वित्तीय साक्षरता कक्षाले फेरियो संगीताको जीवन

 सोमवार, चैत्र १२, २०८० | onlinenews

 

जनकपुरधाम- भगवानले बाँच्नका लागि एउटा बाटो बन्द हुँदा अर्को बाटो खोल्दिनुहुन्छ भने झैँ लाग्छ । विदेशमामा काम गर्न जाने सबैको सपना पूरा हुँदैनन् भन्ने संगीतालाई सुखमा मात्तिनु र दुःखमा आत्तिनु हुदैन भन्ने लाग्छ । श्रीमान बिदेश गएपछि आफ्ना रहरसँगै आफूले देखेका सपनाहरु पूरा होलान् भनेजस्तै लागेको थियो । तर श्रीमान बिदेश पुगेको २ बर्ष पनि नवित्दै कम्पनी बन्द भयो र आशाका ऐनाहरु एकसाथ झर्याम्म फुटे भन्छिन् संगीता ।

जनकपुरधाम उप–महनगरपालिका वडा नं २५ लोहना बस्ने हरिवन नगरपालिकाकी संगीतादेवी मुखियाले श्रीमानको बिदेश यात्रा असफल होला भनेर अनुमान समेत लगाएकी थिइनन् । परिवारलाई खुशी र सुखी बनाउने सपना साकार हुन पाएन । छरछिमेकीबाट संगीताको श्रीमान भोगिन्दरले २ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिएर कतार गएका श्रीमानको सूरुसूरुको कमाइ राम्रो भयो । अभावले खर्च टार्न हम्मेहम्मे पर्ने सगीताको घर सहजै चल्यो । श्रीमानले पैसा पठाएपछि । घरको अभाब टरेपछि २ जना सन्तानकी आमा संगीताले छोराछोरीको रहरहरु पनि पूरा गरिदिइन् । उनलाई श्रीमानको कमाइ हातले खेलाउन पाउँदा रातपछिको दिन आएझैँ लागेको थियो ।

श्रीमानले कतारबाट पठाएको पैसाले न ऋण तिरिन् नत बचत नै गरिन् । बरु हात लागेको पैसाले आफू र छोराछोरीको इच्छा र चाहनाहरु पूरा गर्न थालिन् । तर श्रीमानको कमाइ लामो समय नियमित हुन सकेन बरु कमाउन विदेश गएको श्रीमान नै घर फर्कनु प¥यो । जनकपुरधाम उपमहानगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको थियो । उनी बसेकै ठाउँमा नगरपालिकाले वित्तीय साक्षरता कक्षा चलाउने भयो । उनलाई पनि कक्षामा बस्न मन लाग्यो । संगीता बभनगम्मा वित्तीय साक्षरता कक्षामा सहभागी भइन् । वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि संगीता आफै साटिएजस्तै भइन् । आफैं फेरिएपछि अहिले जीवनको बाटो नै बदलिएको जस्तो भएको छ भन्छिन् उनी ।

परिवारको सदस्य बिदेश गएपछि मान्छे फेरिन्छन् । बिदेशबाट खुरुखुरु पैसा आउने भएपछि अभाव टर्छ । गाउँमा अरुभन्दा सम्पन्न भइयो भने फूर्ति पनि बढ्छ । अझ अरुको देखासेखी गर्न सकिएन भने अरुले पनि हेपेकोजस्तो लाग्दा व्यवहार बिग्रिएको रहेछ भन्ने लागेको छ अहिले संगीतालाई । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बस्न थालेपछि संगीताले परिवार व्यवस्थापन गर्ने जुक्ति जानेकी छन् । त्यतिमात्र नभएर सुरक्षित विप्रेषण, वित्तीय लक्ष्य निर्धारण, बचतको महत्व, विपन्नताबाट सम्पन्नतातिर लाग्ने उपायहरु, लघु उद्यम ब्यवसाय र ब्यवसायिक योजनाजस्ता बिषयमा समेत जान्न पाइन् उनले ।

