श्रीमतीबाट टाढा हुनुपर्दा, सोमारको पीडा

 शनिबार, बैशाख १, २०८१ | onlinenews
Share this

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिका वडा नम्बर ७ पातिङका सोमार तामाङ ४७ वर्षका भएका । सोमार तामाङको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा गरी ५ जना छन् । जेठी छोरीको विवाह भइसकेको र छोरा काठमाडौँमा पढ्न बसेका छन् । घरमा कान्छी छोरीको लागि आमा र बुवा दुवैको भूमिका निभाउनु परेको छ, सोमारले । उमेर बढ्दै गएपछि आफैलाई साहारा चाहिने बेला श्रीमतीको समेत साथ पाएका छैनन् उनले । एक्लै बस्नुपर्दा मन एकोहोरो भइरहने रहेछ उनले उनले अनुभव सुनाए ।

परिवारले बाँच्नका लागि गरिबीसँग जुध्नुपर्यो । आफै बैदेशिक रोजगारीमा जान एजेन्टले धेरै पैसा माग्ने भएको हुँदा श्रीमतीलाई कुवेतमा काम गर्न पठाउने निर्णय गरेका हुन् सोमारले । आजभोली भन्दा भन्दै श्रीमती कुवेत बस्न थालेको ९ बर्ष बितिसक्यो । मुस्किलले दुई वर्षमा साठी दिनको छुट्टीमा घर आउँछिन्, श्रीमतीको राम्रोसँग थकाई मर्न नपाउँदै फेरि फर्कनु पर्छ सोमारले सुनाए । सोमारलाई श्रीमती विदेशमा काम गर्न पठाएर बसीबसी श्रीमतीको कमाइ खाने भनेर गाउँलेले कुराकाटेको सुन्दा नराम्रो लाग्थ्यो । तर बाध्यताले आजभोली गाउँबाट म जस्तै धेरैको श्रीमती विदेशमा बस्न थालेका छन् । गाउँबाट सबै परदेश जाने भएपछि गाउँलेलाई पनि अरुका कुरा काट्नु कि आफ्नो घरको भ्वाङ टाल्नु भन्ने चिन्ता हुनेरहेछ उनी भन्छन् ।

सुरुसुरुमा श्रीमती बिदेश गएर कमाएपछि सोमारले पनि कमाएको पैसा सबै घरखर्च, ऋण तिर्न र मराउ पराउकै लागि खर्च गर्दथे । धार्मिक संस्कार खर्चिलो हुँदा पठाएको पैसा बच्ने अवस्था नै थिएन उनको । ऋण तिरी सकियो । गाउँमा हेलम्बु गाउँपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट विदेशबाट पठाएको पैसा बुझिलिनेका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा चल्ने भयो । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा गाउँमै चल्ने कक्षामा आउन उनलाई पनि गाउँलेबाट खबर आयो । उनलाई कक्षामा बस्नुपर्छ भन्ने लागेकै थिएन । बैठकमा के हुनेरहेछ भन्ने लागेर सहभागी भएको थिएँ उनले सुनाए ।

को–को आउँदा रहेछन् भनी हेर्न गएका सोमार अन्ततः कक्षामा सहभागी भए । कक्षामा बिदेश जानेले बगाएको पसिनाको मूल्यको बारेमा छलफल हुने कुराले मलाई पनि आकर्षित गर्यो उनी भन्छन् । कक्षामा बस्न थालेपछि आफूले थाहा नपाएका धेरै कुरा जान्ने मौका मिलेको सोमारले बताए ।कक्षामा जानुअघि बचत गर्ने खाता समेत थिएन सोमारको । कक्षामा बचतको महत्वको बारेमा बुझेपछि बचत गर्न सुरु गरेँ उनले भने । हरेक मानिस सुखमा बस्न चाहन्छ । परिवारलाई खुसी बनाउन चाहन्छ । गाउँमा सवैभन्दा धनी बन्न चाहन्छ । तर आफूले कमाएको पैसा खर्च गर्न र भविष्यको लागि सञ्चित गर्न नसक्दा मानिसको धनी बन्ने रहर अधुरै हुने रहेछन् । आफू धनी बन्ने या गरिब त्यो मानिसको आफ्नै व्यवहारमा भरपर्ने रहेछ भन्ने ज्ञान पाए सोमारले आफै कक्षामा सभागी भएपछि ।

कक्षामा बसेपछि सोमारलाई आफूले कमाएको पैसाको भन्दा बिदेशबाट आएको पैसाको धेरै माया लाग्छ । आफूले कमाएको पैसामा श्रम र पसिना मात्र मिसिएको छ । तर बिदेशबाट आएको पैसामा श्रम, पसिना र रगत नै मिसिएको छ, उनी भन्छन् । सोमार कक्षामा बस्नु अघिसम्म श्रीमतीले पठाएको पैसाबाट घर चलाउथे । छोरालाई पढाउन, गाउँमा मराउ पराउदेखि पाइला पाइलामा हुने खर्च समेतमा श्रीमतीको कमाइको भर पर्थे । अहिले उ आफैले मेलापात गरेर बचाएको पैसाले तरकारी खेतीका लागि टनेल बनाएका छन् । उनले टनेलमा डल्ले खुर्सानी, गोलभेडा, काउली लगाएका छन् । टनेल बनाउनु अघि पनि उनले तरकारी बिक्रीबाट राम्रो आम्दानी लिए । उनले बारीमा काँक्रो, लौका र फर्सी फलाएर घरमै आउने तरकारी व्यापारीहरुलाई बिक्री गर्छन् ।

सोमारको गाउँ मेलम्ची बजारबाट धेरै टाढा छैन । घरमा आफूले तरकारी फलाउन सके मेलम्चीका व्यापारी घरमै आएर तरकारी लिएर जान्छन् । अहिले मेरो पौरख गर्न सक्ने बेला हो । यतिबेला श्रीमती पनि साथमा हुने हो भने श्रीमतीले बिदेशमा कमाउने पैसा म यही कमाउन सक्ने रहेछु भन्ने हिम्मत समेत बढेको छ उनले भने । मैले श्रीमतीसँग पनि सल्लाह गरिसकेको छु । श्रीमतीले पनि मेरो कुरामा हो मा हो मिलाएकी छिन् । उनले पनि घरदेश फर्कने चाहना राखेकी छिन् । उनी गाउँ फर्किएपछि हामी दुबै मिलेर तरकारी खेती बढाउने सोचमा छौँ । यसरी निकट भविष्यमा हामी दुबैलाई तरकारी खेती व्यवसायले एक अर्काको साथी बनाउने छ । ९ बर्षदेखि श्रीमतीबाट एक्लिएर बस्नु भएका सोमारलाई वित्तीय सक्षरता कक्षा कमाउन बाटो देखाउने गुरु बनेको छ ।

सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

Share this

प्रतिकृया

Add