गाल्पामा तीन पालिकाको संयुक्त बैठक, महत्वपूर्ण विकासमा आर्थिक साझेदारी गर्ने निर्णय

 आइतवार, असार ३, २०८१ | onlinenews
Share this

 

सन्तोष ढुङ्गेल


रामेछाप- जिल्लाको प्रदेश ‘ख’ मा पर्ने तीन वटा गाउँपालिकाको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । खाँडोदवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकाको संयुक्त बैठक बसी तीन वटै पालिकाहरुलाई जोड्ने सडक, महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि आर्थिक साझेदारी गर्ने निर्णय गरेको छ ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको अध्यक्षतामा खाँडादेवी गाउँपालिका–७ गाल्पा बजारस्थित ज्योति माध्यमिक विद्यालयमा अन्तरपालिका बैठक बसेको हो ।
बैठकले तीन वटै पालिकालाई जोड्ने गाल्पा बजार–दोरम्बा सडकलाई प्राथमिकतामा राख्दै उक्त सडकका लागि आगामी आर्थिक बर्षमा तीन वटै पालिकाहरुले बजेट विनियोजन गर्ने निर्णय गरेको छ । सो सडकका लागि खाँडादेवी गाउँपालिकाले ५ लाख, सुनापती गाउँ पालिकाले ५ लाख र दोरम्बा शैलुङ गाउँपालिकाले १० लाख रुपैयाँ रुपैयाँ आगामी आर्थिक वर्षको बजेटमा समाबेश गर्ने निर्णय भएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरबराज केसीले जानकारी दिए ।
तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी बैठकले प्रत्येक बर्ष शैलुङ अल्ट्रा म्याराथुन प्रतियोगिता गर्ने निर्णय गरेको छ । तीन वटै पालिकाले आगामी आर्थिक वर्षमा उक्त प्रतियोगिताको लागि ३–३ लाख रुपैयाँ बजेटमा विनियोजन गर्ने निर्णय भएको पनि प्रशासकीय अधिकृत केसीले जानकारी दिए । तीन वटै पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सहजीकरण होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०८१/८२ मा अभिमूखिकरण तालिम सञ्चालन गर्ने निर्णय भएको पनि केसीले बताए ।
रामेछाप जिल्लाको पुरानो बजार खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकाको सङ्गम स्थल गाल्पा बजारमा सामुदायिक भवन र तरकारी तथा फलफूलको लागि आगामी आर्थिक वर्षको बजेटमा चिस्यान केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गर्ने निर्णय भएको पनि प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । तीन वटै पालिकाले साझा धारण बनाएर नीति तथा कार्यक्रम बनाएको यो पहिलो पटक हो । तीन वटा पालिकाको अन्तरपालिका समन्वय बैठक प्रत्येक ३–३ महिनामा बस्ने पनि बैठकले निर्णय गरेको छ ।

Share this

प्रतिकृया

Add