पालिका स्तरीय परीक्षामा डहु मावि उत्कृष्ट

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पालिका स्तरीय परीक्षामा डहु माध्यमिक विद्यालय उत्कृष्ट भएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजामा नमुना सामुदायिक विद्यालयका रूपमा रहको डहु मावि बेथानले एकलौटी कब्जा जमाएको हो ।

गाउँपालिकाले लिएको परीक्षाको टप १५ भित्र डहु माध्यमिक विद्यालयका १७ जना विद्यार्थी परेका छन् । पालिका स्तरीय परीक्षाफलबाट डहु मावि पुनः नमुना विद्यालयकै रूपमा स्थापित हुन सफल भएको छ ।
सुनापति गाउँपालिकाबाट यस शैक्षिक सत्रमा कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षामा कुल २ सय ३० जना विद्यार्थी सहभागी थिए । ती मध्ये डहु माविका प्रज्वल श्रेष्ठ ३।९७ जीपीए प्राप्त गरी पालिका प्रथम भएका छन् । त्यसतै सोही विद्यालयकी निमासङ लामा ३।९१ जीपीए ल्याएर दोस्रो तथा केविका श्रेष्ठ ३।८२ जीपीए ल्याएर तेस्रो हुँदै उत्तीर्ण भएका छन् ।

टप फिप्टीनको आठौँ स्थानमा डहु माविका फुर्साङ तामाङ र बाल मावि भिरकोटकी स्मृति तामाङले समान ३।७५ जीपीए प्राप्त गरेका छन् । उत्कृष्ट १२ औँमा डहु माविका ज्वाला मगर र जलदेवी मावि सुनापति–५ का सरमिष्ठा खड्काले समान ३।६९ जीपीए ल्याएका छन् ।

त्यस्तै १३ औँ स्थानमा पनि डहु माविकी आँचल पुरी, उत्सव लामा र बाल मावि भिरकोटका शिवहरि मानन्धरले समान ३।६८ जीपीए प्राप्त गरेका छन् । यसैगरी १५ औँ स्थानमा डहु माविका अमन सुनुवार र बाल माविकी विनीता मानन्धरले समान ३।५९ जीपीए प्राप्त गरेका छन् । ११ औँ स्थानमा डहु माविकै दुई जना छात्रहरू धिरज माझी र जेनिस भण्डारीले समान ३।७१ जीपीए प्राप्त गरेका छन् भने १५ मध्ये अन्य सबै स्थानमा डहु माविका विद्यार्थी रहेका छन् ।
डहु माविबाट कक्षा आठको परीक्षामा ४८ जना विद्यार्थी सहभागि भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले जानकरी दिए । जसमध्ये १७ जना विद्यार्थी टप १५ मा परेका छन् ।

डहु माविलाई दुर्गमको उत्कृष्ट सामुदायिक विद्यालय मानिन्छ । सो विद्यालयमा १९ भन्दा बढी जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । विद्यालयमा आवासीय कक्ष सञ्चालनमा छ । ४ सय ५० बढी विद्यार्थीले १२ कक्षासम्म अध्ययन गरिरहेका सो विद्यालयमा प्राविधिक तर्फ कम्प्युटर साइन्स पढाइ हुने गरेको छ ।

प्रतिकृया

Add