पासबुक भर्न थालेपछि बचत मात्र होइन्, माया पनि बढेको छ

 आइतवार, चैत्र २५, २०८० | onlinenews

 

धादिङ– सुरुमा पासबुक भर्न अल्छि लाग्ने पवित्रा सुनारलाई पासबुक भरेपछि बैराग लाग्थ्यो । हरेकदिन हुने खर्चले मन आतिन्थ्यो उनको । पवित्राको आम्दानी भनेको हरेक महिना श्रीमानले विदेशबाट पठाएको पैसा मात्रै हुन्थ्यो । कहिलेकाँही अन्नपात, कुखुरा, खसी बेचेर आउने पैसा हात लाग्थ्यो भने अरु आम्दानी लिने कुनै श्रोत थिएन । आम्दानी भन्दा खर्च कयौँ गुणाले बढी हुन्थ्यो । कहिलेकाँही पवित्रालाई पासबुक हेर्दा मनमा चिसो पस्थ्यो । यसरी जीन्दगीमा कहिले प्रगति होला भनेर । उनी तर्सिन्थिन्, खर्च बढेको र आम्दानी घटेको देखेर । उनले पैसाको कारणले कयौँ घरमा श्रीमान् श्रीमती र परिवारबिचमा विवाद र शङ्का भएको पनि थाहा पाएकी थिइन् ।

निलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुवाँकोटमा निलकण्ठ नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा गठन गर्यो । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा गठन भएको कक्षामा सहभागी भइन् पवित्रा पनि । उनलाई कक्षामा बस्न थालेपछि खर्च व्यवस्थापन गर्ने हौसला मिल्यो भने काम गर्ने आँट पनि । उनलाई श्रीमानले विदेशमा कमाएको पैसाको फेहरिस्त हिसाब देखाउन नसक्दा सङ्कोच लाग्थ्यो । अनि कहिलेकाँही आफूले पढेसुनेका कथाले मन झस्कन्थ्यो । पैसाको कारणले घर झगडा बढेको र श्रीमानसँगको सम्बन्ध बिग्रिएको देख्दा । कक्षामा विदेशबाट आएको पैसालाई कसरी सदुपयोग गर्ने र बचत बढाउने तरिकाहरुको छलफल भयो । पवित्रालाई पनि दिनदिनै हुने आम्दानी र खर्चको दुरुस्त हिसाब राख्न मन लाग्यो । हिसाव राख्नु अघि उनले आफ्नो आवश्कता र चाहना छुट्याइन् । यसरी छुट्याउँदा दैनिक रुपमा हुने खर्च घटाउन सकिने उनको अनुभव छ ।

पासबुकमा भरेको एक महिनाको आम्दानी र खर्चको हिसाबलाई आधार मानेर उनले खर्चलाई घटाइन् । वित्तीय लक्ष्य पूरा गर्न लक्ष्य अनुसार हरेक महिना जम्मा गर्नुपर्ने बचतको समेत हिसाब निकालिन् । अनि बल्ल थाहा भयो आफूले गर्ने गरेको खर्चले वित्तीय लक्ष्य पूरा नहुने रहेछन भनी । यसले उनलाई बचत योजना तयार पार्न सघायो । अहिले पवित्रा दैनिक रुपमा हुने खर्च घटाउन थालेकी छन् । उनले बच्चालाई प्रयोग गर्ने डाइपरमा हुने खर्च घटाउने जुक्ति निकालिन् । आजभोली उनी डाईपरको साटो घरमै सफा कपडाको न्यापकिन बनाएर प्रयोग गर्न थालेकी छन् । त्यति मात्र होइन माहिनावारीका बेला आफूले प्रयोग गर्ने स्यानिटरी प्याड पनि आफै बनाउन थालेकी छन् । बजारबाट कपी, साबुन, सिसाकलम, कलर, कलम, तेल, मसला पनि दर्जनै किन्दा फाइदा हुने कुरा पासबुकले सिकाएको छ । एक दुई रुपैयाँ मात्र सस्तो पर्दा पनि मासिक रुपमा एक हजार भन्दा बढी बचाउन सकिने पवित्राको अनुभव छ । उनलाई आजभोली खर्च धेरै नगर्नु वा कटौती गर्नु पनि बचत नै हो भन्ने लाग्न थालेको छ ।

