कमाउन भन्दा पनि खर्च गर्न बुद्धि पूर्याउनु पर्ने रहेछ

 शनिबार, असार ९, २०८१ | onlinenews
Share this

 

नवलपरासी– पैसा कमाउन भारतमा १० बर्ष काम गरेका मनु आचार्य क्षेत्रीको श्रीमान अहिले गाउँमै बस्छन् । जवानी र बैँस भारतमा बेची गाउँ फर्किएका मनुका श्रीमानलाई आजभोली आफ्नै गाउँ नौलो लाग्छ । आफू कमाउन सकुन्जेल भारत पसे, १० बर्ष उतै बसे । अहिले कमाउने जिम्मेवारी छोराको काँधमा सरेको छ । तर उनहरुको छोरा भारतमा हैन युएई गएका छन् । घरको चुल्हो बाल्न, छोराछोरी पाल्न पनि अर्काको देशमा कमाउन पठाउनु पर्दा मनुको मन बेचैन हुन्छ । जवानीमा श्रीमानको साथ नपाएकी उनलाई आफ्ना सबै सन्तान साथमा भइदिए हुन्थ्यो झैँ लाग्छ । तर मनले चिताएर मात्र नहुने रहेछ । उनले गुनासो पोखिन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुनवल नगरपालिका–१२ भुमही घर भएकी मनु आचार्य क्षेत्री ५० बर्षकी भइन् । १० जनाको संयुक्त परिवारमा बस्ने मनुको घरमा श्रीमान, दुई छोरा बुहारी नाती नातिनी छन् । उनको जेठो छोरो कमाउन युएई गएको १० वर्ष बितिसक्यो । छोरासँग बस्न नपाएपनि छोराको कमाइमा उनी सन्तुष्ट छन् । क्याटरिङ्गमा काम गर्ने छोराको कमाई महिनाको ८० हजार रुपैयाँ छ । छोराले बिदेशमा कमाएको पैसाले मनुको घरको चुल्हो बलेको छ ।

ठूलो परिवार भएको कारण महिनाभरको छोराको कमाई जोगाउन नसकेकी उनको घरखर्चमा सबै पैसा सकिन्थ्यो । पैसा पठाउन ढिला भए घर चल्ने अवस्था थिएन उनको । पहिले घर चलाउन श्रीमानको कमाईको भर गर्नुपर्ने उनको घर छोराको कमाइले चलेको छ । छोराले बिदेशमा काम गरेर पैसा कमाएको भएपनि मनुको मन अमिलो भइरहन्छ । बिदेशबाट कति आमाका छोराहरुको लास काठको बाकसमा बन्द भएर आउँछ । कतिको काख रित्तिन्छ, कतिको सिउँदो पुछिन्छ र कोही बिदेशमा गुमनाम हुन्छन् यस्तो देख्दा अनि सुन्दा उनको जीउ भारी हुन्छ । आमाले सन्तानको उन्नतीको लागि धेरै दुःख र संघर्ष गर्छिन् । “मैले पनि मेरो सन्तानलाई हुर्काउन कति दुःख गरेकी छु, मलाई मात्र थाहा छ” उन भन्छिन् ।


मनुले बिदेशमा बसेर काम गर्न सजिलो छैन भन्ने बझेकी छन् । पराई देशमा बिरामी पर्दा तातोपानी दिने समेत कोहि हुँदैनन् । अन्नपानीको शरीर न हो आफू काम गर्न नसक्दा समेत घर सम्झिएर काम गर्दो हो उनी भन्छिन् । मनु दैनिक फोन आउने समयमा कुरेर बस्छिन् । फोन गर्न ढिला भयो भने पापी मनले के–के सोच्न भ्याइसक्छ, यसरी परिवार पाल्न विदेशमा कहिलेसम्म काम गर्ने ? चाडवाडको बेला मन मान्दैन, झन् उसलाई एक्लै बस्दा कस्तो होला उनी कल्पना गर्छिन् । सुनवल नगरपालिकाले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र कमाएको पैसाको उचित व्यवस्थापन गर्न सिकाउन सामी कार्यक्रम चलाइरहेको छ । २०७९ माघ २६ गते मनु नगरपालिकाको सामी कार्यक्रमले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा आयोजना गरेको समुदाय अभिमुखिकरण कार्यक्रममा सहभागी बनिन् । कार्यक्रम बिदेशमा कमाउनेका परिवारसँग सम्वन्धित थियो । कार्यक्रममा बसेपछि उनलाई कक्षामा बसेर थप कुरा जान्ने इच्छा पलायो । उनले कक्षामा नियमित रुपमा भाग लिन सहजकर्तालाई नाम लेखाइन् ।

“घरको आम्दानी र खर्चको हिसाव राख्दा नचाहिने खर्च घटाउन सजिलो हुने रहेछ ।” मनुलाई आजभोली मान्छे कमाउन नसकेर भन्दा पनि जोगाउन नसकेर झन् गरीव हुने रहेछन् भन्ने लाग्छ । कक्षामा बसेर आफूमा भएको सोच नै फेरिएको बताउने उनलाई कमाउन भन्दा पनि खर्च गर्न वुद्वि पूर्याउनु पर्ने रहेछ भन्ने लाग्न थालेको छ ।

