जुनार जोन क्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

 

रामेछाप – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ ।
कृषिमैत्री यान्त्रीकरण प्रवर्धन कार्यक्रम अन्तर्गत जोन क्षेत्रका कृषकलाई मिनिटिलर, डिजिटल तराजु, स्प्रेयर र सिकेचर ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाले जनाएको छ । रामेछाप नगरपालिकामा बुधवार जुनार जोन क्षेत्रका कृषकलाई मिनिटिलर ३५, वटा डिजिटल तराजु १७ वटा, सिकेचर ९६ वटा र स्प्रेयर ६५ वटा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए ।

कृषिमा यान्त्रीकरणको प्रवर्धन गरी आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रुपान्तरण गर्ने उद्देश्यले कृषयन्त्र वितरण गरिएको कार्यालय प्रमुख गैरेको भनाइ छ । कृषिमा यान्त्रीककरण माग बढ्दो अवस्थामा रहेको पनि उनले बताए । कृषिमा यान्त्रीकरणको प्रयोगबाट कम जनशक्तीबाट धेरै काम गर्न सकिने, छिटो, सहज उत्पादनमा वृद्धि भई व्यवसायीकरण गरी कृषिको माध्यमबाट आय आम्दानीमा वृद्धि गर्न सकिने गैरेको भनाइ छ ।
कृषि औजार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संसारमै मिठो खाने र स्वाभिमानी पेशा कृषि भएको बताए । कृषिलाई आधुनिकीकरण गर्दै लैजानु आवश्यक रहेकोले सोही अन्तर्गत कृषकहरुलाई कृषि औजार वितरण गरिएको नगरप्रमुख न्यौपानेले बताए ।

कृषि पेसालाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउन, सरकारले कृषिलाई आधुनिकीकरण गर्न कृषकहरुलाई प्रेरित गर्नुपर्ने बताए । कृषिमा यान्त्रीकरण संगसँगै सिँचाइको पनि व्यवस्था गर्नु आवश्यक रहेको नगरप्रमुख न्यौपानेले बताए । रामेछापमा लिफ्ट प्रणाली बाहेक सिँचाइ गर्ने विकल्प नभएको भन्दै लिफ्ट सिँचाइतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले आफ्ना वडामा कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउने गरी काम भइरहेको बताएका छन् । कृषि कर्म गर्नेहरुलाई इज्जत र प्रतिष्ठा दिने हो भने कृषि पेसामा लाग्नेहरुको सङ्ख्यामा वृद्धि हुने अगुवा कृषकहरुको भनाइ छ ।

प्रतिकृया

Add