मोबाइलमा भिडियोे देखेर रोपेको ड्रागन बन्यो राम्रो आम्दानीको स्रोत

 शनिबार, साउन ५, २०८१ | onlinenews
Share this

रामेछाप– त्यसवेला कोरोनाकाल थियो । लकडाउनको कारण व्यापार व्यवसाय चौपट थिए । लकडाउनको वेलामा सर्वसाधारणलाई बाहिर हिडडुल गर्न प्रतिबन्धजस्तै थियो । घरभित्र बस्दा मानिसहरु वाक्कदिक्क थिए । त्यसवेला मानिसहरुको समय बिताउने साथी भनेको मोबाइल फोन थियो । घरमा बसेर मोबाइल हेरिरहेको वेला एकदिन रामेछाप नगरपालिका–८ रामेछाप बजारका शिवराम श्रेष्ठले मोबाइलमा ड्रागन खेतीको बारेमा भिडियो देखे । मोबाइलमा ड्रागन खेतीको बारेमा भिडियो देखेपछि शिवराम श्रेष्ठलाई पनि ड्रागन खेती गर्ने रहर पलायो । त्यसपछि उनी ड्रागन फलको बिरुवाको खोजीमा लागे । बिरुवाको खोजी गर्दै जाँदा चितवन र काठमाडौँमा ड्रागनको बिरुवा पाइन्छ भन्ने पत्ता लगाए । ड्रागनको बिरुवा पत्ता लागेपछि उनले साढे २ रोपनी जग्गामा ड्रागन खेती गर्ने निधो गरे । ड्रागनका बिरुवालाई चाहिने सिमेन्टको पिलर बनाएर बारीको ठाउँठाउँमा गाडे । चितवन र काठमाडौँबाट गरी ८५ बोट विरुवा मगाएर रोपे । त्यसवेला एउटा बोट बिरुवाको ३ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म परेको श्रेष्ठले बताए । पछि त्यही बोटबाट नयाँ बिरुवा उत्पादन गर्दै अहिले ५ सय ५० बोट पुर्याएका छन् ।

हेर्दा सिउँडीको बोटजस्तो देखिन्छ, बिरुवा रोप्दा देख्नेहरुले सिउँडी किन रोपेको भन्थे । ड्रागन फुड भनेर चिन्नेहरुले पनि यस्तो लेकमा फल्दैन भन्थे, श्रेष्ठले भने– ‘पिलर गाडिसकेको थिएँ, जे होला होला भनेर रोपेँ । रोपेको एक वर्षमा केही बोटहरुमा फल लाग्यो । कुनैमा रोपेको १ वर्षमा फल लाग्यो, कुनैकुनै १७/१८ महिनामा फल्यो । फल लाग्न थालेपछि पहिला यहाँ हुँदैन भन्नेहरु फलेको देखेर छक्क परे, शिवराम श्रेष्ठले भने । यहाँ फलेको बोटबाट नयाँ विरुवा बनाएर रोप्दा ६÷७ महिनामै फल लागेको उनले बताए । ‘मैले कुनै तालिम लिएर ड्रागन खेती गरेको होइन, मोबाइलमा भिडियो देखेपछि रहर लागेर रोपेको हुँ’, श्रेष्ठले भने । रोप्दा पनि यूट्युबमा भिडियो हेर्दै रोपेको बताए ।

शिवरामले ड्रागन खेती गरेको तीन वर्ष भयो । ८५ बोटबाट सुरु गरेका उनको साढे २ रोपनी जग्गामा फैलिएको बगानमा अहिले ५ सय ५० वटा ड्रागनका बोटहरु छन् । तीमध्ये धेरै जसोमा फल लागेको छ । गत वर्ष एउटा बोटमा १७/१८ किलो फलेको सुनाउँदै श्रेष्ठले भने– ‘यस वर्ष एउटा बोटमा ३० किलोसम्म फलेको छ ।’

उनले भने चैत्र, वैशाखदेखि फुल्न सुरु गरेपछि असोजसम्म फूल फुल्छ । असोजमा फुलेको पूmलमा पौषसम्म फल रहन्छ । फूल फुलेको ४० देखि ४५ दिनमा फल खानको लागि तयार हुन्छ । चैत्र, वैशाखबाट पूmल फुल्न थालेपछि माघसम्म फल खान पाइन्छ, उनले भने । गत वर्ष उत्पादन पनि कम थियो, केजीको ५ सय रुपैयाँमा बिक्री भएको थियो, यस वर्ष ३५० देखि ४ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ, उनले भने । शिवरामले ड्रागन खेतीसँगै ड्रागनको नर्सरी पनि राखेका छन् । गत सालदेखि बिरुवा पनि उत्पादन गरी बिक्री बितरण गर्दै आएको बताए ।

