श्रीमानले कान्छिलाई स्कुटर किनिदिए तर छोरीहरुले पढाई खर्च पाएनन् । त्यही हिम्मतले मलाई व्यवसायी बनायो– डम्बरी थापा

 शनिबार, चैत्र १७, २०८० | onlinenews
Share this

 

सल्यान- “जीवनमा असम्भव भन्ने शब्द छैन दुःख नगरी कुनै कुरा प्राप्त गर्न सकिन्न । मनमा दृढ चाहना शरीरमा काम गर्ने उर्जा, जोस र जाँगर भर्न जानेर काम गर्ने उचित तरिकाको संयोजन गर्न सकियो भने मानिसलाई अभाव कहिले पनि हुँदैन भन्छिन् डम्बरी थापा”

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–७ जिताथान बस्ने डम्बरी थापाको उमेर ३८ बर्ष पूरा भयो । विद्यालय गएर कक्षा ५ सम्म मात्र पढेकी उनी असल गृहिणी हुन् । हामी सोचमा धनी छौँ । तर देश आर्थिक रुपले दिनदिनै खोक्रो बन्दै गइरहेको छ । खोक्रो देशमा बसेर आजभोलीका मान्छेका सपना पोटिलो बन्न सकेनन् । जसले भविष्यको सपना देखेका छन्, उनीहरु आफ्नो देशमा बस्न तयार छैनन् । विदेश जानु भनेको देशको आर्थिक सङ्कटलाई टार्नु पनि हो भन्ने लाग्छ डम्बरीलाई । उनले पनि घर चलाउन र रुपैयाँ पैसाको जोहो गर्न कमाउने मेलो समाएकी छन् ।
डम्बरीले २ छोरी र श्रीमानको साथ पाउँदा घर उज्यालो थियो । कान्छी छोरी जन्मिएपछि श्रीमानले सौता भित्र्याए । महिलालाई सौता भन्दा ठुलो पिर केही हुँदैन । सौताले घरको सङ्घार टेकेको सम्झँदा अहिले पनि शरीर काप्छ, डम्बरीको ।

दुई वटीको जोइ कुना पसी रोइ भन्छन् । खाने मुख थपिएपछि राजकुमारलाई बाध्यताले घर बस्न दिएन । डम्बरीका श्रीमान् राजकुमार कामका लागि मलेसिया गए । डम्बरीलाई सौताको चिन्तासँगै छोरीहरु हुर्काउनु पर्ने बाध्यता थियो । आफू र छोरीहरुको खानपानका लागि कसरी पैसाको जोहो गर्ने ? उनको मनमा चिन्ता थियो । छोरीहरु सुतेपछि उनका मनमा पैसा कमाउने जुक्ति धेरै आउथे । तर जुक्ति पूरा गर्न लगानी गर्ने पैसा थिएन । गाउँमा कमाउने बाटो नदेखेपछि डम्बरीलाई पनि विदेश जाउँजाउँ लाग्यो । अन्ततः डम्बरी २०७५ सालमा मेनपावर कम्पनीलाई १ लाख १० हजार रुपैयाँ तिरेर मलेसिया जाने प्लेन चढिन् ।

छोरीहरुलाई माइतीमा छाडेर मलेसिया पुगेपछि डम्बरीले नसोचेको दुःख भोग्नु प¥यो । कसैले विदेश बसेर आएको भन्दा सामान्य लाग्ने उनलाई विदेश भोग्न गाह्रो भयो । मलेसियामा भाषा नजान्दा परेको समस्या सम्झँदा अहिले पनि डम्बरीका आँखाका डिलसम्म आँशु छलल्किन्छ । बुबाले सौता भित्राएको कुराले साना छोरीहरुको बालमनस्थितिमा गहिरो चोट लागे झैँ भएको थियो । घरमा कमाउने बाटो नहँुदा आफै परदेश भासिनु पर्यो । बिदेशमा छोरीहरुको सम्झना आउँदा मायाले डम्बरीको छाती छियाछिया हुन्थ्यो । श्रीमान बिदेश गएपछि डम्बरीलाई सौता र आफूमा भेदभाव हुँदैन होला भन्ने नलागेको होइन । तर बिदेशबाट श्रीमानले कान्छी श्रीमतीलाई स्कुटर किन्न पैसा पठाउँदा श्रीमानको हातबाट डम्बरीले छोरी पढाउन लाग्ने खर्च समेत पाइनन् । ती दिन सम्झँदा उनलाई अहिले पनि भत्भत् पोल्ने गरेको बताउछिन् उनी ।

डम्बरी मलेसियाको ग्यास क्याप कम्पनीमा काम गरेर महिनाको ३५ हजार रुपैयाँ पाउनु थिइन् । मलेसिया जाँदा लागेको १ लाख १० हजार ऋण तिरिसकेपछि उनले बचत गर्न थालिन् । ३ बर्ष दुःख सुख मलेसियामा बसेर उन घर फर्किइन् । घर फर्किएपछि विदेश बस्ने श्रीमान र उनको कान्छी श्रीमतीलाई नदेख्ने गरी टाढा बस्न थालिन् । बिदेशमा काम गरेर जम्मा गरेको पैसाबाट डम्बरीले व्यवसायिक बङ्गुरपालन गर्ने योजना बनाइन् । २०७८ सालबाट उनले बङ्गुर पालन सुरु गरिन् । २०७९ सालमा छत्रेश्वरी गाउँपालिकाले चलाएको सुरक्षित आप्रवासन सामी कार्यक्रमले उनको गाउँ जिताथानमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा चलाउने भयो । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलेको कक्षामा डम्बरी नियमित आउँथिइन् । आफैँ परदेशमा दुःख गरी फर्किएको र आफूसँग भएको पैसाबाट जानीनजानी बङ्गुरपालन व्यवसाय गरेको हुँदा कक्षामा बसेर सिक्ने इच्छा जाग्यो, उनी भन्छिन् ।

