पुनिताको यात्रा, घर धन्दादेखि उद्योगपतिसम्म

 आइतवार, बैशाख ९, २०८१ | onlinenews

 

सिरहा- घरधन्दा र चुलो चौकामा मात्र व्यस्त हुने पुनिता सामाजिक कामका लागि कहिल्यै अघि सर्न पइनन् । समाजिक कामका लागि अघि बढ्न नपाएपछि आफू समाजमा चिनिन पनि पाइनन् । तर उनलाई सँधै समाजको लागि केहि फरक र राम्रो काम गरौँ भन्ने लागिरहन्थ्यो । सिरहा जिल्लाको सिरहा नगरपालिका–८, महिसोथा बस्ने पुनिता देवीको घरमा घरमा हजुरआमा, सासु, सुसुरा जेठाजु र छोराछोरी गरी ८ जनाको परिवार छ । उनी घाम उदायदेखि घाम नअस्ताएसम्म घरधन्दामा जुट्छिन् । उनको श्रीमान ५ वर्षदेखि कतारमा काम गर्दै आएका छन् ।

घर छोडेर कतै जान नपाउने पुनिताले सिरहा नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन कार्यक्रमले गाउँमा वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाको बारेमा थाहा पाइन् । उनको गाउँमा डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा संञ्चालन हुन लागेको कक्षाको लागि पहिलो भेला भयो । पुनिता पनि भेलामा गाइन् । भेलामा जाँदा पुनिता सासुसँगै गएकी थिइन् । भेलामा गएपछि उनले कक्षामा बस्न आमालाई पठाउनु भन्दा आफै बस्न उपयुक्त हुने कुरा थाहा पाइन् । कक्षामा सहभागी हुने कुरा उनले कतारमा काम गर्ने श्रीमानलाई सुनाइन् । पुनिताको कुरा सुनेपछि श्रीमानले उनलाई कक्षामा जान अनुमति दिए । गाउँमा चलेको कक्षामा पुनिता नियमित जान थालिन् । कक्षामा जान थालेपछि पुनिताले धेरै कुरा सिक्न पाइन् । उनी कक्षामा बसेर गरेको छलफलको बिषयहरु घरमा अनि बिदेशमा रहेका श्रीमानलाई पनि सुनाउथिन् । कक्षाले पुनिताको बानी फेरिए । फेरिएको श्रीमतीको व्यवहार देखेर श्रीमान दङ्ग भए । श्रीमानको व्यवहारले उनलाई झन् धेरै हौसला मिल्थ्यो ।

कक्षामा छलफल भएपछि पुनितालाई बिदेशको कमाई दिगो कमाई होइन भन्ने लाग्यो । आफूले जानेको कुरा श्रीमानलाई सुनाइन् । श्रीमानले उनको कुरालाई सजिलै स्वीकार गरे । कक्षामा जान थालेको छोटो समयमा नै श्रीमतीको व्यवहार देखेर श्रीमान छक्क परे । उनले कक्षामा सिकेका कुराहरु श्रीमानलाई सुनाएर घरदेशमा नै कमाउनु पर्छ भनी सल्लाह दिइन् । घरपरिवारमा सल्लाह गर्दा पनि बिदेश सँधै बस्नु राम्रो होइन भने पुनिताको परिवारले ।
कक्षामा गएपछि पुनितालाई बचतको बिषयमा छलफल हुँदा मुसा गुरुको कथा चित्त बुझ्यो । मुसाले खानका लागि भएकै समयमा बचत गर्छ भने हामीले भविष्यका लागि किन सञ्चित नगर्ने ? उनमा परिवर्तन आयो । उनले बचत गर्न सुरु गरे । मानिस आफ्नै व्यवहारले आफै गरिव हुन्छ र धनी बन्नैका लागि देश परदेशमा दौडधुपमा निस्कन्छ भन्ने लाग्यो पुनितालाई । कमाउन सकेकै बेलामा बचत गर्न सकेमात्र भविष्य सुरक्षित हुने रहेछ भन्ने कुरा कक्षामा बसेपछि थाहा पाएँ पुनिता भन्छिन् ।


वित्तीय साक्षरता कक्षामा उनले वित्तीय लक्ष्य बनाउन सिकिन् । फजुल खर्च कटौती गरी आम्दानी र खर्चको हिसाब राख्न सके परिवारमा हुने दैनिक र महिनाभर हुने खर्चको बारेमा थाहा पाउन सजिलो हुने कुरा समेत थाहा पाएकी छन् पुनिताले । अझ आफैले सानो कमाउनका लागि व्यवसाय गर्न सके खानकै लागि बिदेशको भर गर्नु नपर्ने रहेछ भनी भन्ने पनि बुझ्न पाइन उनले । उनी श्रीमानलाई कतारबाट फर्काउन कै लागि भए पनि व्यवसाय गर्ने सोचमा पुगिन् ।
उनले कक्षामा व्यवसायिक योजना बनाउने तरिका जानिन् । उनलाई व्यवसायीक योजना बनाउने तरिका गज्जब लाग्यो । किनकी व्यवसायमा कति लगानी हुन्छ ? र कति नाफा बस्छ भन्ने कुरा पहिल्यै थाहा पाउन सकिन्थ्यो । त्यही योजनाबाट प्रभावित भएपछि हामी दिनभर घरधन्दामा मात्र सिमित हुने महिलाले पनि कमाउनका लागि केहि गर्न सकिने रहेछ भन्ने बिश्वास पलायो । बिश्वासले आँट बढ्यो उनले भनिन् ।

