५० प्रतिशत अनुदानमा बोयर र कृषियन्त्र वितरण

 बिहिबार, चैत्र २२, २०८० | onlinenews

 

रामेछाप-  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । त्यसैगरी परियोजनाले जोन तथा सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषि सहकारी, कृषक समूह, फर्म तथा कम्पनीलाई कृषियन्त्र पनि वितरण गरेको छ । परियोजनाले बुधवार औपचारिक कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामीछानेद्वारा बोयर जातका पाठापाठी तथा कृषियन्त्र वितरण गरेको हो ।उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए ।

परियोजना कार्यालय प्रमुख गैरेका अनुसार जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत ३३ वटा कम्बाइन मिल, २० वटा डिस्क मिल र ८ वटा च्यापकटर वितरण गरिएको छ । बोयर जातका पाठापाठी तथा कृषियन्त्र दुबै ५० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरिएको परियोजनाले जनाएको छ । परियोजनाले बोयर पाठापानी परकेजी १ हजार ९५ रुपैयाँमा खरिद गरी ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको हो । त्यसैगरी कम्बाइन मिल परगोटा ३६ हजार ५ सय, डिस्क मिल २४ हजार ५ सय र च्यापकटर प्रतिगोटा ३३ हजार ५ सयमा खरिद गरी खरिद मूल्यको ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको परियोजनाले जानकारी दिएको छ ।

बोयर पाठापाठी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले कृषकहरुलाई व्यवसायमा सहयोग गर्ने तथा स्वरोजगार बनाउने उद्देश्यले सरकारले बोयर जातको पाठापाठी वितरण गरेको बताए । कृषक आर्थिक रुपले सम्पन्न भए देशमा समृद्धि आउने भन्दै अनुदानमा पाएको पाठापाठी मार्फत बाख्रा पालन व्यवसायलाई प्रवर्धन गरी आयआर्जन बढाउन अनुरोध गरे । अनुदानको सही सदुपयोग गर्न कृषकहरुलाई आग्रह गर्दै उन्नत जातको बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताए । त्यसैगरी मिलको पनि सही सुदुपयोग गर्न उनले आग्रह गरे । विदेश जाने युवाहरुको सङ्ख्या बढ््दो क्रममा रहेकाले युवाहरु विदेशिएसँगै गाउँमा खेती गर्ने मानिस कम भएकाले खेतीलाई सहज, सरल र आधुनिकीकरण गर्ने उद्देश्यले कृषियन्त्र वितरण गरिएको उनको भनाइ छ । कृषियन्त्र चलाउँदा लापरबाही गरेमा दुर्घटना निम्तन सक्ने भएकाले सावधान भएर मेसिन चलाउन पनि उपप्रमुख थापाले कृषकहरुलाई आग्रह गरे ।

रामेछापका जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामीछानेले कृषकहरुको लागि सरकारले सहुलियतपूर्ण कार्यक्रमहरु ल्याएकाले त्यसबाट भरिपूर्ण लाभ लिन कृषकहरुलाई अनुरोध गरे । यस्ता कार्यक्रमहरुले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने लामीछानेको भनाइ छ । अनुदान कार्यक्रम पारदर्शी रुपमा सञ्चालन गरिएकाले यसले सकारात्मक प्रभाव पर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले परियोजनाले वर्षेनी ५०÷६० वटा उन्नत जातको बाख्राका पाठापाठी वितरण गर्दै आएको बताए । बाख्रा जोन कार्यक्रमले कृषकहरुको क्षमता समेत बृद्धि भएको गैरेको भनाइ छ । बाख्रा जोन कार्यक्रम सञ्चालन भएपछि कृषकहरुको आर्थिक आय बृद्धि हुनुका साथै सरकार, बाख्रा वितरक फर्म र कार्यालयलाई समेत बखरदारी गर्न सक्ने क्षमता बृद्धि भएको उनको भनाइ ।

प्रतिकृया

Add