श्रीमानको वैदेशिक यात्राले खोसिएको रीमाको खुसी फर्कियो यसरी

 आइतवार, असार ३, २०८१ | onlinenews
Share this

 

महोत्तरी– “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी” पैसा हुनेलाई समस्या पर्दा पनि सहयोग गर्ने धेरै हुन्छन् । नहुनेलाई कस्ले दिने ? बिदेश गएर कमाएर तिर्छु भन्दा पनि साहुले बिश्वास गर्दैनन् । नातागोता, आफन्त र साथीभाई त पैसाले राख्ने सम्बन्ध हो जस्तै लाग्छ रीमा रामलाई ।

महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नंम्बर २ निगौल राम टोल बस्ने २७ बर्षकी रिमादेवी रामको परिवारमा ३ छोरा १ छोरी र श्रीमान श्रीमती गरी ६ जनाको परिवार छ । सम्पत्तीको नाममा सासु शसुरासँग भिन्न हुने बेला पाएको ग्वालीजस्तो कोठा, खाना पकाउनका लागि आँगनको एकछेउ र अंशको नाममा पुर्खौली घर भएकोे ६ धुर जग्गा । त्यो बाहेक न त कुनै काम न कुनै कमाई । त्यहीमाथि समाजले लाइदिएको कथित तल्लो जाती भनेर कसले काममा लगाउने ? कहिले कँहि बाहिरको काम पाइहाले पनि खाएरै सक्न्थ्यिो; रीमा भन्छिन् ।

रीमालाई जोइपोइको भन्दा छोराछोरीको बढि चिन्ता लाग्थ्यो । परिवारमा के खाउँ र के लाउँ भन्ने अवस्था थियो । आफू त जस्तो खाएनी जे लाएनी भो केटाकेटी त हुन् अरुले खाको लाको देख्दा पनि मलाई चाहियो भनेर ढिपी गर्थे । छोराछोरीको कुनै पनि चाहना पूरा गर्न नसक्दा रीमादेवि र उनका श्रीमान जितेन्द्र महरालाई चिन्ता लाग्थ्यो । “अचानोको पीर खुकुरीले जान्दैन”, भने झैं भोक र अभावमा दैनिकी चलाउनु पर्दाको पीडा अझै उनको आँखा वरिपरि घुमिरहन्छ । काम गर्न जाउँ के गर्ने र कहाँ जाने ? लगानी गरौं साथमा पैसा छैन । बिकल्प केहि नभएपछि बिदेश जाने निर्णय लिए, रीमाका श्रीमान जितेन्द्र महराले ।


रीमाका श्रीमानसँग बिदेश जान लाग्ने पैसा थिएन । हुनेले नदिएपछि गाउँको साहुको घरमा पैसाको लागि हात पसारे । तर साहुले भिन्न हुँदा पाएको घर सहितको ६ धुर घडेरी बन्धकी दिए मात्र ब्याजमा पैसा दिने भन्ने प्रस्ताव राखे । “मर्नु भन्दा बौलाउनु निको” भने झैं रीमा दम्पत्तीले भएको सबै अचल सम्पत्ती बन्धकी राखेर सयकडा ३ बुझाउने शर्तमा ३ लाख रुपैंयाँ ऋण लिए । साहुबाट लिएको ऋणबाट मेनपावरलाई बुझाएर बाँकीको किनमेल गरे । घरमा पनि केहि पैसा छोडेर कामका लागि साउदी गए । श्रीमान साउदी पसेपछि रीमाले सुन्दर जीवन कल्पना गरेकी थिइन् । छोराछोरीको लागि एक्लो अभिभावक बनेकी रीमालाई कामको बोझ थपियो । तैपनि श्रीमान कमाउन परदेश पस्दा देखेको मन सुन्दर सपनाले उनलाई एक्लो पारेन । कमाउन साउदी अरब पसेका श्रीमानको हातमा काम गर्ने सीप थिएन । हातमा सीप नभएपछि भनेजस्तो काम र सोचेजस्तो दाम पनि पाएनन् । दाम नभएपछि साहुबाट लिएकोे ऋणमा व्याज थपिँदै गयो । बिदेश जाँदा समेत ब्याज थपिएको ऋण तिर्ने अवस्था बनेन । ५र७ महिना त श्रीमानले घरखर्चका लागि १० देखि १२ हजार रुपैंया मात्र घरमा पठाउन सक्थे । त्यही श्रीमानले पठाएको पैसाले नुनदेखि छोराछोरीको खर्च समेत धान्नुपर्ने बाध्यता थियो रीमालाई । रीमाले श्रीमान बिदेश गएपछि देखेका सुन्दर सपना भत्किए । कहिले काहीँ त बिहानको खाना खाँदा बेलुका के खाने भन्ने हुन्थ्यो र छिमेकीहरुकोमा ज्यालामा काम गरेका ति दिन सम्झँदा रिमा अहिले पनि भक्कानिन्छन् । उनी र उनका श्रीमानलाई तीन लाखको साँवा ब्याज तिरी सक्न ३ बर्ष लाग्यो ।

