रामेछाप अस्पतालका कर्मचारीद्वारा सामूहिक राजीनामाको चेतावनी

 मङ्लबार, जेष्ठ २९, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले कर्मचारीहरुलाई मानसिक तनाव दिएको भन्दै कर्मचारीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । रामेछाप अस्पतालमा केही महिनाअघि मेडिकल सुपरिटेन्डेन्ट भएर आएका डा. अच्युत पौडेल विरुद्ध अस्पतालका कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित कार्यालय सहयोगीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् ।
मेसु डा. पौडेलले धेरैजसो कर्मचारीहरुलाई मानसिक तनाव दिने, कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने, वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुःख दिने, कर्मचारीको आफनो पदभन्दा फरक किसिमको काम गर्न लगाउने, काम गरिरहेको समयमा ध्यान अन्यत्रै केन्द्रित हुने खालको काम दिने गरेको कर्मचारीको आरोप छ ।
अस्पतालमा कार्यरत ४० जना कर्मचारीहरुले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई काम गर्ने वातावरण नभएको भन्दै पत्र पठाएका छन् । उनीहरुले पत्रमा मेसु डा. पौडेलले पालो गरेर खाजा र खाना खान जाँदा नजानु भन्ने गरेकोे समेत उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘सीमित आफूलाई मन परेका कर्मचारीलाई प्राथमिकता दिने गरेकाले हामी कर्मचारीहरुलाई अहिलेको अवस्थामा काम गर्ने मानसिकता नभएको हुनाले मेसु डा. पौडेललाई तत्काल कारबाही गरी हामी निस्वार्थ भावनाले काम गर्ने कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाइदिनुहुन अनुरोध गर्दछौँ ।’
अस्पतालका कर्मचारीहरुले यदि काम गर्ने उचित वातावरण नबनेमा थप आन्दोलनमा जाने र सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । साथै अस्पतालका कर्मचारीहरुले जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले अस्पतालमा प्रत्यक्ष रुपमा हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । साह अपरेसन कक्षमा जाने र बेलुका वार्डमा राउन्डमा पनि सधैँजसो आउने गरेको र आफूहरुलाई काम गर्न असहज भएको कर्मचारीहरुको भनाइ छ ।
स्टाफ नर्स स्मृति थापा मगरले अस्पतालमा नयाँ मेसु आए लगतै आफूहरुले राम्रोसँग काम गर्ने वातावरण नपाएको बताइन् । उनले मेसुले अस्पतालमा जिम्मेवारी सम्हालेयता आफूहरु मानसिक तनाव लिएर काम गर्दै आएको बताइन् । अस्पतालमै कार्यरत अर्की स्टाफ नर्स शिखा हायूले पालो गरेर खाजा र खाना खान जाँदा समेत मेसुले नजानु भन्ने गरेको बताइन् । खाना र खाजा पनि नखाएर हामीले कसरी काम गर्न सक्छौँ ? उनले भनिन् ।
अस्पतालका मेसु पौडेलले भने कर्मचारीले आफूलाई नचाहिँदो आरोप मात्र लगाएको बताए । आफूलाई लगाइएको आरोपको खण्डन गर्न उनले चुनौती समेत दिए । आफू नवौँ तहको विशेषज्ञ डा.समेत रहेको भन्दै उनले यो आफूलाई अस्पतालबाट हटाउने षड्यन्त्र मात्रै रहेको बताए ।
अस्पतालमा करारको कर्मचारीहरु धेरै रहेको र मेसुले असारदेखि करारको सबै कर्मचारी हटाउँदै छ भन्ने भ्रम छरेर सुनियोजित रुपमै यस्तो कामहरु भएको मेसु डा.पौडेलको भनाइ छ । आफूभन्दा माथिल्लो तहको कार्यालय प्रमुख आउँदा निमित्त मेसु डा.केशव श्रेष्ठले ठाउँ खाली गर्न नसकेको उनको आरोप छ । निमित्त मेसु श्रेष्ठसँग काम गर्न नसक्ने उनले बताए ।
रामेछाप अस्पतालका निमित्त मेसु डा.केशव श्रेष्ठले नेपालभरिका १५ वेडका अस्पतालहरुमध्ये उत्कृष्ट भएको रामेछाप अस्पतालमा यस्तो हुनु दुःखद भएको बताए । विभिन्न सेवाहरु थप भएर विशेषज्ञ चिकित्सकसहित सेवा प्रवाह गरिरहेको अस्पतालमा यस्तो कुराहरुले सेवाग्राहीमा नकारात्मक सन्देश जाने उनको भनाइ छ । मेसु डा.पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको उनले बताए । मेसु पौडेलसँग सबै कर्मचारी रुष्ट रहेको पनि उनको भनाइ छ ।
अस्पतालका मेसु डा. पौडेल र निमित्त मेसु डा. श्रेष्ठबिचको जुँगाको लडाइका कारण यो समस्या सिर्जना भएको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताए । आफूहरु मन्त्रालयसँग छलफलमै रहेको अध्यक्ष पाख्रिनले जानकारी दिए । एक÷दुई दिनभित्रमै समस्याको समाधान निस्कने उनको भनाइ छ ।

Share this

प्रतिकृया

Add