पैसा कमाएर भन्दा पनि बचाएर धनी बन्ने रहेछ भन्ने कुरा पनि वित्तीय साक्षरता कक्षामा गएपछि पवित्रालाई थाहा भयो । पवित्राले दैनिक हिसाब राख्न थालेपछि श्रीमान पनि खुसी भएका छन् । एक एक रुपैयाँको हिसाब राख्न थालेदेखि श्रीमान र श्रीमतीबिच विश्वास मात्रै होइन बचत पनि बढेको छ । पवित्रा र विदेशमा रहेका उनका श्रीमानबिच हप्तामा एकचोटी आम्दानी र खर्चको बारेमा छलफल हुने गरेको छ । खर्चलाई घटाउन सक्ने धेरै ठाउँहरु हुने रहेछन् कक्षापछि बल्ल हाम्रो आँखा उघ्रिएको छ, उनी भन्छिन् । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा मनसँगै पैसाको विषयमा धेरै छलफल हुने भएकोले कक्षा उनलाई माइतीघर जस्तै लाग्न थालेको छ ।

पवित्राले बचत बढाउन घरमा कुखुरासँगै बाख्रा पनि थपेकी छन् । पवित्राको मितव्ययी भएर खर्च गर्ने बानीले श्रीमान पनि दङ्ग छन् । श्रीमानको आजभोली कुरा गर्ने तरिका र शैली फेरिएको बताउने पवित्रा हरेक बुधवार कक्षामा छलफल भएको बिषय घरपरिवारमा सुनाउछिन् भने बिदेशमा रहेका श्रीमानलाई पनि । श्रीमानसँग सबै कुरा गर्न पाउँदा श्रीमान खुसी हुनुहुन्छ उनले भनिन् अझ कुराकानी गर्दा उहाँले मेरो तारिफ गर्दा त म झन् धेरै खुसी हुन्छु । २ वर्ष पहिले आफ्नो श्रीमान् रोजगारीको लागि साउदी पठाउन २१ वर्षीय पवित्राको मन मानेकै थिएन । घरको गरिबीले परदेश पठाउन बाध्य भँए उनी भन्छिन् । सानै उमेरमा विवाह गरी घरजम गरेकी मलाई जहिलेपनि कसरी पैसा कमाउने र धनी हुने भन्ने कुरा मात्र मनमा खेलिरहन्थ्यो । घरदेशमा बसेर पैसा कमाउने जुक्ति नभेटेपछि श्रीमान बिदेश जानुभयो उनले भनिन श्रीमान विदेश भएकै कारण आफूले कक्षामा बस्ने अवसर पाएँ ।

उनी भन्छिन्, “पासबुकमा दैनिक आम्दानी खर्चको विवरण राख्न थाले, हरियो, पहेँलो र रातो खर्चको विवरण हेरी महिनाको अन्तिममा लेखाजोखा गर्छु । आम्दानी भन्दा खर्च बढि भएको देखेर पँहेर खर्च घटाएको छु । खर्च कम भएपछि बचत बढाएको छु ।” पहिला पहिला बिदेशबाट श्रीमानले जति पैसा पठाए पनि खर्च गर्थे र बाँकी रहेको बचत गर्थे । तर कक्षामा सिकेपछि पहिला बचत गर्छु अनि बल्ल खर्च गर्छु । बित्तीय साक्षरता कक्षामा सहभागी हुनुअघि दिनमा २५ रुपैयाँको डाइपर प्रयोग गर्थे । गाउँमा बसेरपनि हरियो तरकारी किन्थेँ । अण्डा पनि बजारबाटै लिएर आउथेँ । तर अहिले अण्डाको लागि ३ वटा माउ पोथी पालेकी छु । तरकारी खान घर करेसामा आफूलाई पुग्ने तरकारी रोपेकी छु, उनले सुनाइन् । आफ्नो बानी र सोचमा परिवर्तन आएको बताउने उनलाई २ वर्षपछि श्रीमानसँगै घरदेशमा लघु व्यवसाय गर्ने सोच रहेको बताउछिन् । पवित्रा मुसुक्क हाँस्दै भन्छिन् “पासबुक भर्न थालेपछि बचत मात्र होइन माया पनि बढेको छ ।”

धादिङ जिल्ला निलकण्ठ नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत 

प्रतिकृया

Add