कृषिलाई यान्त्रीकरण गर्न कृषि औजार वितरण

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले शुक्रवार मन्थली नगरपालिका अन्तर्गत जोन क्षेत्रका कृषकहरुलाई कृषि औजार प्रदान गरेको छ । जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको छ । कृषिमा यान्त्रीकरणको प्रवर्धन कार्यक्रम अन्तर्गत शुक्रवार जोन क्षेत्रका कृषकहरुलाई मिनिटिलर ३१, स्प्रेयर २७, डिजिटल तराजु ७ र सिकेचर २९ थान वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापले जानकारी दिएको छ ।

यस्तै बुधवार रामेछाप नगरपालिकाको जुनार जोन क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको थियो । रामेछाप नगरपालिकामा बुधवार जुनार जोन क्षेत्रका कृषकलाई मिनिटिलर ३५, वटा डिजिटल तराजु १७ वटा, सिकेचर ९६ वटा र स्प्रेयर ६५ वटा वितरण गरेको थियो । कृषिमा यान्त्रीकरणको प्रवर्धन गरी आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रुपान्तरण गर्ने उद्देश्यले कृषियन्त्र वितरण गरिएको परियोजना कार्यान्वयन इकाइ रामेछापको भनाइ छ ।

कृषिमा यान्त्रीकरणको प्रयोगबाट कम जनशक्तीबाट धेरै काम गर्न सकिने, छिटो, सहज उत्पादनमा वृद्धि भई व्यवसायीकरण गरी कृषिको माध्यमबाट आय आम्दानीमा वृद्धि गर्न सकिने परियोजनाको भनाइ छ । यसैगरी अघिल्लो हप्ता परियोजना कार्यान्वयन इकाइ रामेछापले बाख्रा जोनमा आवद्ध कृषि सहकारी, कृषक समूह, नीजि फर्म र कम्पनीलाई बोयर जातका पाठापाठी ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । परियोजनाले जोन तथा सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषि सहकारी, कृषक समूह, फर्म तथा कम्पनीलाई समेत वितरण गरेको थियो ।

परियोजनाले अघिल्लो साता जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामीछानेद्वारा बोयर जातका पाठापाठी तथा मिल वितरण गरेको थियो । उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरेको थियो । परियोजनाले जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत ३३ वटा कम्बाइन मिल, २० वटा डिस्क मिल र ८ वटा च्यापकटर वितरण गरेका थियो । बोयर जातका पाठापाठी तथा कृषियन्त्र दुबै ५० प्रतिशत अनुदानमा कृषकलाई प्रदान गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाले बोयर पाठापानी परकेजी १ हजार ९५ रुपैयाँमा खरिद गरी ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको थियो । त्यसैगरी कम्बाइन मिल परगोटा ३६ हजार ५ सय, डिस्क मिल २४ हजार ५ सय र च्यापकटर प्रतिगोटा ३३ हजार ५ सयमा खरिद गरी खरिद मूल्यको ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको परियोजनाले जानकारी दिएको छ ।

प्रतिकृया

Add