वन अधिकृतले सिल गरेको गाडीमा अवैध काठ

 बुधबार, साउन २, २०८१ | onlinenews
Share this

 

रामेछाप- डिभिजन वन कार्यालय रामेछापमार्फत खयरको गिँडा काठ बोकेर सुनसरी गएको गाडीमा अवैध काठ फेला परेको छ । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी थिइन् भने डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी समेत रहेका वन अधिकृत देवेन्द्र यादवले काम तामेली (सिल) गरेका थिए । उक्त गाडीमा डिभिजन वन कार्यालय रामेछापले टाँचा लगाएको आधिकारिक काठमा मिसिएको अवस्थामा अवैध काठ भेटिएको हो ।

रामेछाप जिल्लामा सिल भई खयरको काठ बोकेर गएको गाडीमा अवैध काठ फेला परेको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए । डिभिजन वन कार्यालय प्रमुख यादवले भने– “रामेछापबाट खयरको काठ लिएर आएका गाडीमा अवैध काठ फेला परेको छ । त्यस विषयमा जाँच अनुसन्धान भइरहेको छ ।’ काठ खरिदकर्तासहित ५ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय प्रमुख यादवले बताए । उनले भने– “जिल्ला अदालतबाट म्याद थप गरी ५ जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ । दोषीलाई वन ऐनअन्तर्गत कारबाही हुन्छ ।” वन कार्यालयले काठ लोड गराई सिल गरेर पठाएको गाडीमा अवैध काठ भेटिनुमा वन कार्यालयका कर्मचारी पनि उत्तिकै दोषी हुँदैनन् र भन्ने प्रश्नमा डिभिजन वन प्रमुख यादवले भने– “काठ लोड गराउने र सिल गर्ने कार्मचारीबाट पनि अनियमितता भएको पाइएको छ । यसमा संलग्न सबैलाई कारबाही हुन्छ, कसैलाई पनि छुट हुँदैन ।” “काठ लिएर आएका ४ वटा गाडीमध्ये केहीमा सिल टुटेको अवस्था थियो, डिभिजन वन प्रमुख यादवले भने– काठ खरिदकर्ता र गाडीका चारै जना चालकहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । चालकहरुबाट सिल कहाँ तोडिएको हो, अवैध काठ कहाँबाट लोड गरिएको हो भन्ने कुरा खुल्ने नै छ । यसमा संलग्न सबैलाई कारबाही हुन्छ ।”

‘वन ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता हुन्छ । दोषीलाई कडा कारबाही हुन्छ’, उनले भने । रामेछापबाट काठ बोकेर गएका ४ वटा ट्रक डिभिजन वन कार्यालय सुनसरीको नियन्त्रणमा रहेको पनि डिभिजन वन प्रमुख यादवले जानकारी दिए । अवैध काठको परिमाण कति रहेछ भन्ने जिज्ञासा भने डिभिजन वन प्रमुख यादव, यो अनुसन्धान अधिकृतले जानकारी दिनुपर्ने कुरा हो भन्दै पन्छिए । विवरण अनुसन्धान अधिकृतले जानकारी दिनुपर्ने कुरा हो भन्दै डिभिजन वन प्रमुख यादव पन्छिएपछि अनुसन्धान अधिकृतको सम्पर्क नम्बर दिन मिल्छ भन्दा आफू बाहिर रहेको भन्दै अनुसन्धान अधिकृतको नम्बर दिन नमिल्ने बताए । उक्त घटनामा काठ लोड गराउने र सिल गर्ने डिभिजन वन कार्यालय रामेछापका कर्मचारीबाट समेत अनियमितता देखिएको जानकारी दिएका डिभिजन वन कार्यालय सुनसरीका प्रमुख यादवले एकीन भइसकेको अवैध काठको परिमाणको बारेमा जानकारी दिन अस्वीकार गर्नुले उक्त कार्यमा संलग्न कर्मचारीलाई जोगाउने खेल भइरहेको त छैन भन्ने संशय पैदा गराएको छ । अवैध काठको परिमाण भने एकीन भइसकेको उनले बताएका छन् ।

स्रोतका अनुसार काठ खरिद कर्ता श्याम सेर तुम्बाहाम्फे र चालकहरु सर्लाही जिल्लाका तेजबहादुर तिमल्सिना, सिन्धुली जिल्लाका गणेश परियार, रामेछाप जिल्लाका कुमार माझी र खड्गबहादुर तामाङलाई वनको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