हप्तामा १ दिन चल्ने नवदुर्गा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा मनु नबिराई गइन् । उनले कक्षामा बसेपछि बिदेश जानेको कागजपत्र किन सुरक्षित राख्नुपर्छ भन्ने थाहा पाइन् । बिदेश जाँदा घरमा कागज नछोडेका छोरासँग फोनमा कुरा गर्दा कागजपत्र पठाउन अनुरोध गरिन् । छोराले पनि आमाले भनेझैं गरी सबै कागजपत्र मोवाइलमा पठाइदिए । उनले कक्षामा बसेर घरको आम्दानी खर्चको दैनिक विवरण राख्न थालिन् । बचतको महत्वको बारेमा बुझ्न पाइन् । फजुल रुपमा हुने खर्च कटौती गर्न सकिन् । परिवार व्यवस्थापन, वित्तीय लक्ष्य पारिवरिक बजेटको बारेमा समेत जानकारी पाइन् । हातमा पासबुक परेपछि उनको घरमा हुने दैनिक खर्चको लेखो टिप्न थालिन् ।

पासबुकमा घरको खर्चदेखि नातानातिनाको स्कुलको खाजा खर्च समेत सबै अटाउँथें । खाजासँगै नातिनातिना पैसा लिएर जान्थे । स्कुल जाँदा लिएर जाने पैसाले पसलमा किनेर अस्वस्थकर खानेकुरा खान्थे । अहिले पासबुकमा खर्च टिपेपछि थाहा भयो, स्कुलमा पठाउने खाजा घरमा बनाउँदा ३ महिनाको खाजा खर्च टर्नेरहेछ । अनि बचतको महत्व बुझेपछि नातानातिनालाई खुत्रुके किनिदिएर बचत गर्न सिकाइन् । अहिले स्कुल लाने पैसा खुत्रुकेमा बचत गरेर मात्र स्कुल जाने बानी लागेको छ बच्चाहरुको, मनुले भनिन् । घर चलाउँदा हुने खर्चलाई घटाएपछि मनुको परिवारको चाडबाड मान्ने खर्च समेत कटौती भएको छ । खर्चको नाममा हुने धेरै शिर्षकबाट अलिअलि पैसा घटाउँदा पनि धेरै पैसा जोएिको अनुभव छ उनीसँग । उन भन्छिन्– “घरको आम्दानी र खर्चको हिसाव राख्दा नचाहिने खर्च घटाउन सजिलो हुने रहेछ ।” उनलाई आजभोली मान्छे कमाउन नसकेर भन्दा पनि जोगाउन नसकेर झन् गरीव हुने रहेछन् भन्ने लाग्छ । कक्षामा बसेर आफूमा भएको सोच नै फेरिएको बताउने उनलाई कमाउन भन्दा पनि खर्च गर्न बुद्धि पूर्याउनु पर्ने रहेछ भन्ने लाग्न थालेको छ ।


घर चलाउन छोराको कमाई कुर्ने मनुले कक्षामा बसेर व्यवसायको बारेमा थाहा पाइन् । कक्षामा व्यवसायको बारेमा छलफल गरिसकेपछि व्यवसाय चलाउने सङ्कल्प गरिन् मनुले पनि ।
हातमा सिलाईको सीप भएकी मनुको घरको सिलाउने मेसिनले चलाइदिने मान्छको साथ पाएकै थिएन । कक्षाले उनको मन फेरियो । व्यवसाय चलाउने भनेपछि थन्किएर बसेको मेसिन चल्ने भयो । उनले आफ्नै घरको सटरमा केही किराना सामानसँगै लुगा सिलाउन सुरु गरिन् । थन्किएर बसेको मेसिन आजभोली कमाउने काममा लागेको छ, मनु भन्छिन् । छोराले महिनैपिच्छे पैसा पठाएपनि घर चलाउन हम्मेहम्मे पर्ने मनुलाई घर खर्चका लागि आफैंले कमाउँदा सजिलो भएको छ । आफूले आफ्नै करेसामा तरकारी फलाएर तरकारी वापत हुने गरेको खर्च टारेकी छन् । तरकारीको घाँस खुवाउन १४ वटा खसीबाख्रा पालेकी छन् । त्यतीमात्र होइन पसलको बिक्री र सिलाई बापत पाएको ज्यालाबाट महिनाको एक हजार बचत समेत गरेकी छन् मनुले ।

मनुको घर व्यवस्थित हुँदै गएको छ । मनुले पसलको जिम्मा बुहारीलाई दिएकी छन् । आफू र श्रीमान मिलेर बाख्रापालन गरेका छन् । उनले पालेका बाख्रा सप्रिएका छन् । बाख्रापालनबाट पनि राम्रो आम्दानी लिन सकिने थाहा पाएकी छन् उनले । अझै व्यवसायलाई बढाउँदै लैजाने र व्यवसायिक बाख्रा फर्म नै चलाउने सोच छ मनु दम्पतीको । यसरी सबैतिरबाट भएको कमाई जोड्दा ३० हजारजति हुन्छ उनी भन्छिन् । परिवारका सबैले कामको जिम्मेवारी बाँडेर लिँदा कसैलाई पनि कामको बोझ नहुने रहेछ भन्ने उनलाई आजभोली छोराको समेत आर्थिक भार घटेको छ भन्छिन् मनु । यसरी कक्षाले कमाउन अनि रमाउन समेत सिकायो । आफूले जानेको कुरालाई व्यवस्थित गर्न सिकाएको वित्तीय साक्षरता कक्षाले परिवारको भलाइको लागि सही वित्तीय निर्णय लिन मद्तत् गरेको छ । उनलाई श्रीमानले १० बर्ष भारतमा बसेर कमाएको पैसालाई जोगाउन मात्र सकेको भए छोरालाई अरवको तातो घाममा सपना बेच्न पठाउनु पर्ने थिएन भन्ने लाग्छ ।
नवलपरासीको सुनवल नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता डिलुमाया रिमाल ।

Share this

प्रतिकृया

Add