मायाको पहिचानद्वारा नाबालिकालाई सुरक्षा दिन माग

 मङ्लबार, चैत्र १३, २०८० | onlinenews

 कैलाली – मायाको पहिचान नेपालले कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भएको नाबालिकामाथिको कुटपिटको घटनाप्रति भत्र्सना गर्दै नाबालिकाको सुरक्षाको माग गरेको छ । लैङ्गिकता तथा यौनिकतामा रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुँदा दुई नाबालिकाको अवस्था दर्दनाक बनेको मायाको पहिचान नेपालले जनाएको छ ।

मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको छ । पहिलो संविधान सभा सदस्य एवम् मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिकालाई सुरक्षा प्रदान गर्न माग गरेका हुन् । सोमवार पत्रकार सम्मेलन आयोजना गरी पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिकाको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिएका छन् ।

नाबालिकामाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पनि पन्तले माग गरेका छन् । ‘१७ र १६ वर्षका नाबालिकालाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’ पन्तले भने, ‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा गर्नेलाई छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ छ ।’

हिंसामा परेका नाबालिकाको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेको छ । ‘एकातिर उमेर नपुगेका नाबालिका अर्काेतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ’, मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने, ‘हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिकालाई सुरक्षा प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ ।

हिंसामा परेका नाबालिकालाई तत्काल सुरक्षासँगै अभिभावकलाई परामर्शको आवश्यकता देखिएकाले तत्काल यसमा ध्यान दिन नेपाल सरकारसँग मायाको पहिचान नेपालले माग गरेको छ । मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्रीले समलिङ्गी नाबालिकाहरुमाथि भएको लैङ्गिक हिंसा तत्काल अन्त्य हुनु पर्ने माग गरे । यस्तै कैलालीमै पहिलो समलिङगी विवाह दर्ता गर्न सफल भएको बताउदै मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले कैलालीकै एउटा पालिका समलिङ्गी तेस्रो लिङ्गीको विवाह दर्ता गर्ने अर्को पालिकामा हिंसा हुने अवस्था आउनु दुःखद भएको बताए ।

प्रतिकृया

Add