श्रीमान कतारबाट घर फर्किएपछि बाँच्नका लागि अरु आम्दानीको बाटो थिएन । कमाउने बाटो नै नभएपछि घरपरिवार चलाउन गार्हो भयो । संगीताले श्रीमानसँग दुबैजना मिलेर व्यवसाय गरौं भन्ने प्रस्ताव गरिन् । तर श्रीमान भोगिन्दरले आफूसँग सुको पैसा पनि साथमा नभएको बताए । संगीताले श्रीमान बिदेश जाँदा लागेको ऋण् पनि तिरेकी थिइनन् । ऋणमाथि ऋण दिने महाजन थिएनन् । तर संगीताको मन हारेको थिएन । कक्षामा बसेर व्यवसायमा जोखिम हुन्छ भन्ने थाहा पाएकी संगीतालाई व्यवसाय गरेर कमाउने अठोट थियो । संगीताले आफ्नो मनमा उब्जिएको सोच माईतीघरमा गएर आमालाई सुनाइन् । कक्षामा सिकेका कुरा आमालाई पनि भनिन् संगीताले । छोरीको आँट र भत्केको परिवारलाई जोडिदिन आमाले संगीतालाई सहयोग गर्ने बचत समेत दिइन् । आमाले आफूसँग भएको १० हजार रुपैयाँ संगीताको हातमा थमाइन् । फेरि सही बाटोमा ल्याउने सपना देखेर आफू केही सहयोग गर्ने बाचा गरिन् । आफूलाई सङ्कट पर्दा आमाले खाइनखाई छोराहरुलाई समेत थाहा नदिई लुकाएर राखेको पैसा दिँदा संगीताका आँखा आँसूले टिलपिल भए । उनने आमाको असल मनले दिएको पैसाबाट आम्दानी लिएर सकेको चाँडो पैसा फर्काउने बाचा गरिन् ।

मनभरी सोच र थैलीमा आमाले दिएको पैसा लिएर घर फर्किएकी संगीताले श्रीमानसँग घर सल्लाह गरिन् । आफ्नो टोलमा खाजा खाने पसल नभएको र आफ्नो हातमा खाजा तयार गर्ने सीप भएको हुँदा दुबैजना मिलेर खाजा खाने पसल खोल्ने निर्णयमा पुगे । उनीहरुले सोचे झैं गाउँमा खाजा बनाएर खाने ठाउँ खोजी, व्यवसाय सञ्चालन गरे । कक्षामा बसेर संगीताले काम तथा जिम्मेवारीको बाँडफाँड र परिवार ब्यबस्थापनको बारेमा जानेकी थिइन् । परिवारमा हामी एक अर्काको जिम्मेवारी बाँडेर काम गर्न थाल्यौं । श्रीमान घर बनाउने मिस्त्रीको काममा जान थाल्नु भयो । छोराछोरीले स्कुल सकेर घरमा रहेको २ वटा बाख्राको लागि घाँस ल्याईदिने काममा सहयोग गर्न थाले र म आफू खाजा पसल चलाउन थाले संगीता भन्छिन् ।

संगीताका श्रीमान बेलुका घर फर्कदा हाम्रो खाजा घरमा छिर्छन् । पसलमा आएपछि पनि उन संगीतालाई सघाउँछन् । फुर्सद भएको बेला जेठी छोरी पनि पसलमा ग्राहकलाई खाजा दिने काममा सघाउन आउँछिन् संगीताले भनिन् । अहिले संगीतालाई के खाउँ के लाउँ भन्ने पीर छैन । दैनिक पसलमा खाजा बिक्री गरेर संगीताले ८ सय रुपैयाँदेखि १ हजार रुपैंयाँसम्म आम्दानी लिदैं आएकी छन् । पसलमा खाजा बेचेर कमाएको नाफा जम्मा गरेर आमाबाट लिएको सापटी पनि फिर्ता गरिसकेकी छन् संगीताले । अहिले खाजा बेचेर कमाएको पैसाबाट घरमा ४ वटा माउ बाख्रा थपेकी छन् । कक्षामा बसेपछि व्यापार व्यवसाय मात्र होइन जँहा गएपनि म नडराई ढुक्कसँग आफ्नो कुरा राख्न सक्ने भएकी छु संगीता भन्छिन् ।

जनकपुरधाम उप–महनगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत ।

प्रतिकृया

Add