माकादुम स्वास्थ्य चौकीद्धारा ५७ जनालाई सम्मान

 आइतवार, जेष्ठ २७, २०८१ | onlinenews
Share this

 

सन्तोष ढुङ्गेल


रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका–६ मा रहेको माकादुम स्वास्थ्य चौकीले ५७ जना नागरिकलाई सम्मान गरेको छ । आइतवार एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकीले वडा नम्बर ६ अन्तर्गतका २६ जना ज्येष्ठ नागरिक, १७ जना अपाङ्गता भएका व्यक्ति, ५ जना स्वास्थ्यकर्मी र ९ जना स्वास्थ्य स्वयम्सेविका गरी ५७ जनालाई सम्मान गरेको हो । खाँडादेवी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा उक्त सम्मान गरिएको खाँढादेवी गाउँपालिका पालिका स्वस्थ्य शाखाकी अहेव तारादेवी खड्काले जानकारी दिइन् ।

पालिकाले समेत गर्न नसकेको काम वडाले गरेको भन्दै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकले खुसी व्यक्त गरेका छन् । वडाले यस्तो कार्यलाई निरन्तरता दिनु पर्ने ज्येष्ठ नागरिक मानकुमारी खत्रीले बताइन् । बुढेसकालमा पनि सम्मान पाइयो स्थानीय सरकार रहेछ भन्ने अनुभूति भएको खत्रीको भनाइ छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरबराज केसीले पालिका भित्रका ९ वटा वडा मध्ये ६ नम्बर वडाको स्वास्थ्य चौकीले उदाहरणीय काम गरेको बताए । आगामी वर्ष नीति तथा कार्यक्रममा नै ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

वडामा शिक्षा, स्वास्थ्य लगायत आम नागरिकसँग सरोकार राख्ने पूर्वाधारको विकासमा आफू निरन्तर लागिपरेको वडा नम्ब ६ का वडाध्यक्ष नारायण कार्कीले बताए । स्वास्थ्य क्षेत्रमा खासै समस्या नभएपनि शिक्षा क्षेत्रमा भने जटिल समस्या देखा पर्न थालेको अध्यक्ष कार्कीको भनाइ छ । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिले जनप्रतिनिधिभन्दा माथि रहेर काम गर्ने गरेको र जनप्रतिनिधिलाई बेवास्ता गर्ने गरेकोले समस्या बढ्दै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । आफूलाई कुनै आर्थिक लोभ नभएको र आफ्नो कार्यकाल भरी नागरिकको सेवामा निस्वार्थ रुपमा लाग्ने पनि अध्यक्ष कार्कीको भनाइ छ ।

 

Share this

प्रतिकृया

Add