कागबेनीमा भएको तीर्थयात्री सवार बस दुर्घटनामा पाँचको मृत्यु

 शनिबार, बैशाख ९, २०७४ | onlinenews

 मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना। ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा पाँच  जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना  गीभर घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट पोखरा लगिदै गरेको मुस्ताङका डिएसपी हरिहर योगीले बताए ।

घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको योगीले जानकारी दिए ।

२६ जना सवार बसमा अन्य सामान्य घाइते भएको बताइएको छ । “घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको छ”, उनले भने ।

मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला आन्तरिक तथा बाह्य तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् ।

प्रतिकृया

Add