तेस्रो ग्रामीण चलचित्र महोत्सव रामेछापमा

 बुधबार, चैत्र १४, २०८० | onlinenews

 

सन्तोष ढुङ्गेल


रामेछाप–स्थानीय स्तरमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा आयोजना गरिने भएको छ । सेलिब्रेटी नेपालद्धारा आयोजना गर्न लागिएको उक्त सहोत्सवमा ग्रामीण परिवेशमा छायांकन गरिएका चलचित्र प्रस्तुत गरिने र त्यसका लेखक, निर्देशक तथा नायक नायिका समेतको उपस्थिति रहने आयोजकले जनाएको छ ।
महोत्सव आउँदो बैशाख ६ गतेदेखि ८ गतेसम्म जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा सञ्चालन हुने चलचित्र पत्रकार सङ्घका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । नेपालमा निर्माण हुने चलचित्रमा ग्रामिण परिवेश र स्थानीय क्षेत्रको पनि प्रबर्धन गर्दै चलचित्रको माध्यमबाट पर्यटनको विकास गर्ने लक्ष्य लिएको सापकोटाले बताए । आयोजकले सदरमुकाम मन्थलीमा बुधवार पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी दिएको हो ।

महोत्सवमा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि र स्थानीयसँग फिल्म निर्देशक तथा लेखकले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दिएको छ । महोत्सवमा करिब एक दर्जन चलचित्र प्रदर्शन समेत गरिने कार्यक्रम रहेको र महोत्सव अवलोकन गर्न आउने दर्शकसँग कुनै पनि शुल्क नलिने आयोजकले जानकारी दिएको छ । स्थानीय कला संस्कृतिलाई समेत प्रबर्धन र प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय स्तरका झाँकी समेत महोत्सवमा प्रदर्शन गरिने आयोजको भनाइ छ ।

प्रतिकृया

Add