न्यायिक समितिमा परेका उजुरी सबै फछर्यौट गरेका छौँ : विष्ट

 शुक्रबार, चैत्र १६, २०८० | onlinenews

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका न्यायिक समितिमा दर्ता भएका सम्पूर्ण उजुरीहरु फछर्यौट भएका छन् । चालु आर्थिक वर्षमा न्यायिक समितिमा १८ वटा उजुरीहरु दर्ता भएको र ती उजुरीहरु सबै फछर्यौट भइसकेको सुनापति गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गीता विष्टले जानकारी दिइन् ।

न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर आएका उजुरीहरु सबै न्यायिक समिटिबाटै मिलाएका छौँ, न्यायिक समिति संयोजक विष्टले भनिन् न्यायिक समितिमा आएका कुनै पनि उजुरी अदालतमा पुनरावेदन भएको छैन ।

न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु मेलमिलामा पठाउँछौँ र सबै मुद्दाहरु मेलमिलापबाटै मिलेको छ उनले भनिन् । सुनापति गाउँपालिकाको पाँच वटै वडाहरुमा मेलमिलाप केन्द्र रहेको छ । विगत वर्षहरुमा मेलमिलापकर्ता उत्पादन गर्न तालिम सञ्चालन गर्दै आएको सुनापति गाउँपालिका न्यायिक समितिले यस वर्ष मेलमिलाप कर्ताहरुलाई पुनर्ताजकी तालिम दिएको छ । सबै वडामा मेलमिलाप कर्ताहरुसँग त्रैमासिक रुपमा बैठक बस्ने गरिएको विष्टले बताइन् ।

सुनापति गाउँपालिका न्यायिक समितिमा कम उजुरी पर्ने पालिकामा पर्ने उपाध्यक्ष विष्टको भनाइ छ । सुनापति गाउँपालिकामा बहुसङ्ख्य जनजाति समुदाय रहेको र जनजाति समुदायमा महिलामाथि दमन र हिंसा कम हुने भएकाले लैङ्गिक हिंसा तथा घरायसी विवादहरु खासै नआउने गरेको न्यायिक समिति संयोजक विष्टले बताइन् ।

न्यायिक समितिमा धेरैजसो मुद्दाहरु जग्गाको साँधसीमाना, बाटोको झैझगडा र पहिला सहमतिमा एक व्यक्तिको नामको जग्गा अर्को व्यक्तिले सट्टामा भोगचलन गरेको विषयको विवादहरु आउने गरेको विष्टले जानकारी दिइन् । पहिला मौखिक रुपमा सट्टामा जग्गाको भोगचलन गरेको र अहिले विवाद भएको पाइन्छ यस्ता केसमा हामीले समाजमा मिलेर बस्नुस् भन्नुको बिकल्प छैन, न्यायिक समिति संयोजक विष्टले भनिन्– उहाँहरु मुद्दामा जानुभयो भने त लालपूर्जा जसको नाममा छ, जग्गा पनि उसैको भइहाल्छ ।

न्यायिक समितिले वार्षिक कार्ययोजना बनाएर काम गर्दै आएको विष्टले बताइन् । माध्यमिक विद्यालयहरु तथा टोलवस्तीहरुमा स्थानीय न्यायिक समितिले गर्ने काम र क्षेत्राधिकारको बरेमा जानकारी दिने लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष विष्टले बताइन् ।

यस वर्षपनि गाउँपालिकाको सबै माध्यमिक विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिसकिएको उनले बताइन् । सामाजिक सञ्जालनको दुरुपयोग तथा अन्य कारणबाट टिनेजरहरुमा देखिएको समस्या निराकरणका विषयमा पनि न्यायिक समितिले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको र यस वर्ष पनि उक्त कार्यक्रम सम्पन्न भइसकेको विष्टले जानकारी दिइन् । सचेतनामूलक कार्यक्रममा कानुनका बारेमा जानकारी दिने र घटना घटिसकेपछि कानुन थाहा थिएन भनेर क्षमा पाइदैन भन्ने विषयमा पनि सचेत गराउने गरिएको विष्टको भनाइ छ ।

प्रतिकृया

Add