कक्षामा बसेपछि डम्बरीलाई मलेसियामा भोगेका दुःख र जानेका कुरा सुनाउने अवसर मिल्यो । कक्षामा बचत र व्यवसायिक योजना तथा व्यवसायको छनोट सत्रमा छलफल गरेपछि उनलाई बङ्गुरपालन व्यवसायलाई झन बलियो बनाउन हौसला मिल्यो । बङ्गुरपालन व्यवसायबाट झन् धेरै नाफा कमाउन अन्न पिस्ने मिल सञ्चालन गरिन् डम्बरीले । घरमै मिल राखेपछि बङ्गुरको लागि दाना बनाउन सहयोग पुग्ने र समयको समेत बचत भएको उनी बताउछिन् । उनले मिलबाट नाफा बस्ने देखेपछि धान कुट्ने, गहुँ र मकै पिस्न समेत मिल्ने सानो मिल थप गर्ने योजना बनाइन् ।
२०७९ सालको माघ महिनादेखि डम्बरी थापाले आफूसँग भएको ४५ हजार रुपैयाँमा मिल किन्नु भयो । उनले किनेको मिल आफ्नै घरको एउटा कोठामा राखेर चलाएकी छन् । आजभोली उनको मिलमा गाउँभरीबाट कुट्न र पिस्न अन्न आइपुग्छन् । उनको घरमा धान, गहँु र मकैका बोराको चाङ लाग्छन् ।

यसरी आफैले राखेको मिलबाट बङ्गुरको दाना जोहो गर्न सजिलो भएको छ, डम्बरीलाई । दानाको झन्झट टरेपछि उनले खोरमा २ वटा बङ्गुर थपेकी छन् । अहिले उनको खोरमा ५ वटा ठुला बङ्गुर छन् । गएको कार्तिक महिनामा उनले एउटा बङ्गुर १० हजारमा बेचिन् । त्यही बङ्गुर बेचेको पैसाले दशैँ माने, उनी भन्छिन् । उनले अहिले गाउँमा लोकल कुखुराको माग बढेकाले व्यवस्थित खोर बनाएर लोकल कुखुरा पालन समेत गर्न थालेकी छन् । डम्बरीको हातमा नभएको सीप केहि पनि छैन । उनलाई सिलाउन, मुढा बुन्न र ड्राइभिङ्ग समेत गर्न आउँछ । उनी भन्छिन् “मलाई लाग्छ जीवनमा असम्भव भन्ने शब्द नै छैन । तर दुःख नगरी सुख प्राप्त गर्ने कोही हुँदैनन् । आफूमा जाँगर, चाहना र काम गर्ने तरिकाको संयोजन चाँहि हुनुपर्छ ।”

यसरी बिदेशमा कमाएको पैसा लगानी गरेर डम्बरीले नियमित आम्दानीको स्रोत बनाइसकेकी छन् । । अब उनलाई महिनाको ३० हजार कमाउन २ छोरीलाई एक्लै छाडेर मलेसिया जानु पर्दैन । अहिले उनी मिलबाट महिनाको ५ देखि ७ सम्म कमाउछिन् । बङ्गुर पालनबाट ४÷४ महिनामा १५ देखि २० हजारसम्म आम्दानी हुने गरेको डम्बरीको बताइन् । आफूले गरेको व्यवसायबाट घर चलेको छ भने छोरीहरुको पढाई खर्च, चाडवाड खर्च र बेला बेलामा मिलका लागि हुने गरेको मर्मत खर्च समेत चलेको छ उनको । उनले कमाएको पैसा खर्च मात्र गरेकी छैनन् । भविष्यका लागि भनेर सहकारीमा ५ हजार रुपँैयाँ बचत समेत गर्दै आएकी छन् । यसरी आफू कक्षामा बसेर जानेका कुरा अनि आफ्नै मेहनतले ३ आमाछोरीको परिवार खुसी र सुखी बन्दै गइरहेको छ भन्दै मुस्कुराइन् डम्बरी थापा ।

डम्बरीलाई आफूले चलाएको व्यवसाय ठुलो पार्ने मन छ । डम्बरीले गाउँलेले आशा मारेर, बिर्सिएको ९ रोपनी जमिन ५ लाखमा किनेकी छन् । उनलाई त्यही जमिन स्याहारेर सुन फलाउने धोको छ । उनले किनेको जमिनमा ठुलो बदाम, काजु, आँप र डा«इगन फुडको प्रचुर सम्भावना छ । उनले त्यो जमिनमा फलफूल खेती गर्ने तयारी गरिरहेकी छन् । उनको पौरख, मेहेनत र साहसले व्यवसायबाट असफलता मिल्ने छैन ।

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत ।

Share this

प्रतिकृया

Add