२०८१ को पहिलो दिन रामेछापमा ४ दुर्घटना

 शनिबार, बैशाख १, २०८१ | onlinenews

 

१) घरमा आगलागी हुँदा ९ लाख क्षति

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ देविटारस्थित कमलराज गिरीको घरमा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गिरीको इटाले बनेको जस्ताको छानो भएको ४ कोठा रहेको घरमा आगलागी हुँदा २ वटा कोठा पूर्णरुपमा क्षति भएको छ । उक्त घरमा दोलखा जिल्लाको मेलुङ गाउँपालिका–५ का लेबर काम गर्ने खड्कबहादुर श्रेष्ठ र रामबहादुर खड्का बस्दै आएका थिए । उनीहरुले खाना पकाउने क्रममा ग्याँसको पाइप छुट्टिएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आगलागी हुँदा घरको २ वटा कोठा पूर्णरुपमा क्षति भएको, काठ र जस्तापूर्ण रुपमा क्षति भएको, ५ वटा ढोका र ४ वटा झ्याल, ६ वटा खाट जलेको प्रहरीले जनाएको छ । त्यस्तै भाँडावर्तन, अन्नपात, तेल १ कार्टुन गरी अन्दाजी ९ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आगलागी भएको जनकारी आउन साथ प्रहरी टोली घटना स्थलतर्फ गएको थियो । आगो प्रहरीको सहयोगमा नियन्त्रण लिइएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२) घरको भरण्डाबाट लडेर महिला घाते   

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–२ टगमका एक महिला घरको बरण्डाबाट लडेर घाइते भएकी छन् । आफ्नै घरमा पालेको कुखुरा स्यालले लगेपछि स्याललाई लखेट्न भनि उठ्ने क्रममा एकतले घरको बरण्डाबाट लडी गोकुलगङ्गा–२ की ३६ वर्षीय सुनिता कार्की घाइते भएकी हुन् । बरण्डाबाट लडेकी कार्कीको टाउकोमा चोट लाग्नुका साथै नाकबाट रगत बगिरहेको अवस्था मध्यम जिरी अस्पताल दोलखा लगिएको थियो । दोलखामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

३) खाँडादेवी दर्शन गरी फर्केको भ्यान दुर्घटना

रामेछाप जिल्लाको खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा ई.भी.भ्यान दुर्घटना भएको छ । खाँडादेवी मन्दिर दर्शन गरी बनेपातर्फ जाँदै गरेको बा ४ ख २०६० नम्बरको ई.भि. भ्यान ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
दुर्घटनामा परी काभ्रे जिल्ला बनेपा नगरपालिका–१० बनेपाकी वर्ष ३७ कि सरिता दाहालको बायाँ हात भाँचिएको छ । सोही ठाउँका वर्ष ५६ का हरीशङ्कर दाहालको बायाँ हात भाँचिएको छ भने बिन्दा तिमल्सिनाको अगाडीको ३ वटा दाँत भाँचिनुका साथै अनुहारमा समेत चोट लागेको प्रहरीले जनाएको छ । सोही ठाउँका आर्सु थापाको कम्मरकोबिच भाग नचल्ने भएको प्रहरीले जानकारी दिएको छ ।
सोही भ्यानमा सवार सरिता थापा, सुमित्रा थापा, समिर दाहाल, अनुसा के.सी. धुर्व खतिवडा र प्रगती पाण्डेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि धुलीखेल अस्पताल काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा परेको भ्यान सडकबाट करिब ५० मिटर तल गरेको थियो । दुर्घटना भए लगत्तै प्रहरी चौकी बेथान सित्खाबाट प्रहरी हवल्दार नानीबाबु थापाको कमाण्डको प्रहरी घटनास्थलमा पुगेको थियो । सवारी चालक ललितपुर जिल्ला गोदवारी नगरपालिका–१ गोदवारीका वर्ष ४३ का सागर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

४) ५५ वर्षीय पुरुषद्धारा आत्महत्या

 रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिका–३ सुर्केका ५५ वर्षीय पदमबहादुर सुनुवारले आत्महत्या गरेका छन् । सुनुवारले आफ्नै घर नजिकै रहेको गोगनको रुखमा नाइलनको डोरीले घाँटीमा पासो लगाइ झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
सुनावारले रुखमा झुण्डिएर आत्महत्या गरेको जानकारी पाए लगत्तै प्रहरी चौकी गोकुलगङ्गाबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटना स्थलको मुचुल्का गरी घटनाको थप अनुसान्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक दिनेश थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add