेको माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि अग्नि पीडितलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ ।बिहिवार दिउँसो राताटारको हर्देनी सामुदायिक बनमा लागेको डढेलो वस्तीमा पस्दा १३ वटा घर जेलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट दुई करोड भन्दा बढी क्षति भएको रामेछाप नगरपालिकाले जनाएको छ । आगलागीबाट १३ घरपरिवारका ८५ जनाभन्दा बढी विस्थापित भएका छन् । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक र पशु चौपायामा ठूलो क्षति भएको छ ।

प्रतिकृया

Add