विकास निर्माणमा हुने आर्थिक चलखेललाई शून्य बनाएको छु : खड्का

 मङ्लबार, चैत्र १३, २०८० | onlinenews

 रामेछाप – रामेछापको गोकुलगङ्गा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले विकास निर्माणमा हुने आर्थिक चलखेललाई शून्य बनाएको दाबी गरेका छन् । आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएपछि विकास निर्माणमा हुने गरेको आर्थिक चलखेललाई शून्यमा झारेको बताएका हुन् ।

गाउँपालिले पहिलो प्राथमिकतामा सडकलाई राखेको बताउँदै अघिल्लो कार्यकालमा अपूर्ण रहेका योजनाहरुलाई निरन्तरता दिंदै थप योजनाका कामहरुलाई अघि बढाइएको अध्यक्ष खड्काले बताए । सबै वस्तीबाट हाइवेमा जोडिने र हाइवेबाट सरदमुकाम जोडिने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको अध्यक्ष खड्काको भनाइ छ । “म निर्वाचित भएर आउँदा हाइवे सडक पनि राम्रोसँग सञ्चालन हुने अवस्था थिएन । सडकको समस्याको विषयमा जनस्तरबाट धेरै गुनासाहरु आएपछि उमाकुण्डदेखि खिम्तीसम्मको सडकलाई प्राथमिकतामा राखेर काम गरेका छौँ” उनले भने ।

हिउँद, बर्खा जुनसुकै समयमा पनि सडक निर्वाध रुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । बहुवर्षीय योजना अन्तर्गत ९ किलोमिटर सडक कालोपत्रेको क्रममा रहेको छ, अध्यक्ष खड्काले भने । उक्त सडक २०८१ सालमा सम्पन्न हुने छ, उनले भने अर्को एउटा सडक पनि प्रस्ताव गरिएको छ । धेरै पहिलो नै सुरु भएको खिम्ती– नामाडी बन्चरे बेताली सडक यस वर्ष ट्रयाक खुलाइएको पनि अध्यक्ष खड्काले बताए ।

पर्यटकीय हिसाबले सम्भावना नै सम्भावना बोकेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल जटापोखरी र पाँचपोखरीको सडकको लागि डिपीआर भएको रहेछ तर त्यो डिपीआर अनुसार सडक निर्माण गर्ने हो भने यातायात सञ्चालन हुनै नसक्ने खालको डिपीआर भएको रहेछ । त्यसलाई पनि यातायात सञ्चालन हुनसक्ने सडक निर्माण गर्नु आवश्यक छ । त्यो सडकको लागि गत वर्ष सङ्घ र गाउँपालिकाको साँझेदारी रहने गरी बजेट विनियोजन गरिएको थियो र यस वर्ष पनि बजेट विनियोज भएको छ, खड्काले भने । उक्त सडक निर्माणको लागि गौरीशङ्कर संरक्षण क्षेत्र बाधकको रुपमा खडा भएको पनि अध्यक्ष खड्काको भनाइ छ ।

गत वर्ष सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानको रकम अन्तिममा १ करोड १० लाख रुपैयाँ कटायो । यो वर्ष पनि महालेखा कार्यालयबाट तेस्रो त्रैमासिकमा आउने बजेट ४५ प्रतिशत कटाइने भनेर परिपत्र आएको छ । अन्तिम किस्ता चैत्रसम्मको राजस्व सङ्कलनको आधारमा मात्रै पठाइन्छ भन्ने परिपत्र आएको खड्काले बताए ।

हामीले बजेट सबै योजनामा छुट्याइसकेको अवस्थामा सङ्घीय र प्रदेश सरकारले बजेट कटौती गर्दा हामीलाई अत्यन्त अप्ठ्यारो परेको अवस्था छ, गाउँपालिका अध्यक्ष खड्काले भने हामी प्रत्यक्ष जनतासँग जोडिएर काम गर्ने ठाउँमा भएकाले बिचमा आएर विकास बजेट कटौती हुँदा हामीलाई समस्या परेको छ । उपभोक्ता समिति मार्फत भएको काम पैसा निकासा गर्न समेत अर्को साल कुर्नुपर्ने अवस्था आएको खड्काले बताए । बजेट कटौटी हुँदा केही समस्या देखिएपनि उपभोक्ता समिति मार्फत गरिने काममा समेत हुने गरेको आर्थिक चलखेलको परिपाटीलाई भने आफूले शून्यमा झारेको गाउँपालिका अध्यक्ष खड्काले बताए । मेरो कार्यकालमा विकास निर्माणका काम जति भएका छन्, क्वान्टिटी र क्वालिटको काम भएको छ उनले भने ।

प्रतिकृया

Add