पुनिताको श्रीमानको कतारको भिसाको म्याद सकिन लागेको थियो । उनलाई श्रीमान परदेश नगए हुन्थ्यो जस्तो लागेको थियो । उनले सोचेजस्तै भयो । श्रीमान कतार नफर्कने गरी वैशाख महिनामा घर फर्किए । श्रीमान कतारबाट फर्किएपछि श्रीमानसँग सल्लाह गरिन् । केहि समय बजारको अध्ययन गरिन् । श्रीमान कतारमा लुगाधुने सरफ बनाउने कारखानामा काम गर्थे । आफूसँग सीप भएपछि श्रीमानले पनि सरफ बनाउने उद्योग खोल्ने कुरा गरे । तर उनीहरुका लागि सरफ बनाउने काम उनले बनाएको योजना जस्तो सजिलो थिएन । उनीहरुलाई उद्योग खोलिहाले पनि डुबिन्छ कि भन्ने डर पनि थियो । बिदेश बसेर कमाएको पैसा बालुवामा पानीजस्तै बन्यो भने के होला ? भन्ने प्रश्नले बेचैन बनायो । तर उनीहरु सफल हुने कुरामा ढुक्क थिए । किनकी व्यवसायमा जोखिम हुने कुरा पुनिताले कक्षामा जानेकि थिइन् । पुनिता दम्पत्तीले सरफ उद्योग खोल्नका लागि पूरा गर्नुपर्ने कानुनी बाटो सोधखोज गरे । उनीहरुले व्यवसायिक योजना बनाए । कानुनी प्रकृया पूरा गरी योजना अनुरुप उद्योगको लागि चाहिने कच्चा प्रदार्थ, सरफ राखेर थैलो बनाउने उपकरण भारतबाट किनेर ल्याए । यसरी उनीहरुले आफैसँग भएको पैसा, जीवन बिमा कम्पनीमा आफैले जम्मा गरेको पैसाबाट एक लाख पचास हजार ऋण र सहकारी सहकारी संंस्थाबाट एक लाख गरी १० लाख रुपैयाँ लगानी गरी गएको भाद्र महिनाबाट सरफ बनाउने उद्योग चलाउन थाले ।

अहिले उनीहरुको उद्योगको उत्पादन सोचेजति बिक्री भइरहेको छ, उद्योगबाट दैनिक २० देखि ४० केजी सरफ बिक्री हुन्छ । घरघरमा लगेर आफ्नो उत्पादन बिक्री गर्न आफैं सहभागी भएको वित्तीय साक्षरता कक्षाका २ जना सहभागीलाई समेत महिनामा १५ दिनको रोजगारी दिएका छन् पुनिता दम्पतीले । उनीहरुको उद्योगमा काम गर्ने १ जना कामदारले महिनाको ७ हजार तलब पाउँछन् भने दैनिक ५ सय रुपैयाँ पाउने गरी दैनिक १ जनालाई घरघरमा लगेर सरफ बेच्न पठाउछन् । कक्षाका २ जना सहभागीहरु पालैपालो दिन बिराएर घरघरै सरफ बोकेर जानुहुन्छ पुनिता भन्छिन् । यसरी दैनिक रुपमा उत्पादन भइरहेको सरफ बेचेर पुनिता दम्पत्तीले उत्पादन र बिक्रीका लागि गरेको लगानी सबै कटाएर महिनाको १५ देखि २० हजार रुपैयाँ आम्दानी गरिरहेकी छन् ।

पुनिता दम्पत्तीलाई आफ्नो मालिक आफैं बन्न पाउँदा र आफैले सिर्जना गरेको उद्योगमा अरुलाई समेत काम दिन पाउँदा खुसी लागेको छ । आफूले सञ्चालन गरेको उद्योगमा श्रीमान व्यस्त हुन्छ भने पुनिताले नगरपालिकाको लघु उद्यम कार्यक्रममा सहभागी भएर गुडिया बनाउने सीप सिकेकी छन् । अब पुनितालाई गुडिया बनाउने उद्योग खोल्ने चाहना छ । आफूले गुडिया बनाउने उद्योग खोल्न सके आफ्नो आम्दानी बढ्ने कुराले उत्साहित बनाएको छ, पुनितालाई । यसरी कमाउनका लागि ५ बर्षसम्म खाडीमा दुःख गरेर फर्किएका पुनिताका श्रीमान घरमा नहुँदा घरको चुलोचौकामा मात्र दिन बिताउने पुनिताका लागि वित्तिय साक्षरता वरदान नै भएको छ । अहिले पुनिता दम्पत्ती कमाउन चाहनेहरुका लागि घरदेशमा नै परदेश रहेको छ भन्ने उदाहरण बनेका छन् । उनीहरु आफूले उत्पादन गरेको सरफको बजारबाट राम्रो माग आएमा थोक बिक्रेता बन्ने सोचमा छौँ, पुनिताले आफ्ना योजना सुनाइन् । उनलाई कक्षामा सहभागी गराएर श्रीमान फर्काउन मद्दत गर्नेलाई धन्यबाद दिन मन छ । अनि नगरपालिकाले पनि आफूले गरेको उद्योगमा केहि न केहि सहयोग गरिदियोस् जस्तो लाग्छ पुनीतालाई ।

सिरहा जिल्लाको सिरहा नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *