ओख्रेनीमा कोल्ड च्याम्बर उद्घाटन

 शुक्रबार, चैत्र १६, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीमा कोल्ड च्याम्बर (सित गृह) उद्घाटन तथा सर्वजनिक सुनुवाई गरिएको छ । कोल्ड च्याम्बर निर्माण गरी कृषकहरुले प्रयोगमा ल्याइसकेको भएपनि शुक्रवार सार्वजनिक सुनुवाई गर्नुका साथै औपचारिक उद्घाटन समेत गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछाप र स्थानीय, कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडको आर्थिक साझेदारीमा निर्माण गरिएको कोल्ड च्याम्बर शुक्रवार रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेद्धारा उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई रामेछापको भण्डारण प्राथमिक प्रशोधन वा उद्योग स्थापना कार्यक्रम अन्तर्गत परियोजनाको १० लाख र स्थानीय सहकारीको ३ लाख ४० हजार गरी १३ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । उक्त कोल्ड च्याम्बरको भण्डारण क्षमता ६ मेट्रिकटन रहेको कृषक जागरण कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक पदमबहादुर लामाले जानकारी दिए ।

कोल्ड च्याम्बर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले कृषि व्यवसायको लागि जमिन पछिको महत्वपूर्ण कुरा सिँचाई भएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए । नगरपालिकाको प्राथमिकता पनि किसानमै रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । पछिल्लो समय पानीको मुहानहरु सुक्दै गएकाले जङ्गलका डाँडाहरुमा सुख्खा पोखरी खन्नु आवश्यक रहेको बताए । कृषकले उत्पादन गरेको वस्तु बजारसम्म पु¥याउने सडक र बजार व्यवस्थापनमा पनि नगरपालिकाले सोचिरहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । कोल्ड च्याम्बरमा बिद्युत् खपत धेरै हुने भएकाले बिद्युत् महशुलमा सहुलियतको लागि पनि नगरपालिकाले पहल गर्ने नगरप्रमुख न्यौपानेले बताएका छन् ।

त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले रामेछाप नगरपालिकामा जुनारको ग्रेडिङ, लेवलिङ् र प्याकेजिङको कार्य हुँदै आएको बताउँदै अब ब्राण्डिङ गर्ने र मूल्य निर्धारण गर्ने कार्य बाँकी रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले हतारिएर सस्तो मूल्यमा जुनार बिक्री नगर्न कृषकहरुलाई सुझाव दिए । जुनारको सिजनमा कम गुणस्तरका जुनार बिक्री गर्ने र राम्रो गुणस्तरको जुनारलाई टिप्ने बेला भएपछि कोल्ड च्याम्बरमा राख्न र बिक्री नहुने खालका दानालाई जुस बनाउनमा प्रयोग गर्न पनि कृषकहरुलाई घिमिरेको सुझाव छ ।

जुनारको जुस उत्पादन गर्दा सुगरफ्री जुस पनि उत्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत घिमिरेले उद्योगीहरुलाई आग्रह गरेका छन् । जुस बिक्रीको लागि नगरपालिकाको अगुवाइमा भाटभटेनीहरुसँग सम्पर्क गर्न सकिने पनि उनले बताए । कोल्ड च्याम्बर भएपछि जुनार बिग्रिएर जान्छ भन्ने चिन्न गर्नु नपर्ने बताउँदै व्यवस्थापनको पक्षलाई सुधार गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले यही चैत्र महिनाभित्र रामेछाप नगरपालिकामा ४ वटा कोल्ड च्याम्बरहरु निर्माण सम्पन्न हुने बताए । राम्रो गुणस्तरको जुनार कोल्ड च्याम्बरमा भण्डारण गरी बेमौसमा बिक्री वितरण गर्दा ६० देखि ७० प्रतिशतसम्म मूल्य बढाएर बिक्री गर्न सकिने बताए । कोल्ड च्याम्बरमा जुनार मात्र नभई अन्य फलफूल तथा तरकारीहरु पनि भण्डारण गरेर बिक्री गर्न सकिने भएकाले कृषकहरुले त्यसबाट पनि फाइदा लिनसक्ने गैरेको भनाइ छ । कोल्ड च्याम्बरको उद्घाटन तथा सार्वजनिक सुनुवाइमा स्थानीय कृषकहरुले नगरपालिकासँग सिँचाइको माग गरेका छन् । पछिल्लो समय पानीको मुहान सुरेर सिँचाइमा समस्या भएको भन्दै स्थानीय कृषकहरुले सिँचाई माग गरेका हुन् ।

प्रतिकृया

Add