मिलेर साथी चार, सुरु गरे जुत्ता चप्पल व्यापार

 आइतवार, चैत्र ४, २०८० | onlinenews
Share this

 

वुटवल- सामान्य गृहिणीको रुपमा घर चलाइरहेका ४ जना महिलाहरु यतिबेला जुत्ता व्यापारमा व्यस्त छन् । उभिएर कसैसँग दोहोरो कुराकानी गर्ने फुर्सद छैन उनीहरुलाई । आशाको थोपाथोपा जम्मा भएर व्यवसायिक सफलताको पोखरी भरिँदै छ उनीहरुको । वुटवल उपमहानगरपालिका–३ का ओसिड थापा गुरुङ, सुनिता गुरुङ, सविता थापा क्षेत्री र खोपकुमारी गुरुङको पहिला मन मात्र मिल्यो । मिलेको मनले व्यवसाय गर्ने सपना देख्यो । त्यही मिलेको मनले सपना पूरा गर्दैछ अहिले ।

भर्खरै मात्र जुत्ता चप्पल व्यवसायमा लागेका उनीहरु ४ जनाकै श्रीमान् खाडी मुलुकमा काम गरेको अनुभवी छन् । ओसिडका श्रीमान युएई गएकोे ४ बर्ष भयो । त्यस्तै सुनिताका श्रीमान् कतारमा, सविताका श्रीमान् साउदीमा र खोपकुमारीका श्रीमान ४ वर्ष यूएईमा काम गरेर हाल भारतमा काम गर्दै आएका छन् । उनीहरुको काम र कमाई चित्त बुझ्दो छ । श्रीमानले कमाएको पैसाले मात्र भविष्यका सपना सबै पूरा हुने नदेखेपछि उनीहरुले सामूहिक लगानीमा जुत्ता चप्पल व्यापार गर्ने निधो गरे । “भगवानले पनि तँ आँट म पुर्याउँछु” भन्छन् भने झैँ उनीहरुको भेटघाट र चिनाजान पुरानै भएपनि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले व्यवसाय गर्नेसम्मको सहकार्य जुट्को बताउछिन् ओसिड गुरुङ ।

२०७९ सालको कार्तिक महिनामा वुटवल उपमहानगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा उनीहरु सहभागी भए । कार्यक्रममा सहभागी भएर उनीहरुले सामी कार्यक्रम र कार्यक्रम मार्फत चल्ने वित्तीय साक्षरता तथा मनोपरामर्शको बारेमा थाहा पाए । गाउँमै चलेको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा खोपकुमारी गुरुङ र सविता थापा क्षेत्री कक्षामा आउने भए । साप्ताहिक रुपमा नगरपालिकाले वडा नं ३ को लक्ष्मीनगर टोलमा डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा सफल वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श कक्षा सञ्चालनमा ल्यायो । त्यही कक्षामा दुबैजना सहभागी भए ।

मङ्सिर महिनादेखि साप्ताहिक रुपमा चलेको कक्षामा सहभागी भएर उनीहरुले परिवार व्यवस्थापन, परिवार निर्माणका विधि, वित्तीय लक्ष्य, पारिवारिक बजेट, विप्रेषणको सदुपयोग, व्यवसायिक योजना, सूचना प्रविधि र उद्यमशिलता लगायतका विषयमा जानकारी लिए । कक्षामा छलफल गरिने बिषयहरुको बारेमा उनीहरुलाई जानकारी भएपनि त्यसलाई व्यवस्थापन गर्ने तरिका नौलो लाग्यो । कक्षामा बसेपछि उनीहरुले विप्रेषणको परनिर्भरता कम गर्न नसकिए विदेश बसिरहेको घरका मुली घरदेश फर्कन नसक्ने कुराको निष्कर्षमा पुगे । श्रीमानलाई घरदेश बोलाउनकै लागि भएपनि कुनै न कुनै पैसा कमाउने जुक्ति सोच्न थाले उनीहरु ।

जुत्ता पसलमा जुटेका ४ जनाकै श्रीमानले महिनावारी रुपमा पठाएको पैसाले घरखर्च चलाउन भन्दा दोस्रो काम टार्न सकेन । तर कक्षाले उनीहरुको होस खुल्यो । विदेशको कमाई स्थायी होइन भन्ने थाहा पाए उनीहरुले । तर खानकै लागि विदेशको भर पर्दा आफूले कल्पना गरेको सुख प्राप्त नहुने देखे । त्यही वित्तीय साक्षरता कक्षाले उनीहरुको सोचमा परिवर्तन ल्यायो । कक्षामा सहभागी भएपछि आफैंले कमाउनु पर्छ भन्ने लाग्यो तर कमाउन हातमा सीप थिएन, त्यसमा भने उनीहरु चिन्तित थिए । कक्षामा नियमित जान थालेपछि गाउँमा कसैले नगरेको व्यवसाय चलाउने निष्कर्षमा पुगे ।

