सहिद गङ्गालालको सम्झनामा स्वास्थ्य शिविर

 सोमवार, चैत्र ५, २०८० | onlinenews

 

रामेछाप– सहिद गङ्गालाल श्रेष्ठको सम्झनामा सहिद गङ्गालाल प्रतिष्ठानले रामेछाप जिल्लामा निःशुल्क मुटु जाँच सम्बन्धी शिविर सञ्चालन गरेको छ । सहिद गङ्गालाल श्रेष्ठको १०५ औँ जन्मोत्सवको अवसरमा सहिद गङ्गालालको जन्मस्थान रामेछापमा निःशुल्क मुटु रोग सम्बन्धी शिविर आयोजना गरिएको हो । जिल्ला अस्पताल रामेछापमा आयोजना गरिएको शिविरको उद्घाटन नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गरेका थिए ।

नेता कोइरालाले डाक्टरहरुलाई आफ्नो दक्षता नागरिकको सेवामा प्रयोग गर्न आग्रह गरे । नेता कोइरालाले भने ‘शिविरमा आएका बिरामीलाई आफ्नै आमा÷बुबा, दाजुभाइ भनेर हेर्नुहोस्, अरु मान्छे भन्ने नठान्नुस् । भगवानको मुनितिर कोही छन् भने डाक्टरहरु छन् ।’ आफू डाक्टरी पेसा छोडेर राजनीतिमा आएको प्रसङ्ग जोड्दै नेता कोइरालाले भने– ‘डाक्टरी पेसा आफ्नो दिमाग प्रयोग गरेर उपचार गर्ने हो, आफ्नो हातले गर्ने हो तर राजनीति कहिल्यै पनि आफ्नो कन्ट्रोलमा हुँदैन । राजनीतिमा उथलपुथलमा रमाउन सक्नुपर्छ, म रमाइरहेको छु ।’ सर्वश्रेष्ठ पेसा कुनै छ भने त्यो डाक्टरी पेसा हो कोइरालाले भने– बेडमा बिरामी लम्पसार परेको छ तर पहिला पैसा बुझाउनुस् अनि अपरेसन गर्छु भन्ने डाक्टर मलाई चाहिँदैन । हामीले विवेक प्रयोग गर्नुपर्छ, विवेक प्रयोग नगर्ने मानिस पशुसरह हुन्छ, उनले भने ।

एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको सहिद गङ्गालाल प्रतिष्ठानका उपाध्यक्ष नरेश महर्जनले जानकारी दिए । शिविरका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको जम्बो टोली रामेछाप जिल्ला अस्पताल पुगेका थिए । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही पनि खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरु गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।

प्रतिकृया

Add