मार्सल आर्ट र म्यूजिकसहित सञ्चालनमा आउँदै जिना एकाडेमी

 बुधबार, चैत्र १४, २०८० | onlinenews

रामेछाप – रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ कुनौरीमा आगामी वैशाख १ गतेबाट जिना एकाडेमी विद्यालय सञ्चालनमा आउँदै छ । जिना एकाडेमी अन्य विद्यालयहरु भन्दा अलि फरक ढङ्गले सञ्चालनमा आउने भएको छ । जिना एकाडेमीमा मार्सल आर्ट र म्यूजिक कक्षा पनि समावेश गरिएको विद्यालय सञ्चालक समितिले जनाएको छ । उक्त विद्यालय सञ्चालनको लागि भौतिक संरचना, खेल मैदान, फर्निचरलगायतको कक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको सञ्चालक समितिका सदस्य गोपाल माझीले जानकारी दिए ।

आधुनिक भवन, सुविधा सम्पन्न कक्षा कोठाहरु अनि हरियो दुबोले ढाकेको खेल मैदान, जिना एकाडेमीको गेटबाट भित्र छिरेपछि सुविधा सम्पन्न सहरमा रहेको विद्यालयमा प्रवेश गरेको अनुभूति हुन्छ । नर्सरीदेखि कक्षा ५ सम्मका कक्षा कोठाहरु तयारी अवस्थामा रहेकोे जिना सञ्चालक समिति सदस्य गोपाल माझीले जानकारी दिए ।

जिना एकाडेमीको भवन र खेलमैदान सहित विद्यायलको नाममा १२ रोपनी जग्गा गरेको छ । जिना एकाडेमी कोरियन नागरिक जिनाको नामबाट राखिएको हो । कोरियन नागरिक जिना नेपालमा शिक्षाको क्षेत्रमा नयाँ काम गर्ने उद्देश्यले नेपाल आएकी थिइन् । नेपालमा विद्यालय स्थापना गर्ने तयारीकै सिलसिलामा उनको नेपालमै निधन भयो । नेपालमा शैक्षिक क्षेत्रमा नयाँ काम गर्ने उद्देश्य लिएर नेपाल आएकी छोरीको अधुरो सपनालाई साकार पार्न जिनाका बुबा आमाले जिना एकाडेमी विद्यालय खोलिदिएका हुन् । जिना एकाडेमीको अहिलेसम्म जेजति संरचनाहरु निर्माण भएका छन् सबै जिनाको परिवारकै सहयोगमा सम्पन्न भएको विद्यालय सञ्चालक समितिका सदस्य माझीले जानकारी दिए ।

विद्यार्थीहरुलाई विद्यालय र घर आउन जानका लागि विद्यार्थी सङ्ख्याको आधारमा स्कुल बसको व्यवस्था गरिने माझीको भनाइ छ । विद्यार्थी सङ्ख्याको आधारमा २ वटासम्म बस सञ्चालन गर्ने तयारी गरेको उनले बताए । जिना एकाडेमीमा अन्य विद्यालयहरु भन्दा मासिक फि र स्कुल बसको शुल्क पनि निकै कम हुने उनले बताए । सञ्चालक समितिका अनुसार जिना एकाडेमी हाल प्रालिमा रहे पनि पछि यसलाई गुठीमा रुपान्तरण गरिने छ । सस्तो पैसामा गुणस्तरीय शिक्षा दिने उद्देश्यले जिना एकाडेमी सञ्चालनमा ल्याउन लागिएको सञ्चालक समितिका सदस्य माझीको भनाइ छ । विद्यालयमा सुरक्षाको लागि सिसी क्यामेरा समेत जडान गरिएको छ । आवश्यकता अनुसार थप उपकरणहरु र सुविधा थप गर्दै जाने सञ्चालक समिति सदस्य माझीले बताए ।

प्रतिकृया

Add