उक्त काठ रामेछाप जिल्लामा असार २३ गते लोड भएको थियो । काठ रामेछाप नगरपालिका–८ ल्याङ्ल्याङ्बाट लोड भएको डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी तथा डिभिजन वन कार्यालय रामेछापका वन अधिकृत देवेन्द्र यादवले बताए । काठ लोड भएको गाडीमा सिल तपाईँले नै लगाउनुभएको रहेछ, सिल गरेको गाडीमा अवैध काठ कसरी लोड भयो त ? भन्ने प्रश्नमा सूचना अधिकारी यादवले भने, यस्तो नहुनुपर्ने थियो, मैले पनि देखेको छुइँन, सुनेको मात्रै हो । मलाई आधिकारिक जानकारी आएको छैन, गाडी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भन्ने सुनेको छु उनले भने । सूचना अधिकारी यादवले भने–अवैध काठ लोड हुँदै छ भन्ने सूचना डिएफओ साबले गाडी नछुट्दै थाहा पाउनुभएको रहेछ । अवैध काठ लोड हुँदै छ भन्ने सूचना आएपछि डिएफओ साबले कर्मचारीलाई काठ लोड भएको गाडी रोक्न आदेश दिनुभएको रहेछ । पछि मैले पनि थाहा पाएँ । थाहा पाएपछि मैले पनि कर्मचारीलाई डिएफओ साबको निर्देशनअनुसारको काम गर्नु भनेको थिएँ, सूचना अधिकारी यादवले भने । त्यसो भए कर्मचारीले कार्यालयको आदेश विपरीत गाडी पठाएको हो भन्ने प्रश्नमा पछि डिएफओ साबको कर्मचारीसँग के कुरा भयो मलाई थाहा भएन भन्दै सूचना अधिकारी यादव पन्छिए । रामेछापबाट काठ कति लोड भएको थियो भन्ने जिज्ञासामा यादवले भने, करिब १ हजार क्यूफिट काठ लोड भएको थियो । सूचना अधिकारी यदवले रामेछापबाट गाडी असार २३ गते साँझ छुटेको बताएका थिए । तर काठ लिएर गएको उक्त गाडी राति ११ बजेदेखि ११ बजेर ५ मिनेटको समयमा सेलेघाटबाट कटेको प्रहरी चेकपोस्ट सेलेघाटको रेकर्डमा देखिएको छ । प्रहरी चेकपोस्ट सेलेघाटको रेकर्डमा राति ११ बजेदेखि ११ बजेर ५ मिनेटको अवधिमा उक्त काठ बोकेर गएका बा.प्र ०१–००६ ख २१११, बा.प्र. ०१–००६ ख ३३४९, मधेस प्रदेश ०३–००२ ख ००९५ र कर्णाली प्रदेश ०२–००१ ख ०४१९ नम्बरको ट्रक इन्ट्री भएको पाइएको छ ।

डिभिजन वन कार्यालय रामेछापका अनुसार रामेछापबाट वन कार्यालयले टाँचा लगाएको आधिकारिक रुपमा १ हजार ५ सय ९ थानको ९८९.१८ क्यूफिट खयरको गिँडा काठको स्थानान्तरण पुर्जी भएको थियो । उक्त काठ डिभिजन वन कार्यालय रामेछापका फरेस्टर दिनाकुमारी दोङले लोड गराएकी थिइन् भने सूचना अधिकारी समेत रहेका वन अधिकृत देवेन्द्र यादवले काम तामेली (सिल) गरेका थिए ।

यस विषयमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारीले अवैध काठ जाँदै छ भन्ने गोप्य सूचना आफूले पाएपछि फिल्डमा खटिएका कर्मचारीलाई काठ लोड भएको गाडी नछोड्न सूचित गरेको तर कर्मचारीले अटेर गरी गाडी पठाएको बताए । कर्मचारीले गाडी छाडिदिएको थाहा पाएपछि प्रहरी चेकपोस्ट सेलेघाटमा गएर बुझ्दा काठ लिएर ४ वटा ट्रक राति नै गएको देखिएपछि शङ्का लागेर काठ लिएर गएका ट्रकका चालकहरुलाई तत्काल फोन गरी गाडी जहाँ पुगेको छ त्यही रोक्न लगाएको बताए । उक्त विषयमा सम्बन्धित मन्त्रालयका सचिवज्यूलाई पनि जानकारी गराएँ, डिभिजन वन प्रमुख भण्डारीले भने– त्यो काठ सुनसरी पुग्नुपर्ने भएकाले, प्रहरी र डिभिजन वन कार्यालय सुनसरीसँग समन्वय गरी काठ सुरक्षित रुपमा सुनसरी पुग्ने व्यवस्था आफूले मिलाएको उनको भनाइ छ । काठ लोड गराई गाडीमा सिल गर्ने अधिकृत कहाँ हुनुहुन्छ भन्ने जिज्ञासमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख भण्डारीले भने–उहाँ धरानमै हुनुहुन्छ, ४/५ दिनदेखि कार्यालय पनि आउनुभएको छैन ।

अवैध काठ बोकेर गएको गाडीमा सिल गर्ने वन अधिकृत ४/५ दिनदेखि कार्यालयमा नआउनु र काठ नियन्त्रणमा लिएकै ठाउँमा बस्नुले निष्पक्ष छानविन हुनेमा समेत आशङ्का पैदा भएको छ ।

Share this

प्रतिकृया

Add