ड्रागन खेतीबाट आम्दानी पनि राम्रै भइरहेको बताए । साढे २ रोपनी जग्गाबाट वर्षमा ५ देखि ७ लाख रुपैयाँ आम्दानी गर्न सकिने बताए । साढे दुई रोपनी जग्गामा अन्न बाली लगाउँदा ज्याला पनि उठ्न मुस्किल हुन्छ तर ड्रागन खेती गर्दा खर्च कटाएर वार्षिक रुपमा ५ देखि ७ लाख रुपैयाँ आम्दानी सजिलै गर्न सकिन्छ, उनले भने । उनले बारीमा मात्र होइन, घरको छतमा समेत ड्रागन फुड फलाएका छन् । घरको छतमा पनि ८ सयदेखि ९ सय ग्रामसम्मको दाना लागेको उनले बताए । कृषकहरुले आम्दानी गर्ने हो भने ड्रागन फुड, एभोकाडो, जुनार, सुन्तलालगायतका फलफूल लगाउँदा राम्रो आम्दानी हुने उनी बताउँछन् । ड्रागन फुडसँगै तरकारी खेती पनि गर्न सकिने भएकाले तरकारीबाट पनि आम्दानी गर्न सकिने उनको भनाइ छ । उनले भने मैल ड्रागन फुडसँगै भित्री बालिको रुपमा बन्दा, काउली, कुरिलोलगायतका तरकारी लगाएको छु, तरकारीबाट पनि राम्रो आम्दानी भइरहेको छ ।

ड्रागनको एउटै बोटमा एउटा फल पाक्दै गर्छ, अर्को फुल्दै गर्छ र फल लाग्दै गर्छ, यसरी चैत्रदेखि असोजसम्म यो प्रव्रिmया नियमित रहन्छ । वर्षमा ९ महिना फल खान पाइन्छ । असोजमा फुलेको पूmलबाट माघसम्म फल खान पाइन्छ, उनले भने । उनले थपे– “यसमा फल एकदमै छिटो लाग्छ, बेलुका ७ बजेतिरबाट फुल्न सुरु गर्छ, भोलिपल्ट बिहान ८ बजेटिर फूल ओइलाएर फल लाग्न सुरु भइहाल्छ ।” ड्रागनको फूल एकरात मात्र रहन्छ । बेलुका फुलेर बिहान ओइलाउने भएकाले यसलाई रातको रानी पनि भनिन्छ । ड्रागन फुड अन्य समयको तुलनामा असार साउनमा अलि बढी फल लाग्ने गरेको श्रेष्ठको अनुभव छ । अहिलेसम्म बिक्री वितरण ठिकै भए पनि उत्पादन बढ्दै जाँदा फलले बजार नपाउने हो कि भन्ने चिन्ताले भने शिवरामलाई सताइरहेको छ ।

उनले भने, अहिलेसम्म त उत्पादन बिक्री गर्न समस्या छैन तर उत्पादन बढ्दै जाँदा फल बिक्रीको लागि बजारको अभाव हुने देखिएको छ । अहिले पनि ठाउँठाउँमा किलोको ५/६ सय रुपैयाँमा बिक्री भइरहेको छ तर हामीले ३ सय ५० देखि ४ सय रुपैयाँमा बेच्चुपरेको छ, उनले भने । हुन त उत्पादन बढ्दा उपभोक्तालाई सस्तो पर्छ तर उत्पादन भएको फल बिक्रीको लागि बजारको ग्यारेन्टी भइदिए किसानलाई पनि हौसाल मिल्ने थियो र उत्पादन पनि बढ्ने थियो, श्रेष्ठले भने ।
ड्रागन खेतीलाई अझ विस्तार गर्ने सोचमा रहेका उनले भने– बजार व्यवस्थापन गर्न सरकारले सहयोग गरिदिए कृषहरुलाई सहज हुने थियो । उनले बिरुवा पनि आफैले उत्पादन गरेर बिक्री बितरण गर्दै आएका छन् । एउटा बिरुवा १ रुपैयाँदेखि २ सय रपैयाँसम्म बिक्री हुने बताए । गुणस्तरीय विरुवा चाहिएमा मागअनुसार उत्पादन गरी वितरण गर्न सकिने उनको भनाइ छ । हाल उनीसँग तयारी बिरुवा ४ हजार बोट रहेको बताए ।

Share this

प्रतिकृया

Add