वित्तीय साक्षरता सहजकर्ताले वडा अध्यक्षसँग समन्वय गरे । उनीहरुले कक्षामा राखेको कुरालाई वडाको अध्यक्षले गम्भिर रुपमा लिएर कक्षामा आइपुगेका वडा अध्यक्षले कक्षाका सहभागीहरुलाई जुत्ता बनाउने सीप दिन ७ दिने निःशुल्क तालिम दिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ज्यूको कुराले कक्षाका सहभागीहरुमा उत्साह पलायो । कक्षामा सहभागी भएका ४ जना मध्ये सविता थापा र खोपकुमारी गुरुङ ७ दिने जुत्ता बनाउने तालिममा सहभागी भए । आफूले सिकेका कुरा ओसिड थापा गुरुङ र सुनिता गुरुङलाई सुनाए उनीहरुले ।

सफल वित्तीय साक्षरता कक्षाका २१ सत्र सम्पन्न भएपछि पनि हरेक महिना बैठक हुने गरेको थियो । महिनाको १ पटक बस्ने बैठक ६ महिनासम्म चल्यो । बैठकमा कक्षा सम्पन्न भएपछि कक्षामा सिकेको कुरा घरव्यवहार चलाउँदा प्रयोगमा आयो कि आएन भन्ने बिषयमा छलफल हुन्थ्यो । त्यही बैठकमा छलफल हुँदा खोपकुमारी र सविताले कक्षामा बसेर आफूले जानेका कुरा प्रयोगमा ल्याउने निर्णय गरे ।

कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा अगाडि बजारको अवस्था, काममा दक्षता, जोखिमको विश्लेषण गर्नुपर्छ भन्ने थाहा पाए उनीहरुले । उनीहरुले कक्षामा सिके झैँ व्यवसाय चलाउने योजना बनाए । सानो लगानीबाट व्यवसाय सुरु गरेर त्यही व्यवसायबाट कमाउँदै व्यवसाय बढाउँदै लैजाने कुरा योजनामा समावेश भयो । कक्षामा सहभागी नभएका ओसिड गुरुङ र सुनिता गुरुडलाई आफूले कक्षामा जानेका कुरा बुझाए सविता थापा .र खोपकुमारी गुरुङले । कक्षामा छलफल भएका कुराले कक्षामा सहभागी नभएका ओसिङ गुरुङ र सविता गुरुङको मन फेरियो । चारै जनाको मन मिल्यो । यसरी ४ जना मिलेर २०८० असोज महिनाबाट २ वटा कोठा प्रयोग गरेवापत ८ हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी जुत्ता व्यवसाय सुरु गरे । जुत्ता पसलको लागि ४ जनाले मिलेर ३ लाख लगानी गरेका छन् । गएको असोज महिनाबाट खोलिएको जुत्ता कारखानमा उनीहरुले ७ सय जोर जुत्ता उत्पादन गरेका छन् । उनीहरुको कारखानामा बन्ने एक जोर जुत्ताको मुल्य ३ सय ५० देखि ८ सय रुपैयाँ सम्म पर्छ ।

उनीहरुले गाउँमा चलेको कक्षाको नाम मात्र सफल राखेनन् बरु व्यवसायिक रुपमा सफल बन्ने कुरामा समेत उनीहरु विश्वस्त थिए । व्यवसाय गर्ने उद्यमी सफल बन्नका लागि व्यवसायको प्रबर्धन हुन जरुरी हुन्छ । व्यवसायको आँखाले बजारको पक्षलाई जति ध्यान दिन सक्यो त्यती नै सफल हुन सकिन्छ । त्यसैले वुटवल तथा जिल्लाका अन्य ठाउँमा हुने प्रर्दशनीमा उनीहले उत्पादन गरेको जुत्ता विकाउने रणनीति बनाएका छन् । भविष्यमा यसलाई उद्योगको रुपमा विकास गरी व्यवसाय विस्तार गर्ने सोच राखेका छन् । त्यतीमात्र होइन व्यवसायका लागि ग्राहक भनेका भगवान सरह हुन् । यसकारण ग्राहकबाट आएका सल्लाह सुझाव समेत अनुशरण गर्दै गएका छन् । जसले ग्राहकको रुची, चाहना र क्षमता अनुसार जुत्ता चप्पल उत्पादन गर्न मदत गरेको बताउछन् उनीहरु । यसरी कमाउने कामका लागि नगरपालिकाले उत्प्रेरणा दिएको बताउने उनीहरु निरन्तर यहि पेशामा लागिरहन प्रतिबद्ध छन् ।

बुटुवल उपमहानगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता सरस्वती मरासैनीको सहयोगमा सागर विक्रम बस्नेत ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS
  • सागर बिक्रम बस्नेत

    सरकारले उचित बातावरण दिने र लगानीकर्ताहरु स्वदेशमा नै उद्धमी बन्ने सपना देख्ने हो भने व्यवसायीक सफलता र पारिवारिक समृद्धि भन्ने धेरै टाढा छैन ।