पैसा र धन सम्पति हुँदा मात्र सबै आफ्ना हुने रहेछन् । आफूसँग सम्पत्ती छैन भने दुःख पर्दा कसैबाट सहयोग नपाइने रहेछ रीमादेवीले सुनाइन् । दुःखले श्रीमानले साउदीमा ३ बर्ष काम गरेर कमाएको पैसा ऋण तिर्न र घर खर्चमा नै सिधिन्थ्यो । छोराछोरी बढ्दै गए छोराछोरीको पेट बढ्दै गएपछि साउदीको कमाइले परिवार चल्न छाड्यो । ३ बर्ष साउदीमा दुःख गरी कमाई हुने अर्को देश जाने सपना देखेर श्रीमान गाउँ फर्किए, रीमाको श्रीमान ।
श्रीमान घर फर्केपछि रीमाले घर चलाउने उपाय खोज्न श्रीमानसँग सल्लाह गरिन् । धेरै मेनपावर कम्पनी धाए । मेनपावर कम्पनीबाट साउदीको राम्रो कम्पनीमा नेपाली कामदारको माग भएको कुरा थाहा पाइन् । पहिले साउदीमा नै काम गरी फर्किएका रीमाका श्रीमान साउदीको भाषामा दोहोरो कुरा गर्न सिपालु भइसकेका थिए । भाषाको कारण जितेन्द्रले साउदीमा महिनामा ७० हजार कमाउने काम पाए । अहिले रीमाका श्रीमानले त्यही कम्पनीमा काम गर्न सुरु गरेको ८ बर्ष बितिसक्यो । उनलाई कम्पनीले बर्षको एक चोटि बिदामा घर आउन पनि दिन्छ । काम र दाम दुबै राम्रो भएकोले अझै २ बर्ष गाउँ नफर्कने सोचेका छन्, रीमाका श्रीमानले ।

परदेशको यात्रा, परदेशीको परिवार अनि परदेशीको घर व्यवस्थित गर्न गौशाला नगरपालिकाले सुरक्षित आप्रवासन सामी कार्यक्रम चलाएको छ । कार्यक्रमले डिप्रोक्स नेपालबाट प्राविधिक सहयोग लिँदै परदेशमा काम गर्ने परिवारका सदस्यहरुलाई भेला पारेर बिदेशबाट आएको पैसालाई कसरी परिचालन र व्यवस्थापन गर्ने भनी सिकाउने कार्यक्रम चलाएको थियो । कार्यक्रममा रीमादेवि राम पनि सहभागी बन्न पाइन् । वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि उनले बिदेशको दुःख थाहा पाइन् । बिदेशमा दुःखले कमाएको पैसा मनलाग्दी खर्च गर्नु नहुने कुराको समेत जानकारी पाइन् रिमाले । कक्षामा जान थालेपछि उनी खर्चहरुलाई बर्गिकरण गरेर आवश्यक ठाउँमा मात्र खर्च गर्ने गरेको बताउछिन् ।
घरलाई मजबुद बनाउन श्रीमान श्रीमती र परिवारका बिचमा राम्रो सञ्चार हुनुपर्छ । सुख होस् या दुःख एकले अर्कालाई बुझ्न सकिएन भने जति सम्पत्ती भएपनि परिवार खुसी हुन सक्दैन भन्ने बुझेकि छन्, रीमाले ।


