बोयर बाख्रा र बोकाको माग धान्नै मुस्किल

 शुक्रबार, साउन ४, २०८१ | onlinenews
Share this

रामेछाप- उन्नत जातका बाख्रा र बोका पालन गर्ने किसानको सङ्ख्या बढेसँगै रामेछापमा बोयर जातका बाख्रा र बोकाको माग धान्नै मुस्किल परेको छ । जिल्लामा पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा तथा बोका पालन सुरु गरेको सुनौला बाख्रा फार्म मन्थलीले किसानको मागअनुसारको बाख्रा तथा बोका पुर्याउन सकेको छैन । बोयर जातको बाख्रा उन्नत जातको हुने र यसबाट उत्पादित पाठापाठी बढी तौलको हुने भएकाले रामेछापका पशुपालक किसानहरुको रोजाइमा बोयर जातका बाख्रा पर्ने गरेका छन् ।

बाख्रापालक किसानहरुको आयआर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलव्धतामा सुधार ल्याउने उद्देश्यले सुनौला बाख्रा फार्मले अफ्रिकाबाट बाख्रा खरिद गरी जिल्लामा बाख्रा फार्म सञ्चालन गरेको छ । बोयर जातको बोकाबाट लोकल बाख्रामा क्रस गराएर जन्मने पाठापाठीको माग अत्यधिक मात्रामा रहेको सुनौला बाख्रा फार्मका प्रोपाइटर साधुराम ढुङ्गेलले जानकारी दिए ।

उनले भने– बोयर जातका बाख्रा र बोकाको जिल्लामा अत्यधिक मात्रामा माग रहेको छ । रामेछाप जिल्लाबाहेक ओखलढुङ्गा, दोलखा, काभ्रे, सिन्धुली, सोलु, सिन्धुपाल्चोक र भक्तपुरलगायतका ३५ वटा जिल्लामा फार्मबाट उत्पादित बोका तथा बाख्राहरु बिक्रिवितरण गरिसकेका छौँ । यसबाहेक अहिले पनि धेरै जिल्लाबाट किसानहरुले बाख्रा र बोकाको माग गरेको उनले बताए । तर किसानको मागअनुसार पुर्याउन नसकेको ढुङ्गेलले बताए ।

सुनौला बाख्रा फार्मले अफ्रिकाबाट ल्याएको बोयर जातको बाख्रा तथा बोका गरी हालसम्म ३ सय भन्दा बढी बिक्रिवितरण गरिसकेको छ । त्यसैगरी फार्मले लोकल बाख्रासँग बोका क्रस गरी जन्माएका करिब ५ सय भन्दा बढी बाख्रा र बोका बिक्री गरेको छ । बाख्रा र बोका बिक्रिवितरणबाट मात्रै उक्त फार्मले करिब २ करोड भन्दा बढी रकम आम्दानी गर्न सफल भएको छ ।

स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले पहाडी जिल्लाहरुमा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको पशु सेवा शाखा मन्थलीले जनाएको छ । अन्य जातको बोकाभन्दा बोयर जातको बोका चाँडै फस्टाउने र मासुजन्य उत्पादनका लागि समेत उपयुक्त हुने भएकाले पनि यसको माग दिनप्रतिदिन बढेको पशु प्राविधिकहरु बताउँछन् ।

बोयर जातको बोका प्रतिदिन ३ सय ग्रामदेखि ३ सय ५० ग्रामसम्म बढ्ने र मासुजन्य उत्पादनमा पशुपालक किसानहरुलाई बढी फाइदा हुने भएकाले किसानहरुको रोजाइमा बोयर जातको बोका परेको हो । बोयर जातको बोकाको प्रतिकिलोग्राम बजार मूल्य जिउँदै एक हजारसम्म पर्ने गरेको छ ।

पछिल्लो समय रामेछापका किसानहरु प्रजनन बोयर जातका बोका पालनमा आकर्षित हुन थालेका हुन् । बोयर जातका बोका छोटो समयमा छिटो फस्टाउने र मासुजन्य उत्पादनमा बोयर जातको बोकाको माग बढेपछि किसानहरु प्रजनन बोयर बोका पालनमा आकर्षित भएको मन्थली नगरपालिका–१ का किसान हरिराम भुजेल बताउँछन् ।

जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी करिब ३ सयभन्दा बढी बाख्रा फार्म दर्ता गरी व्यावसायिक रुपमा किसानहरुले बाख्रा फर्म सञ्चालन गर्दै आएका छन् । सबै बाख्रा फार्मका सञ्चालकहरुको माग बोयर जातको बोका र पाठी रहेको छ । सबैको रोजाइमा उन्नत जातका बाख्रा र बोयर जातका बाख्राको माग बढ्दै गएपछि परम्परागत रुपमा पालिदै आएको स्थानीय रैथाने बाख्रा भने लोप हुने चिन्ता बढेको छ ।

Share this

प्रतिकृया

Add