आगामी असारमा बनिसक्ला त, छतिउनी खोलाको पुल ?

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ मा पर्ने लिखु तामाकोसी र गोकुलगङ्गा गाउँपालिकालाई जोड्ने छतिउनी खोलाको पुल निर्माणाधिन अवस्थामा छ । अहिले पुलको स्ल्याप ढलानको लागि तयारी भइरहेको छ । स्ल्याप ढलान गर्न खोलाको सतहबाट १२ मिटरको उचाइमा डाइभर्सन बनाएकाले आगामी वर्षाको समयमा पुल निर्माण कार्य सम्पन्न नभएमा सो खोलाले पुनः क्षति पुर्याउने जोखिम उच्च छ । खोलाको सतहबाट पुलको उचाई १४ मिटर रहेको र १४ मिटरको उचाइमा स्ल्याप ढलानको लागि टेको लगाउन नसकिने भएकाले १२ मिटरको उचाइमा ढुङ्गा माटो थुपागेर त्यसमाथि टेको राखिएको निर्णण व्यवसायीको भनाइ छ । खोलाको बग्ने भाग पूर्णरुपमा अवरोध भएकाले वर्षाको समयमा खोलाले पुनः क्षति गर्न सक्ने भएकाले यस वर्ष वर्षाको सिजन अघि नै पुल निर्माण सम्पन्न गर्नु पर्ने दवावमा निर्माण व्यवसायी छन् ।

अब वर्षाकोे सिजन नजिक आइरहेको छ, त्यसकारण पनि निर्माण व्यवसायी निर्माण कार्य छिटो सक्नुपर्ने दवावमा परेका छन् । हालसम्म पुल निर्माणको ७३ प्रतिशत काम सम्पन्न भएको निर्माण व्यवसायी उत्तरबहादुर भण्डारीले जानकारी दिए । १४ मिटर उचाइ तथा ४५ मिटर लम्बाइ र ८ मिटर ४० सेन्टी चौडाइ रहेको उक्त पुलको स्ल्याप ढलान तयारीको लागि अहिले २५ जना मजदुरहरु नियमित खटिरहेको निर्माण व्यवसायी भण्डारीले बताए ।

भ्याटसहित ६ करोड ७१ लाखको लागतमा २०८० साल पौष १४ गतेसम्म सम्पन्न गर्ने गरी २०७९ साल असार २३ गते ठेक्का सम्झौता भाएको उक्त पुल निर्माण सम्झौता अवधी गत पौषमा सकिएपछि पुनः ६ महिना म्याद थप गरी निर्माण कार्यलाई तीब्र पारिएको निर्माण व्यवसायी भण्डारीले बताए । वर्षाको समयमा खोलामा बाढी आएर पुनः क्षति गर्न सक्ने भएकाले आगामी जेष्ठ १५ गतेसम्म स्ल्याप ढलानको लागि निर्माण गरिएको डाइभर्सन खोलीसक्नु पर्ने भएकाले सोही गतिमा निर्माण कार्य भइरहेको पनि उनले बताए । निर्माण व्यवसायी भण्डारीले भने– आगामी जेष्ठ १५ सम्ममा पुलको स्ल्याप ढलानको लागि बनाइको डाइभर्सन खोली सक्छौ र यस वर्षको असारमा पुलमाथिबाटै गाडी गुड्छ । सो पुल निर्माणको जिम्मा सुनकोसी मेरिना जेभीले पाएको छ ।

२०७४ साल साउन १ गते राति परेको भीषण वर्षासँगै छतिउनी खोलामा आएको बाढीले सोही ठाउँमा रहेको पक्की पुल बगाएको थियो । छतिउनी खोलामा आएको बाढीले पुल बगाउनु साथै २ जनाको ज्यान समेत लिएको थियो भने कही मानिसहरु घाइते भएका थिए ।

बाढीले घर बगाएर ७५ वर्षीया लालकुमारी खत्रीको मृत्यु भएको थियो भने परिवारका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भएका थिए । छतिउनी खोला नजिकै इन्द्रबहादुर खत्रीको रोपाइँमा आएका मन्थली नगरपालिका गेलुका जयप्रकाश कार्कीको शव तामाकोसीको नदिको हलेदेमा फेला परेको थियो ।

प्रतिकृया

Add