उमाकुण्डमा सामाजिक परीक्षण

 मङ्लबार, जेष्ठ ८, २०८१ | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थाहरुमा सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा सामाजिक जवाफदेहिता नेटवर्क (सान नेपाल) रामेछापको प्राविधिक सहयोगमा वर्थिङ सेन्टर भएका स्वास्थ्य चौकीहरुमा सामाजिक परीक्षण गरिएको हो ।

स्वास्थ्य संस्थाहरूलाई आम नागरिक विशेषगरी महिला, गरीब, जोखिममा रहेका, पिछडिएका एवम् बन्चितिमा परेका समुदाय तथा दुर्गम क्षेत्रका नागरिकप्रति उत्तरदायी र सम्वेदनशील भई उनीहरूको चासो, आवश्यकता र हितप्रति सम्वेदनशील र जवाफदेही बनाउने उद्देश्यले सामाजिक परीक्षण गरिएको हाो । सामाजिक परीक्षणका क्रममा आमा सुरक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार सेवा, निःशुल्क औषधी वितरण, एकीकृत नवजात शिशु तथा बाल स्वास्थ्य व्यवस्थापन, परिवार नियोजन, खोप सेवा, पोषण कार्यक्रम र नसर्ने रोगहरू जस्ता विषयमा छलफल गरिएको थियो । यसका अतिरिक्त स्वास्थ्य संस्थाको व्यवस्थापन, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, निःशुल्क स्वास्थ्य तथा प्रसूति सेवा लगायत अन्य सेवा वापत सरकारले उपलब्ध गराउने रकमको उपयोग, स्वास्थ्य संस्था सञ्चालन हुने समयावधि, नागरिकको गुनासाहरू सुन्ने परिपाटी जस्ता विषय समेत समेटिएको सामाजिक परीक्षक तथा सान नेपालका महासचिव तिलक कार्कीले जानकारी दिए ।


कार्कीकाअनुसार सामाजिक परीक्षणका क्रममा मानव स्रोत व्यवस्थापन, स्वास्थ्यकर्मीहरूको व्यवहार, निर्मलीकरण, सरसफाई, ज्येष्ठ नागरिक एवम् अपाङ्गमैत्री र लैङ्गिक संवेदनशीलता, भौतिक संरचना, औषधी एवम् औजारहरूको पर्याप्तता र उपयोगको अवस्थाका विषयहरुमा छलफल भएका थिए ।


पालिकाको स्रोतबाट सामाजिक परीक्षण गरी सुशासनमा टेवा पुगेको उमाकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अभिजित सुनुवारले बताए । स्वास्थ्य संस्थाले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि गरिएका प्रयासबाट प्राप्त नतिजाहरु केलाउन सामाजिक परीक्षण गरिएको संयोजक सुनुवारको भनाइ थियो । सामाजिक परीक्षण प्रतिवेदनमा उल्लिखित कार्ययोजनालाई प्राथमिकताका आधारमा स्थानीय तहको योजना तथा बजेट प्रक्रियामा समावेश गराउने र स्थानीय तहको परिषद्बाट स्वीकृत गराउन भूमिका खेल्ने उपाध्यक्ष सावित्रा सुनुवारले बताइन् । उपलब्ध स्वास्थ्य सेवाहरूमा सर्वसाधारणको पहुँच, सेवाको गुणस्तर, प्रभावकारिता र स्वास्थ्य संस्थाको जवाफदेहिताको बारेमा दिइएको राय, सुझाव र प्रतिक्रियाहरूलाई पालना गर्न र गराउन आफू लागि पर्ने समेत उपाध्यक्ष सुनुवारले प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिकृया

Add