पहिले अभाव हुँदा आफ्ना रहरहरु मार्नु पथ्र्यो अहिले सुख नै छ । तर छ भन्दैमा अरुको देखासिकी र आफ्नो क्षमता भन्दा बढि तडकभडक गर्नु हुँदैन भन्छिन् रीमा । चाडपर्व मनाउने नाममा धेरै खर्च गरियो भने भविष्य सुरक्षित हुँदैन भन्छिन् उनी । कमाएकै बेला पैसा जमाउनु पर्छ । जमाउन जानियो भने मात्र भविष्यमा आइपर्न सक्ने सङ्कटलाई समाधान गर्न सकिन्छ भन्ने कुरा बुझेकी छन् रीमाले । आफूसँग पैसा नभएको बेला आफन्त र नातागोताले गरेको ब्यवहार सम्झेर फेरि त्यो अवस्था नआओस् भन्ने कुराले मनमा बास गरेको बताउछिन् उनी । उनलाई अरुसँग हात पसार्नु नपरोस् भन्ने लागिरहन्छ । कक्षामा जान थालेपछि रीमालाई पैसालाई कमाउने ठाउँमा लगाउनु पर्छ भन्ने लाग्छ । आफूले कक्षामा जानेको सबै कुरा श्रीमानलाई बताएपछि आफ्नो हातमा भएको सिलाइको सीप अनुसार सिलाई व्यवसाय चलाउने कुरा पनि सुनाइन् । श्रीमानले पनि हो मा हो थप्दै सिलाई मेसिन किन्नका लागि १४ हजार पठाइदिए ।

श्रीमानले बिदेशबाट पैसा पठाएपछि रीमाले सिलाई मेसिन किनेर घरमा आफ्नो, छोराछोरी, छरछिमेकी र गाउँका महिलाहरुको नँया लुगा सिलाउने र फाटेका लुगाहरु सिउने काम गरेर आफू पनि पैसा कमाउन थालिन् । कक्षामा नँयानँया कुराहरु सिक्दै गएपछि उनले गाउँमा किराना पसल चलाउने निधो गरिन् । आफूले बनाएको योजनामा सघाउन श्रीमानले १ लाख रुपैयाँ पठाइदिए । गाउँमा सँधै सिउने लुगा नआउने समयमा पसलबाट आम्दानी हुने भएको हुँदा आम्दानी समेत बढ्दै जान थाल्यो । रीमा आफूले कमाएको पैसाबाट छोराछोरीको स्कुल शूल्क तिर्न सक्ने भइन् । त्यो बाहेक घरखर्चमा समेत आफैले कमाएको पैसा खर्च गर्छिन् । यसरी रीमा किराना पसलबाट दैनिक ५ देखि ७ सयसम्म कमाउछिन् । सिलाइकटाइबाट पनि उनी दिनको २ सय जति आम्दानी लिन्छिन् । कमाएको पैसाबाट रीमाले १ हजार रुपैयाँ लघुवित्त वित्तीय बैंकमा बचत पनि गर्छिन् । हरेक महिना ५ सय रुपैयाँ आकस्मिक खर्चको लागि घरमा जम्मा गरेर राख्छिन् । रीमाको श्रीमानले आफुले ८ बर्षसम्म कमाएको पैसाबाट बिदेश जान लागेको ऋण तिरिसकेका छन् भने भर्खरै घर नजिकैको हुलाकी सडक छेउमा २ कठा १० धुर जमिन २४ लाखमा खरिद गरेकी छन् ।

रीमा दम्पत्तीले सम्पत्ती कमाउन छोराछोरीलाई परदेश नपठाउने स्वदेशमा नै सरकारी जागिर खान सक्ने बनाउने सपना देखेका छन् । कमाउन परदेशमा बसेका श्रीमानलाई गाउँमा नै बोलाएर व्यापार बढाउने सोच बनाएकी छन् रीमाले । श्रीमानले परदेशमा बसेर दुःख गरेको घडेरीमा पक्की घर बनाएर पसल चलाउने सपना बुनेकी छन् उनले । आफ्नो सोच बदल्न सक्यो भने मानिसलाई खुसी मिल्छ, त्यस्तै स्वभाव बदल्न सक्यो भने इज्जत मिल्छ र आफ्नो बानीहरु बदल्न सक्यो भने सफलता मिल्छ, भन्छिन् रीमा । रीमाले सफलताको सगरमाथा चढ्ने सङ्कल्प राखेकी छन् । उनको सपनामा श्रीमानले साथ दिएका छन् । पहिले अभाव र गरीवीमा ऋण नपत्याउनेहरु रीमासँग हात पसार्न आउँछन् अहिले । आफ्नो सोच बदलिएको र वित्तीय साक्षरता कक्षाबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सकेकोमा उनी आफै दङ्ग छिन् । उनी भन्छिन् “कक्षामा सिकेकै कारणले मैले धेरै कुरा जान्न पाँए ।” आफूले जानेको कुरा अरुलाई पनि बताउँछु ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

Share this

प्रतिकृया

Add