बैंक तथा वित्तीय संस्थाहरू सामाजिक उत्तरदायित्वप्रति उदासीन

 मङ्लबार, चैत्र ६, २०८० | onlinenews

 

रामेछाप-  रामेछापमा जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू उदासीन रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो आएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले सोमवार मन्थलीमा आयोजना गरेको बैंक तथा इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लागि जारी गरेको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शक अनुसारको काम भएको सहभागीहरूको गुनासो रहेको थियो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो वार्षिक नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । नाफाको १ प्रतिशत रकम वार्षिक रूपमा छुट्याइ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने र सो कोषमा जम्मा भएको रकम अर्को आर्थिक वर्षमा खर्च गर्ने गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
साथै निर्देशिका अनुसार वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थाहरूले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने छ ।

सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम सामाजिक परियोजनाहरू, वित्तीय साक्षरता, प्रत्यक्ष अनुदान खर्च, दिगो विकासका लक्ष्य, शिक्षा, स्वास्थ्य लागतय सामाजिक कार्यहरूमा खर्च गर्नुपर्ने हुन्छ ।
तर रामेछापमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफ्नो दायित्व पूरा नगरेको उभोक्ता अधिकार मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले बताए । बैंक तथा वित्तीय संस्थाहरूले अरबौँ नाफा कमाएको कुरा समाचार आइरहेको हुन्छ तर संस्थाहरूले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खासै जिम्मेवार नदेखिनु दुःखद कुरा भएको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताए । बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्नुपर्ने कार्कीको सुझाव छ ।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा नीतिगत व्यवस्था अनुसार काम गर्नुपर्ने बताइन् । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा थप जिम्मेवार बनाउन जिल्ला समन्वय समितिले आवश्यक समन्वयको कामलाई अगाडि बढाउने पनि उनले बताइन् । बागमती प्रदेश सभाका सांसद आनन्दकुमार श्रेष्ठले कानुनको अभावले प्रदेश तथा तल्लो तहमा बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न नसकेको बताए । मातिल्लो तहमा बनेका नीतिहरूलाई जिल्ला तहमा रहेका बंैक तथा वित्तीय संस्थाहरूले कार्यान्वयन गर्न अख्तियारी लिनुपर्ने लगायतका समस्याहरू रहेको सांसद श्रेष्ठको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाका बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्को अर्थ समितिकाका सदस्य समेत रहेका तामाङले जिल्ला तहमा संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई सहज बनाउने गरी अर्थ समितिमा छलफल चलाउने बताएका छन् । उनले आ–आफ्नो शाखाबाट केन्द्रीय तहमा समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामेछापको रामेछाप नगरपालिका–९ राताटारमा भएको आगलागीले घरबारविहीन भएका १३ घर पुननिर्माणका लागि भूमिका खेल्न जिल्लास्थित बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत बैंक तथा इन्स्योरेन्सका प्रमुख एवम् प्रतिनिधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कक्षा, वृक्षा रोपन, छात्रवृत्ति वितरण लगायतका काम गरिरहेको बताएका छन् ।अहिले पनि आपूmहरूले सामाजिक उत्तरदायित्व अन्तर्गतका गतविधिहरू सञ्चालन गरिरहेको बताउँदै अन्तरक्रिया कार्यक्रमले थप ध्यानाकर्षण भएको बैंक तथा वित्तीय संस्थाको भनाइ छ । कार्यक्रममा सहकारी बैंक तथा इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरूले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत थप काम गर्ने पनि प्रतिवद्धता जनाएका छन् । यसका लागि जिल्ला समन्वय समिति तथा स्थानीय सरकारले आवश्यकताको पहिचान गरी सहकार्य तथा समन्वय बढाउनु पर्ने बैंक तथा इन्स्योरेन्सका प्रमुख एवम् प्रतिनिधिहरूको भनाइ छ ।

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका अन्य अतिथिहरूमा फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेलगायत रहेका थिए । अन्तरक्रियाका कार्यक्रममा औपचारिक कार्यक्रको सहजीकरण फोनिज रामेछापको उपाध्यक्ष निरोज श्रेष्ठले गरेका थिए भने छलफल कार्यक्रमको सहजीकरण फोनिज रामेछापका निवर्तमा अध्यक्ष नवराज श्रेष्ठले गरेका थिए ।

प्रतिकृया

Add